Comments Add Comment

कांग्रेसको नाराबाजीबीच प्रदेश १ मा मनमोहन विधेयक पारित

६ असोज, विराटनगर । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको अवरोधकाबीच प्रदेश १ को संसदले मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

कांग्रेसले विधेयकप्रति असहमति जनाउँदै पछिल्लो समय लगातार संसद अबरुद्ध गर्दै आएको थियो । तर, सोमबारको संसदले बहुमतको बलमा विधेयक पारित गर्‍यो । प्रदेश १ मा नेकपाका सांसदको बहुमत छ ।

कांग्रेसका सांसदहरुले संसदमा नाराबाजी र होहल्ला गरिरहेकै बेलामा बहुमतको संख्यामा रहेका सत्तापक्षका सांसदले हात उठाएपछि विधेयक पारित भयो ।

संसद बैठक शुरु भए लगतै कांग्रेस सांसद नाराबाजी गर्दै रोष्टम घेराउ गर्न पुगेका थिए ।

त्यती बेलै सभामुख प्रदीपकुमार भण्डारीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई समय दिए ।

कांग्रेसका संसदहरुले घेराउ गरेको रोष्टम छल्दै मन्त्री घिमिरेले विधेयक बैठकमा पेश गरेका थिए । लगतै सभामुख भण्डारीले विधेयक पारितका लागि प्रक्रियामा लगेका थिए ।

केमा थियो कांग्रेसको असमति 

नेपाली कांग्रेसको विरोधका बाबजुद सामाजिक विकास समितिको प्रतिवेदनसहित विधेयक आइतबार प्रदेशसभामा पेश भएको थियो ।

कांग्रेसले विधेयकमा समावेश गरिएको बोर्ड अफ गभर्नस नियुक्ति प्रक्रिया र मनमोहन पोलिटेक्निक कलेजका सञ्चालकलाई संरक्षक बनाउनेलगायतका प्रावधानमा असहमति जनाएको थियो ।

प्रतिपक्ष काग्रेसले सरकारले बहुमतको बलमा विधेयक पारित गरी प्रतिपक्षलाई बेवास्था गरेको बताएको छ ।

नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले रक्षामन्त्री ईश्वर पोखरेलको निर्देशनमा प्रतिपक्षलाई बेवास्था गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याएको र सोहीअनुसार प्रदेश सभाबाट पारित गरेको बताए ।

उनले विधेयक प्रदेश सभाबाट पारित गरी सत्तापक्षले दुई तिहाईको दम्भ देखाएको बताए ।

मनमोहन स्मृति प्रतिष्ठानकाद्वारा मोरङको हात्तीमुडामा रहेको मनमोहन पोलिटेक्निक संचालनमा छ । प्रतिष्ठानका अध्यक्ष भने रक्षामन्त्री ईश्वर पोखरेल रहेका छन् ।
प्रदेश सरकारले हात्तीमुडामा रहेको पोलिटेक्निकलाई प्राविधिक विश्वविद्यालय संचालन गर्न तिन महिनाअघि प्रदेश सभामा विधेयक पेश गरेको थियो ।

प्रदेश सरकारले मनमोहन प्राविधिक विश्व विद्यालयका रुपमा मनमोहन पोलिटेक्निकलाई संचालन गर्न चालू आर्थिक वर्षका लागि १६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

पोलिटेक्निक भने जिल्ला प्रशासन कार्यलय मोरङमा दर्ता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment