Comments Add Comment

सरकारी स्कुलका विद्यार्थीलाई बिरुवा संरक्षणको जिम्मेवारी

प्रदेश ३ सरकारले सुरु गर्‍यो 'एक विद्यार्थी, एक बिरुवा' कार्यक्रम

४ असोज, मकवानपुर । सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पढाइसँगै बिरुवा संरक्षण गर्ने जिम्मेवारी पनि थपिएको छ । प्रदेश ३ सरकारले ‘एक विद्यार्थी, एक बिरुवा’ कार्यक्रम लागु गरेसँगै सामुदायीक विद्यार्थीको काँधमा बिरुवा बचाउने जिम्मेवारी पनि थपिएको हो ।

प्रदेश ३ सरकारले प्रदेशका सामुदायीक विद्यालयहरुमा यो कार्यक्रम सुरु गरेको छ । संविधान दिवसको अवसर पारेर हेटौंडा उपमहानगरपालिका-८ मा रहेको चन्द्रोदय माध्यमिक विद्यालयबाट कार्यक्रम सुरुवात गरिएको छ ।

‘एक विद्यार्थी एक बिरुवा’कार्यक्रमको प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उदघाटन गरे । चन्द्रोदय माविबाट सुरु भएको यो कार्यक्रम प्रदेश ३ का सबै सरकारी विद्यालयहरुमा लागु गर्ने वन मन्त्रालयले जनाएको छ ।

चन्द्रोदय माविमा एभोकार्डो, लिची, अम्बा, आँप, कटहर, अमला, तेजपात, नास्पाती, हलुवाबेद, रुद्राक्ष लगायतका फलफूल सहितका २ सय वटा बिरुवा रोपिएको छ । सरकारले २ लाख रुपैयाँ खर्च गरेर बगैंचासहितको बिरुवा रोपेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अच्युत उपाध्यायले जानकारी दिए ।

विद्यालय हरीत कार्यक्रममा एक विद्यार्थी एक बिरुवाका लागि मन्त्रालयले १५ डिभिजन कार्यालयमार्फत १३ जिल्लामा १३ हजार २ सय बिरुवा रोप्ने लक्ष्य लिएको सचिव शिवकुमार वाग्ले जानकारी दिए । कार्यक्रमका लागि मन्त्रालयले २६ लाख ४० हजार बजेट छुट्याएको छ ।

कार्यक्रम लागु भएका विद्यालयमा विद्यार्थीको संख्याअनुसार वृक्षारोपण गर्ने र विद्यालयले विद्यार्थीलाई बिरुवा संरक्षणको जिम्मा दिने छ । जिल्लामा रहेको वन कार्यालयमार्फत इच्छुक विद्यालयले बिरुवा माग गरेपछि बगैंचा निर्माण गर्ने गरी फलफूलसहित अन्य बिरुवा उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।

प्रतिफल आउने गरी काम गरौं : मुख्यमन्त्री पौडेल

वन मन्त्रालयले थालेको ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रमको उदघाटन गर्दै मुख्यमन्त्री डोरमणी पौडेलले वृक्षारोपण औपचारीकतामा मात्र सीमित नराख्न आह्वान गरे । हरेक वर्ष वृक्षारोपण गर्ने तर प्रतिफल केही नआउने गरी काम नगर्न उनले निर्देशन दिए । उनले भने ‘यथार्थताको धरातलमा उभिएर काम गरौं, नाटक मञ्चन गर्ने समय छैन ।’

‘बीपी जयन्तीमा १७ वर्षसम्म एकै ठाउँमा वृक्षारोपण गरेर प्रतिफल नआएको जस्तो सरकारको कार्यक्रम नबनोस्’ उनले भने ।

वृक्षारोपणमा फलफूलका बिरुवामा जोड दिन उनले मन्त्रालयलाई निर्देशन दिए । ‘अब आयातित फलफूल होइन, यहीँ उत्पादन भएको फलफूल बोटबाटै टिपेर खान सकिने अवस्था निर्माण गरौं,’ उनले भने ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपाल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेल, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद जोशी, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल लगायतले वृक्षारोपण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment