
२ असोज, काठमाडौं । तत्कालीन जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन गरिएकामध्ये सबैभन्दा माथिल्लो दर्जामा पुग्ने अधिकृत यमबहादुर अधिकारी ‘प्रतिक्षा’ बनेका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई सहायक रथीमा बढुवा गरेको हो ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विशेष पद सिर्जना गरेर अधिकारीलाई सहायक रथीमा पदोन्नति गरिएको बताए । नेपाली सेनाको जंगीअड्डा स्रोतका अनुसार चार वर्षको पदावधि सकिएपछि उनको पद स्वतः खारेज हुनेछ ।
विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि भएको समायोजनका क्रममा उनी उपसेनानी बनेका थिए । त्यसको केही समयमै उनी महासेनानी (कर्णेल) बन्न सफल भए ।
शान्ति प्रक्रिया अझै सकिनसकेको अवस्थामा सकारात्मक सन्देश प्रवाह गर्न पनि उनलाई बढुवा गरिएको हुनसक्ने सैनिक अधिकृतहरु बताउँछन् । किनकि, उनले सहायक रथी बन्न चाहिने ‘हाइयर कमाण्ड कोर्स’ पूरा गरेका थिएनन् ।
दुई जनाको महासेनानीमा बढुवा
मन्त्रिपरिषदको सोही बैठकले दुई जना प्राविधिक सेनानीलाई महासेनानीमा बढुवा गरेको छ ।
बढुवा हुनेमा बानिरा थापा र अमुल कार्की ढली छन् ।
प्रतिक्रिया 4