News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न पाउने व्यवस्था ३ वर्षअघि भएको सम्झौताबारे पनि अझै कार्यान्वयनमा आएको छैन ।
- प्रधानमन्त्री बालेन शाहको आगामी भारत भ्रमणअघि पनि नेपालीलाई भारतमा क्यूआर भुक्तानी खुल्ने निश्चित नभएको राष्ट्र बैंक र एनसीएचएलले बताएका छन् ।
- राष्ट्र बैंकका अनुसार व्यक्ति-व्यक्ति कारोबार, कार्ड भुक्तानी र सीमित नगद लेनदेनमार्फत नेपाल-भारत डिजिटल भुक्तानी चरणबद्ध रूपमा सुरु भएको छ ।
२७ कात्तिक, काठमाडौं । नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गर्न दुई देशबीच सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन ।
भारतीयले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने भए पनि नेपालीलाई भारतमा रोकिएको हो ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण क्रममा दुई देशबीच क्यूआर भुक्तानी सेवा सुरु गर्ने सम्झौता भएको थियो । १८ जेठ २०८० मा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच दुई कम्पनीको ‘सिस्टम कनेक्ट’ गरी क्रसबोर्डर डिजिटल भुक्तानी सुरु गर्ने सम्झौता भएको थियो ।
आगामी मंसिर दोस्रो साता प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारत भ्रमणमा जाँदै छन् । शाहको भ्रमणमा पनि नेपालीले क्यूआर मार्फत भारतमा भुक्तानी गर्न सक्ने व्यवस्था हुने यकिन छैन ।
प्रधानमन्त्री भारत भ्रमणमा जाने विषयमा नेपाल राष्ट्र बैंक र एनसीएचएललाई अन्तरदेशीय भुक्तानीका सम्बन्धमा सुझाव मागिएको छैन ।
सम्बन्धित निकायहरूबाट नै सुझाव माग नभएपछि प्रधानमन्त्री शाहको भ्रमणमा पनि नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्ने बाटो खुल्ने निश्चित नभएको हो ।

गत जेठमा परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण क्रममा अन्तरदेशीय डिजिटल भुक्तानी सेवा सुरु गर्ने सहमति भएको थियो । परराष्ट्रमन्त्री खनालले भारतसँग डिजिटल माध्यमबाट अन्तरदेशीय पीटुपी (पिअर टु पिअर) रेमिट्यान्स आदान–प्रदान गर्न सकिने सहमति गरेका थिए ।
तर, नेपालीले भारतमा मर्चेन्ट पेमेन्ट अर्थात् क्यूआरका माध्यमबाट हुने भुक्तानी भने अझै अन्योलमै छ । परराष्ट्रमन्त्री खनालको भ्रमणपछि भने मोबाइल बैंकिङ वा कनेक्ट आईपीएस मार्फत नेपालमा रहेका भारतीयले भारतमा रहेका आफन्तको बैंक खातामा सिधै पैसा पठाउन सक्ने भएका छन् ।
यस्तो कारोबारको सीमा भारतीय नागरिकले प्रतिकारोबार १५ हजार र मासिक १ लाख भारु पठाउन सक्ने व्यवस्था छ । त्यसैगरी भारतमा रहेका नेपाली तथा भारतीयले नेपाली बैंक खातामा पठाउन पाउने रकमको सीमा प्रतिकारोबार २ लाख भारु छ ।
व्यक्ति र मर्चेन्टबीच कारोबार तथा नेपालीले भारतमा डिजिटल माध्यमबाट पैसा पठाउन सक्ने व्यवस्था प्रक्रियामा रहेको राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बताए ।
‘यी सेवा पनि छिट्टै सुरु हुन्छन्,’ पौडेलले भने, ‘पूर्वाधार पक्षबाट तयारी पूरा भएको छ, नेपालीले पनि भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था छिटो गर्न सम्बन्धित निकायहरूसँग छलफल भइरहेको छ ।’
क्यूआर भुक्तानी नेपालीका लागि नखुलेको सन्दर्भमा भारतीय पक्षले स्पष्ट कारण नभनेको एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमान सिंह प्रधानले बताए ।
‘भारतीय पक्षले तयारी गर्दैछौं भन्ने गरेका छन्, भारतले अन्य धेरै देशहरूसँग पनि आफ्नो भुक्तानी प्रणाली जोडिरहेको छ तर नेपालमात्र होइन, अन्य कुनै पनि देशका विदेशीले भारत गएर त्यहाँको क्यूआर स्क्यान गरी सिधै भुक्तानी गर्न मिल्ने व्यवस्था सुरु गरेको छैन,’ उनले भने, ‘भारततर्फको प्राविधिक तयारी नपुगेका कारण रोकिएको हो ।’
नेपालका हकमा पूर्वाधार तथा नीतिगत तयारी पूर्ण भएको समेत जानकारी प्रधानले दिए । चिनियाँ नेटवर्कमा ‘डलर कार्ड’ जोड्ने तयारीमा पनि काम भइरहेको प्रधानले बताए ।

डलर कार्डलाई मोबाइल एपमा लिंक गरेर अलिपे प्लस र युनियन पेको क्यूआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाउन काम भइरहेको उनी बताउँछन् ।
अहिले भारतीय नेपाल आउँदा क्यूआर मार्फत भुक्तानी गर्न सक्छन् । तर, नेपाली भारतमा जाँदा त्यस्तो सुविधा उपभोग गर्न पाउँदैनन् । क्यूआर पेमेन्टको काम भने नेपालको निजी क्षेत्रको भुक्तानी प्रणाली सञ्चालक फोनपेले गर्दै आएको छ ।
नेपालको एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाको युनिफाइड पेमेन्ट्स इन्टरफेसबीच इन्टिग्रेसन भएर क्रसबोर्डर पेमेन्ट गर्ने सम्बन्धमा २०८० मै भएको सम्झौता अनुसार क्रमिक रूपमा अन्तरदेशीय भुक्तानी चरणबद्ध रूपमा सुरु भएको छ ।
प्रधानमन्त्री शाहको आगामी भारत भ्रमण क्रममा यो विषयलाई अघि बढाउने सन्दर्भमा अहिलेसम्म जानकारी नभएको प्रधानले बताए ।
हाल कुन-कुन माध्यमबाट हुन सक्छ कारोबार ?
पहिलो, नेपालमा भएका भारतीय र भारतमा भएका नेपालीले बैंकमा उपस्थित भई तोकिएका सर्त र सीमाका आधारमा रकम पठाउन सक्छन् ।
दोस्रो, एक व्यक्तिले अर्को व्यक्तिलाई बैंक खातामा मोबाइल बैंकिङ वा कनेक्ट आईपीएस मार्फत भारु ट्रान्स्फर गर्न सक्ने भएका छन् ।
तेस्रो, ५ सयभन्दा कम दरका नोट २५ हजार रुपैयाँसम्म भारतीय र नेपालीले भारत लैजान वा भारतबाट ल्याउन पाउने व्यवस्था छ ।
चौथो, नेपालका बैंक तथा वित्तीय संस्थाले जारी गरेका कार्डहरू मार्फत पनि नेपालीले भारतमा भुक्तानी गर्न सक्छन् । कार्डहरू मार्फत भारतका एटीएमबाट दिनको १५ हजार भारुका दरले एक महिनामा बढीमा १ लाख भारुसम्म झिक्न सकिन्छ ।
कार्डबाट हस्पिटलको बिल, औषधि पसल र होटलको बिलबापत भुक्तानी गर्दा १० लाख रुपैयाँसम्म अनुमति लिनुपर्दैन । तर, त्यसभन्दा बढी भुक्तानी गर्नुपर्यो भने नेपालको बैंकमा जानकारी गराई कार्डका माध्यमबाट भुक्तानी गर्न सकिन्छ ।
प्रतिक्रिया 4