Comments Add Comment

‘चार लाखमै मिर्गौला प्रत्यारोपण गरेर देखाउँछौं’

२९ भदौ, काठमाडौं । डा. वीरेन्द्रप्रसाद यादवले पेटमा कैंची चलाएर मानिसलाई नयाँ जीवन दिन थालेको करिव ८ वर्ष भयो । यो ८ वर्षमा उनले साढे चार सयभन्दा बढी बिरामीको मिर्गौला प्रत्यारोपणमा सर्जनका रुपमा काम गरे ।

एक वर्ष वीर अस्पतालको युरोलोजी विभागमा र अर्को ६ वर्ष मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा । त्यहाँ उनले कहिल्यै पनि टीमको नेतृत्व गर्न पाएनन् । त्यही झोंकले उनी डेढ वर्षअघि प्रमुख ट्रान्सप्लान्ट सर्जनका रुपमा सुमेरु अस्पताल पुगे ।

जन्म सिराहा, कर्म घुमन्ते

डा. यादव सिरहाको विष्णुपुरमा जन्मिएका हुन् । बुवा चिया विकासका सरकारी कर्मचारी थिए, सरुवा भएर जुन–जुन ठाउँ पुग्थे, वीरेन्द्र पनि सँगै पुग्थे । ‘मैले पूर्वका सोक्तिम, बर्ने, कन्याम, पाख्रिवास, हिले, मिर्चैया लगायतका गाउँ चाहारेको छु’, डा. वीरेन्द्र भन्छन्, ‘मैले सातौं स्कुलबाट एसएलसी दिएको हुँ ।’

बुबा सेवानिवृत्त भएपछि धनकुटामा फार्मेसी खोलेर बसे । पछि बिराटनगर पुगेँ । बाबा नै मेडिकल क्षेत्रको भएकाले वीरेन्द्रलाई पनि त्यतैतर्फ रस पस्दै गयो । उनी एमबीबीएस र एमएस गर्न सोभियत संघ पुगे । एमएस सकेर जनकपुरको अस्पतालमा काम गर्न आइपुगे ।

तर, डा. यादवलाई पढाइ अझै पुगिरहेको थिएन । त्यसैले उनी एक वर्ष फेरि युरोलोजीमा पीजी पढ्नका लागि रसिया उडे । पढाइ सकेर वीरमा ट्रान्सप्लान्ट सर्जनका रुपमा काम थाले ।

सामान्यतया निजी अस्पतालमा एकजनाको मिर्गौला प्रत्यारोपण गर्दा प्रमुख सर्जनले एकदेखि डेढ लाख रुपैयाँसम्म लिने गर्छन् । तर, डा. यादव भन्छन्, ‘मेरो हातमा भने त्यस्तै तीनदेखि पाँच हजार रुपैयाँ पर्ला, त्यसमै खुशी हुन्छु ।’

अहिले मिर्गौला प्रत्यारोपणको कमाण्ड सम्हाल्नका लागि उनी सुमेरु अस्पताल पुगेका छन् । ‘हामीले सरकारसँग एक विरामी बराबर ४ लाख रुपैयाँ बजेट माग गरेका छौँ’, डा. यादव भन्छन्, ‘यदि सरकारले उक्त रकम उपलब्ध गराएमा हामीले निशुल्क नै उपचार गर्छौँ ।’

बिरामीबाट औषधीको मात्र रकम लिने उनी बताउँछन् । अहिले सरकारी अस्पतालले ४ लाख रुपैयाँमा मिर्गौला प्रत्यारोपण गर्दै आएको छ । तर, निजी अस्पतालहरुले एउटा मिर्गाैला प्रत्यारोपणको १० देखि १२ लाख रुपैयाँ लिँदै आएका छन् ।

‘प्रत्यारोपणमा ढिला नगर्नुस्’

सरकारले दुवै मिर्गौला फेल भएपछि गरिने डायलोसिसलाई निशुल्क गरेको छ । र, चार लाख रुपैयाँमा मिर्गौला प्रत्यारोपण गर्छ । तर, प्रत्यारोपणका लागि बिरामीले कम्तिमा छ महिनादेखि १५ महिनासम्म पालो पर्खनुपर्ने हुन्छ । तर, डा. यादवले डायलोसिस गरेर बसिरहनुभन्दा मिर्गौला फेल भएलगत्तै प्रत्यारोपण गरेमा कम खर्चिलो हुने बताउँछन् ।

‘डायलोसिस गरिरहदा एक त शरिर कमजोर हुँदै जान्छ’, डा. यादवले भने, ‘अर्को कुरा लामो समय कुर्दा औषधीदेखि, खाने–बस्नेमा गरी १४÷१५ लाख खर्च पुग्छ । बेलाबेलामा स्वास्थ्य परीक्षण पनि गराइराख्नुपर्छ ।’

डायलोसिस उपचार नभएर आयु थप्ने मात्र भएकाले मिर्गौला प्रत्यारोपण नै गरेमा बिरामीका लागि राम्रो हुने उनको भनाइ छ । उनले भने, ‘प्रत्यारोपण गरेपछि एकैपटक खर्च लाग्छ । त्यसपछि लाग्दैन ।’

औषधि खानुस् तर, मिलाएर

मिर्गौला रोगीको संख्या दिन प्रतिदिन बढ्दो छ । धेरै मानिसहरु मर्गौला स्वस्थ राख्ने उपाय खोजिरहेका हुन्छन् । थुप्रै मानिस के खाने के नखाने ? के गर्ने के नगर्ने ? भन्नेमा समेत अन्योल भएको पाइन्छ ।

डा. यादवले मिर्गौला स्वस्थ राख्नका लागि निकै सजिलो टिप्स दिन्छन्, ‘यो खाने त्यो नखाने भन्ने हुँदैन । सबै चीज खान मिल्छ । तर, सन्तुलन मिलाएर, सीमित मात्र ।’

मिर्गौलालाई स्वस्थ राख्नका लागि डा. यादव सकरात्मक जिवनशैलीमा जोड दिन्छन् । मिर्गौला बिग्रने ठ्याक्कै कारण नहुने उनको भनाइ छ । यसको कारणबारे उनी बताउँछन्, यसका थुप्रै कारणहरु हुन्छन् ।

‘मधुमेह, उच्च रक्तचाप, इन्फेक्सन भइरहने मानिसलाई मिर्गौलाको समस्याले बढी सताउन सक्छ । यस्ता व्यक्तिहरुले कम्तिमा छ÷छ महिनामा स्वास्थ्य जाँच गराउन अति आवश्यक हुन्छ’ डा. यादव खाना र शारिरिक व्यायाममा बढ्ता ध्यान दिन सुझाउँछन् ।

‘निजीले पनि सरकारी दरमै प्रत्यारोपण गर्नुपर्छ’

सरकारीको तुलनामा निजी अस्पतालमा उपकरण, डाक्टर लगायतका खर्चका कारण स्वभाविक रुपमा केही महंगो पर्ने बताउँछन् । तर, अब सबै निजी अस्पतालहरुले सरकारी मूल्यमै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने उनको तर्क छ ।

‘यो मानवीय कुरा पनि हो । सरकारी मूल्यमै मिर्गौला प्रत्यारोपण गर्नु त्यति असम्भव पनि होइन । त्यो हामीले गरेर देखाउँदैछौँ ।’

(डा. यादव सुमेरु सामुदायिक अस्पतालमा कार्यरत छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment