Comments Add Comment

क्यानडाको संसद भवनमा नेपालीले मनाए ‘नेपाल डे’

नेपाल भ्रमण गर्न सबैलाई निम्तो

Photo Credit : बद्री तिमल्सिना

टोरोन्टो । नेपालको संविधान दिवसको अवसर पारेर क्यानडाको टोरोन्टोमा नेपालीहरुले ‘नेपाल डे’ मनाएका छन् । टोरोन्टोको क्विन्सपार्कस्थित प्रान्तीय संसद भवनमा ‘नेपाल डे’ मनाउँदै नेपालीहरुले कार्यक्रममा सहभागीहरुलाई नेपाल भ्रमणको निम्तो दिए ।

क्यानडाको प्रोगेसिभ कन्जरभेटिभ पार्टीको संसदीय दलको सभा हलमा कार्यक्रम आयोजना गरिएको थियो । गैरआवासीय नेपाली संघ एनआरएनए क्यानडाको अगुवाइमा भएको कार्यक्रममा एनआरएनए क्यानडाका अध्यक्ष चिरन्जिवी घिमिरेले विश्वकै सुन्दर देश नेपाल एक पटक भ्रमण गरिदिन आग्रह गरेका थिए ।

यस्तै क्यानडाका लागि नेपाली अवैतनिक महावाणिज्य दूत डा. कुन्जर शर्मा, कन्सर्न नेपालका संयोजक डा. तुल्सी धरेल लगायतले नेपालको संविधान र नेपालको वर्तमान अवस्थाबारे संक्षिप्त जानकारी गराएका थिए ।

कन्जरभेटिभ पार्टीका सांसद दीपक आनन्दले सर्वोच्च शिखर सगरमाथा रहेको नेपाल विश्वकै सुन्दर देश भएकाले पनि एक पटक भ्रमण गर्न सबैलाई आग्रह गरे । आफू नेपाली समुदायसँग धेरै घुलमिल भएकाले पनि नेपालका विषयमा आफू जानकार रहेको भन्दै उनले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

ब्राम्टन मिसिसागा क्षेत्रका सांसद दीपक आनन्दले नै नेपाल डे मनाउनका लागि सबै किसिमको प्रवन्ध मिलाइदिएका थिए ।

एनआरएनए क्यानडाका महासचिव पिताम्वर भट्टराईले सञ्चालन गरेको कार्यक्रममा नेपाली राष्ट्रिय गानले सभाहल गुन्जिँदा स्थानीय सञ्चारकर्मी र क्यानडेली पाहुनाले यसको संगीतलाई ध्यान दिएर सुनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment