Comments Add Comment

नेपालले पत्ता लगायो १६५८ फूल फुल्ने वनस्पति प्रजाति

३१ भदौ, काठमाडौं । सन् १८०२ मा फ्रान्सिस् बुखानन् हेमिल्टन् र नथायिनल वालिजले पहिलो पटक नेपालको वनस्पति प्रजातिबारे अध्ययन गरेका थिए । त्यसयताको दुई शताब्दीमा नेपालले १६ सय ५८ फूलफुल्ने वनस्पति प्रजाति नेपालबाट पहिलो पटक पत्ता लागेका छन् ।

त्यसमध्ये तीन सय भन्दा बढी थरीका वनस्पतिहरू नेपालमा मात्रै पाइएको छ । नेपालले पत्ता लगाएका प्रजातिहरू ४५ जिल्लाबाट संकलन गरिएका हुन ।

एसिया महाद्वीपका ६ वटा वानस्पतिक क्षेत्रको संगमस्थल मानिने नेपालमा पाइने फूलफुल्ने प्रजातिका वनस्पतिहरूको अद्यावधिक विवरण सहितको दुई वटा पुस्तक सार्वजनिक भएका छन् । वनस्पति विभागले मंगलबार ‘फ्लोरिङ प्लान्टस् डिस्कभर्ड फर्म नेपाल’ र ‘अ ह्याण्डबुक अफ दिन फ्लोरिङ प्लान्टस् अफ नेपाल–भाग २’ नामक पुस्तक सार्वजनिक गरेको हो ।

नेपालबाट पत्ता लागेका वनस्पति प्रजातिहरूको सूचना एकत्रित गर्ने तथा तिनीहरूका नमुनाहरूको अवस्था एकिन गर्न र नेपाल फ्लोरा प्रकाशन पुग्ने लक्ष्यसहित पुस्तक प्रकाशित भएको विभागले जानकारी दिएको छ ।

‘अ ह्याण्डबुक अफ दिन फ्लोरिङ प्लान्टस् अफ नेपाल–भाग २’ मा ६७ वनस्पति परिवारका १४ सय ८० प्रजातिहरूको सूचि–पहिचान, नामाकरण तथा वर्गीकरण गरिएको छ । सन् २०१७ मा प्रकाशित ‘अ ह्याण्डबुक अफ दिन फ्लोरिङ प्लान्टस् अफ नेपाल–भाग १’ मा १७ सय १५ प्रजातिका वनस्पतिको विवरण उल्लेख छ । भाग एक र भाग दुईमा गरी झण्डै ३२ सय प्रजातिका वनस्पतिको सूचिकरण भएको छ ।

५२७ पृष्ठको यो पुस्तक केशवराज राजभण्डारी र सञ्जीवकुमार राईले लेखेका हुन । नेपालबाट पत्ता लागेका वनस्पति प्रजाति सम्बन्धी पुस्तकको लेखन भने राजभण्डारी र राई, मोहनदेव जोशी, सुवाश खत्री, गंगादत्त भट्ट र रीता क्षेत्रीले गरेका हुन ।

लेखक मध्येका एक केशवराज राजभण्डारीले नेपालका फूलफुल्ने वनस्पति प्रजातिहरूको उत्पत्ति विकास तथा ऐतिहासिक पृष्ठभूमि बुझ्न पुस्तक सहयोगी हुने बताए ।

‘फ्लोरिङ प्लान्टस् डिस्कभर्ड फर्म नेपाल’ माथि समिक्षा गर्दै वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठले पुस्तक प्रकाशन गर्दा वैज्ञानिक भाषा भन्दा सर्वसाधरणले बुझ्ने भाषामा जोडदिनु पर्ने बताए ।

अर्को पुस्तक ‘अ ह्याण्डबुक अफ दिन फ्लोरिङ प्लान्टस् अफ नेपाल–भाग २’ को समक्षिा गरेका प्राध्यापक मोहन शिवाकोटीले नेपालमा पाइने फूलफुल्ने प्रजाति मध्ये आधाको विवरण सूचिकृत भएको बताए । दुबै पुस्तकलाई सर्वसाधरणको पहुँचमा पु¥याउनुपर्नेमा उनको जोड थियो ।

विभागकी महानिर्देशक ज्योति जोशी भट्टले ‘अ ह्याण्डबुक अफ दिन फ्लोरिङ प्लान्टस् अफ नेपाल’ को तेस्रो भाग पनि छिट्टै प्रकाशन हुने बताइन् ।

फूलनफुल्ने वनस्पतिको पनि पुस्तक आउने

नेपालमा फूलफुल्ने प्रजाति ५५ सय, उन्यु ५८०, लेउ १००१, काई १२१३ र च्याय तथा ढुसी २४ सय ६७ छन् । जस मध्ये तीन हजार भन्दा बढी नमुनाहरू नेपाल सहित १७ देशका ५९ हर्वेरियम संग्राहलयमा संरक्षित छन् ।

फूलनफुल्ने वनस्पति प्रजातिबारे पनि पुस्तक प्रकाशनको तयारी सुरु भएको विभागका महानिर्देशक सञ्जिवकुमार राईले जानकारी दिए । फूलनफुल्ने वनस्पति सम्बन्धी पुस्तक लेखनमा युवा पुस्ताको सहभागितालाई जोड दिइएको उनले बताए ।

कार्यक्रममा महानिर्देशक राईले भने, ‘त्रिभुवन विश्वविद्यालय, विदेशी संघसंस्था, विश्व विद्यालयका वैज्ञानिक तथा वरिष्ठ वैज्ञानिकहरूलाई सुपरभाइजर तथा लेखक र विभागका युवा अधिकृतहरूलाई सहलेखकको रुपमा कम लगाउन सुरु गरिसकेका छौं ।

‘वनस्पतिको उपयोग गरौं’

नेपालको कूल क्षेत्रफलको ४४.७४ प्रतिशत भाग वन, जंगल छ । फूल फुल्ने तीन सय भन्दा बढी, १३१ च्याउ तथा ढुसी, दुई वटा उन्यु र ३० वटा काई प्रजातिका वनस्पति नेपाल बाहेक अन्त पाइँदैन । ३७८ प्रजातिका वनस्पतिको वैज्ञानिक नाम नेपालसँग जोडिएका छन् ।

यति वन छ, यति प्रकारका वनस्पति छन् भन्नु भन्दा पनि उपयोग कति भएको छ भन्ने कुरामा जोड दिनुपर्ने सम्बद्धहरू बताउँछन् । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वन पैदावारको सही सदुपयोग विना मुलुकको समृद्धि सम्भव नभएको बताए ।

‘सगरमाथाको देश मात्रै होइन नेपाल वनस्पतिको देश पनि हो’ पुस्तक विमोचन गर्दै मन्त्री बस्नेतले भने, ‘तर ती वनस्पतिहरूलाई जनताको समृद्धिसँग जोड्न सक्नुपर्दछ ।’

वन सचिव विश्वनाथ ओलीले वैज्ञानिक अनुसन्धान र नीतिबीच तादम्यता हुन नसकेको बताउँछन् । उनी भन्छन्, ‘सही ढंगले उपयोग गर्न नसक्ने हो भने ४५ प्रतिशत वन छ भनेर मात्र पुग्दैन ।’

यो पनि पढ्नुहोस दुई सय वर्षमा पनि बनेन वानस्पतिक ‘संविधान’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment