Comments Add Comment

सेतो लुगा लगाउनुहुन्छ ?

सेतो लुगा वा उज्यालो रंगको लुगामा हाम्रो व्यक्तित्व खुल्छ । त्यसैले धेरैजसोले सेतो लुगा रुचाउँछन् । सेतो लुगाले फ्रेस र कुल पनि देखाउँछ ।

तर, सेतो लुगा सम्हाल्न सजिलो छैन । धुने, राख्ने क्रममा निकै जतन गर्नुपर्ने हुन्छ । सामान्य मैला पनि झट्ट देखिने, दागहरु स्पष्ट देखिने । कतिपयले त सेतो लुगा वा उज्यालो रंगको लुगा जतन गर्न नसकिने भएकाले नै लगाउनमा जाँगर देखाउँदैनन् ।

सेतो रंगका लुगाहरुलाई राम्रोसंग हेरचाह गरेन भने यो पहेंलो र खैरो देखिन थाल्छ । के तपाईं ड्राइक्लिनिङ नगरी नै लुगालाई सेतो र नयाँ जस्तो बनाउन चाहानु हुन्छ ? पैसा खर्च नगरी लुगालाई नयाँ, चम्किलो र सेतो बनाइ राख्नका लागि के गर्ने त ?

रंगिन र सेतो लुगालाई एकसाथ धुनु हुँदैन

कुनै पनि लुगालाई धुनु अगाडि सेतो लुगालाई मात्र जम्मा गरेर पहिला धुनु पर्छ । सेतो लुगा धुँदा कहिल्यै पनि रंगिन लुगासंग मिसाएर धुनु हुँदैन । रंगिन लुगा र सेतो लुगासंगै धुँदा रंगिन लुगाको रंग निस्किएर सेतो लुगामा लाग्ने सम्भावना हुन्छ ।

कागतीको रसको प्रयोग

लुगाको रंगलाई सुरक्षित राख्नका लागि पानीमा कागतीको रस मिसाएर धुनु पर्छ । यसो गर्दा लुगामा लागेका दाग पनि सफा हुन्छ ।

भेनेगरको प्रयोग

लुगा पखाल्दाको अन्तिम चरणमा पानीमा केहि थोपा भेनेगर हाल्नु पर्छ । त्यसो गर्दा लुगामा लागेको दाग हट्छ । भेेनेगरको गन्ध लुगा सुकेपछि आफै हटेर जान्छ ।

सेतो लुगालाई क्लोरीन ब्लीचले पनि सफा गर्न सकिन्छ । तर नाइलन र इलास्टिक भएको लुगालाई क्लोरीन ब्लीचले सफा गर्नु हुँदैन । त्यसले नाइलन लुगा र इलास्टिकलाई बिगार्ने काम गर्छ । क्लोरीन ब्लीचलाई दिनहुँ प्रयोग गर्नु हुँदैन । महिनामा एकपटक मात्र त्यसको प्रयोग उपयुक्त हुन्छ । क्लोरीन ब्लीचको अत्याधिक प्रयोगले लुगा पहेलो हुने डर हुन्छ ।

बेकिंग सोडाको प्रयोग

सेतो लुगाको रंगलाई यथावत राख्नका लागि बेकिङ सोडामा केही थोपा भेनेगर मिलाएर लुगा सफा गर्नु पर्छ ।

तातो पानीको प्रयोग

यदि कपडाको मेटेरियलले सहन सक्छ भने त्यस्ता लुगालाई तातो पानीमा भिजाउनु पर्छ । त्यसो गर्दा लुगामा लागेेको दाग सजिलै हट्छ ।

सेतो लुगालाई कम घाम

सेतो रंगका लुगालाई धेरै समय घाममा सुकाउनु हुँदैन । त्यसो गर्दा घामले लुगाको रंग सोस्छ र लुगा खुइलिएर पहेंलो अथवा खैरो हुन थाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment