Comments Add Comment

निजगढ विमानस्थल बनाउन ‘जुरिच एयरपोर्ट’ मात्र योग्य

६ असोज, काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि प्रस्ताव पेश गर्ने ६ वटा कम्पनी अयोग्य ठहरिएका छन् । जुरिच इन्टरनेशनल एयरपोर्ट एजीमात्र योग्य देखिएको लगानी बोर्डले जनाएको छ ।

बोर्डको सोमबार बसेको बैठकले जुरिचसँग निजगढ विमानस्थल निर्माणका लागि विस्तृत प्रस्ताव माग गर्ने निर्णय गरेको छ । लगानी बोर्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागत तीन खर्ब अनुमान गरेको छ ।

कोको थिए इच्छुक ?

सरकारले लगानी सम्मेलनमा निजगढ विमानस्थल निर्माणलाई सोकेसमा राखेको थियो ।

यो विमानस्थल बनाउन नेपाली कम्पनी म्याटि्रक्स इन्टरप्राइजेजले इच्छा देखाएको थियो । यस्तै चीनका दुई सरकारी कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ र चाइना एयरपोर्ट कन्स्ट्रक्सन, भारतीय कम्पनी जीएमआर र फ्रान्सको भिन्ची एयरपोर्टले पनि विमानस्थल बनाउन प्रस्ताव पेश गरेका थिए ।

तर ती अयोग्य ठहर भएका छन् । जुरिच एयरपोर्ट एजी मात्र योग्य ठहर भएको छ । यो स्वीजरल्याण्डको जुरिच एयरपोर्टको स्वामित्वमा रहेको कम्पनी हो । यसले अन्य देशमा एयरपोर्ट सन्चालन र व्यवस्थापनको काम पनि गर्छ ।

बाहिरी चक्रपथमा चिनियाँ कम्पनीमात्र योग्य

यसैगरी काठमाडौंको बाहिरी चक्रपथ निर्माणको लागि चिनियाँ कम्पनीमात्र योग्य देखिएको छ । प्रस्ताव पेश गरी संक्षिप्त सूचीकरण (सर्ट लिष्ट)मा परेकामध्ये मापदण्ड र मूल्यांकनका आधारमा ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’मात्र योग्य देखिएको लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक (सीईओ)महाप्रसाद अधिकारीले जानकारी दिए ।

अब उक्त कम्पनीसँग ४५ दिनभित्र विस्तृत प्रस्ताव मागिने छ ।

अरुण जलविद्युतमा तीनवटै कम्पनी योग्य

यसैगरी तल्लो अरुण जलविद्युत आयोजनामा परेका तीनवटै प्रस्ताव योग्य देखिएका छन् । भारतीय कम्पनी एसजेभीएन, चाइना पावर र जापानको जे पावरले यो आयोजना निर्माणका लागि लगानी बोर्डमा प्रस्ताव पेश गरेका थिए । तीनैवटाको प्रस्ताव योग्य देखिएकाले विस्तृत प्रस्ताव माग गर्ने निर्णय गरिएको लगानी बोर्डका सीईओ अधिकारीले जानकारी दिए ।

बैठकले पश्चिम सेती तथा एसआर छ संयुक्त जलविद्युत् परियोजनाका लागि प्रस्ताव पेश गर्नेमध्ये संक्षिप्त सूचीकरण छनोटका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा अलग-अलग समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment