Comments Add Comment

यूएईमा अलपत्र १ सय २० जनालाई घर फर्काइयो

Photo Credit : रूपेश अधिकारी । दूतावासको पहलमा घर फर्कन लागेका नेपालीहरू ।

३ असोज, यूएई । कम्पनीका कारण यूएईको आबुधाबीमा अलपत्र १ सय २० जना नेपाली कामदारलाई घर फर्काइएको छ । नेपाली दूतावास, रोजगारदाता कम्पनी र स्थानीय अदालतको पहलमा उनीहरुलाई घर फर्काइएको हो ।

आबुधाबीमा रहेको एड्भान्स फ्यासिलिटी म्यानेजमेण्ट सर्भिसेस् (एलएलसी) मा कार्यरत २ सय ५० जना नेपाली कामदार समस्यामा थिए । समस्यामा परेका यी कामदारमध्ये १ सय २० लाई घर नेपाल फर्काइएको हो । बाँकी कामदार फिर्ता पठाउन प्रक्रिया थालिएको र छिट् नेपाल पठाइने दूतावासले जनाएको छ ।

पहिलो चरणमा पुरुष कामदारलाई घर फर्काइएको छ र दोस्रो चरणअन्तर्गत महिला कामदारलाई फर्काउन प्रक्रिया थालिएको दूतावासका श्रम सहचारी मोतीराम भुसालले जानकारी दिए ।

करार अवधि पूरा भएपछि कम्पनीले भिसा नवीकरण नगरेको र ६ महिनादेखिको तलबसमेत नदिएपछि कामदार समस्यामा परेका हुन् । उक्त कम्पनीमा नेपालीसहित अन्य देशका गरी ६ सय भन्दा धेरै कामदार समस्यामा छन् ।

गत आइतबारदेखि नेपाली कामदारलाई घर फर्काउन थालिएको हो ।

समस्यामा परेपछि कामदारहरूले ३ महिनाअघि दूतावासलाई जानकारी गराएका थिए । ६९ जनाले लिखित निवेदन दिएर समस्या समाधान गर्न आग्रह गरेका थिए । तर, सुरुआतमा दूतावासले समस्याबारे चासो नदिएपछि पीडित थप समस्यामा परे । आबुधाबीमा अलपत्र परेका कामदारको विषयमा अनलाइनखबरमा समाचार प्रकाशित भएपछि र पीडितको दबाव पछि दूतावासले यो विषयलाई चासो दिएको थियो । दूतावासमा ६९ जनाको निवेदन परेको भए पनि समाचार प्रकाशितपछि अन्य क्षेत्रमा रहेका पीडितहरु सम्पर्कमा आउन थालेका थिए ।

हालसम्म २ सय ५० भन्दा बढी पीडित कामदार सम्पर्कमा आएको दूतावासले जनाएको छ । उनीहरुको समस्या समाधानका लागि दूतावासले श्रम काउन्सुलर भेषबहादुर कार्की, श्रमसहचारी मोतीराम भुसाल र जनसम्पर्क अधिकृत (पीआरओ) इरफान आलमलाई जिम्मेवारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment