Comments Add Comment

निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा नेकपा उम्मेदवारको हार

२८ भदौ, चितवन । नेपाल निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा उमानन्द कँडेल -वावुराम विजयी भएका छन् ।

कांग्रेस निकट कँडेलले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट छवि गौतमलाई भारी मतले पराजित गरे । २६ औ साधारणसभा तथा अधिवेशनमा उमानन्दले २०४ मत ल्याउँदा गौतमले ६८ मत मात्र पाए ।

यसअघि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा उद्योग वाणिज्य संघको चुनावमा नेकपा निकट उम्मेदवार हारेका थिए । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जिल्ला चितवनमा पनि सत्तारुढ दलले समर्थन गरेको उम्मेदवार पराजित भएका छन् । अरु पदमा भने बहुसंख्यक नेकपा निकट विजयी भएका छन् । अन्तरघातका कारण गौतम हारेको नेकपा नेताहरु बताउँछन् ।

संघको प्रथम उपाध्यक्षमा केशव लामिछाने, महासचिवमा पुस्तकप्रसाद गौत्तम, कोषाध्यक्षमा उत्सव भट्टराई, महिला सदस्य रोजिना भट्टराई अधिकारी सर्वसम्मत चयन भए । चारै जना नेकपा निकटका व्यवसायी हुन् । यस्तै द्वितीय उपाध्यक्षमा नेकपा निकट दिनेशचन्द्र न्यौपाने निर्वाचित भएका छन् । सचिवमा कांग्रेस निकट पुस्कर अधिकारी विजयी हुँदा सहकोषाध्यक्षमा नेकपा निकट ताराप्रसाद दुवाडीले निर्वाचित भएका छन् । ८ जना कार्य समितसदस्य मध्ये ७ जना नेकपा निकट व्यवसायी आएका छन् ।

नेकपाभित्रै अन्तरघात

निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा नेकपाबाट उम्मेदवार बन्ने छवि गौतम पूर्वमाओवादी सर्मथक हुन् । सर्वसम्वत हुने प्रथम उपाध्यक्ष, महासचिव, महिला सदस्य पूर्व एमाले र कोषध्यक्ष पूर्व माओवादी निकट हुन् ।

निर्वाचनबाट पदाधिकारी जितेका द्वितीय उपाध्यक्ष न्यौपाने पनि पूर्व एमाले निकट निर्माण व्यवसायी संघका अध्यक्ष हुन् । सचिवमा पराजित श्रेष्ठ पूर्व माओवादी हुन् भने सहकोषाध्यक्षमा जितेका दुवाडी पूर्व एमाले निकट ।

निर्माण व्यवसायी संघ स्रोतकाअनुसार २८४ सदस्य भएको संघमा नेकपाका निकटका व्यवसायीको बाहुल्यता छ । तर अन्तरघातले गर्दा अध्यक्षका उम्मेदवार पराजित भएका छन् । व्यवसायीहरुमाझ अलोकप्रिय रहेका गौतमलाई उम्मेदवार छनौट गर्नु नै गलत भएको नेकपा निकटका एक व्यवसायीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment