Comments Add Comment

माधव नेपाल र मातृका यादवमाथि नै कारबाही गर्न प्रदेश कमिटीको सिफारिस

नेकपा प्रदेश २ को विवाद

७ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ को कमिटीले बर्दिबास घटनामा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र स्थायी कमिटी सदस्य मातृका यादवको संलग्नता रहेको ठहर गरेको छ । साथै दुबै नेतामाथि थप छानविन गरेर कारबाही गर्न सिफारिस गर्दै पार्टी केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाएको छ ।

सहसंयोजकद्वय नागेन्द्र चौधरी र महेन्द्र पासवानलाई जिम्मेवारी मुक्त गर्न र केन्द्रीय सदस्यहरु गोपाल ठाकुर, जगत यादवमाथि कारबाही गर्न माग गरिएको छ । रामचन्द्र झा, श्रीप्रसाद साह, शत्रुघन महतोहरुलाई नसियत दिन सिफारिस गरिएको छ ।

२४ भदौमा सिरहा र सप्तरीको जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रममा हुलदंगा गर्दै तोडफोड गरिएको थियो । यो लगायतका घटनाबारे प्रदेश कमिटीका इञ्चार्ज, सहइन्चार्ज तथा अध्यक्ष र सचिवले मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएका छन् ।

यसअघि प्रदेश कमिटीका चार पदाधिकारीलाई कारबाही गर्न माग गर्दै सहसंयोजकद्धय नागेन्द्र चौधरी, महेन्द्र पासवान लगायतका १९ केन्द्रीय सदस्यले अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई नै ज्ञापन पत्र बुझाएका थिए ।

माधव नेपाल र मात्रिका यादव पनि दोषी

प्रदेश २ कमिटीले प्रदेशमा देखिएको विवाद बर्दिबास घटनासम्म आइपुग्नुमा पार्टीका वरिष्ठ नेता नेपाल र मन्त्री समेत रहेका नेता यादवलाई समेत दोषी ठहर्‍याएको छ । ‘कुटपिट गर्नुस्, कुर्सी तोडफोड नजै गर्नुस् भनेर त उहाँहरुले निर्देशन दिनु भएको थिएन होला’ एक पदाधिकारीले भने, ‘तर सपथ कार्यक्रममा विरोध गर्ने, विथोल्ने उनीहरुकै निर्देशनमा भएको हो ।’

प्रतिवेदनमा माधव नेपालमाथि प्रदेश २ को लेखा समितिको सभापतिमा बागी उम्मेदवार उठाएको, रौतहटको आमसभामा सहभागी नभएको विषयमा समेत प्रश्न उठाइएको छ । लेखा समितिमा नेकपाको आधिकारिक उम्मेदवार संसदीय दलका नेता स्त्य नारायण मण्डलविरुद्ध शत्रुघन महतोले उम्मेदवारी दिएका थिए ।

रौतहटमा जन्मिएका नेता नेपालको तत्कालीन एमालेको प्रदेश २ कमिटीमा बलियो कपड मानिन्छ । तर विवाद मिलाउने भन्दा निहु खोज्ने काम मात्र गरेको प्रदेश कमिटीको ठहर छ ।

यस्तै आपूर्तिमन्त्री समेत रहेका नेता यादवले पनि विवाद ल्याउन भूमिका खेलेको कमिटीको ठहर छ । नेपाल र यादवको निर्देशनअनुसार नै प्रदेश कमिटीका सहइन्चार्जद्धय नागेन्द्र यादव र महेन्द्र पासवानले जिल्ला जिल्लामा भेला बैठक गरेको र बर्दिबास घटना घटाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नाम उल्लेख नगर्ने शर्तमा एक पदाधिकारी भन्छन्, ‘दुबै नेताको संलग्नताबारे हामीले प्रमाण दिएका छौं । पार्टीले त्यसको छानविन गरोस् र कारबाही होस् भन्ने माग गरेका छौं ।’

अरु कोकोमाथि करवाही सिफारिस ?

यस्तै सहइन्चार्जद्वय यादव र पासवानलाई जिम्मेवारीबाट मुक्त गर्न भनिएको छ । पार्टी अध्यक्ष प्रचण्ड र महासचिवले जिल्ला जिल्लामा भेला गर्दै विवाद नबढाउन भन्दा समेत उनीहरुले नमानेको कमिटीको आरोप छ ।

बर्दिबासमा पार्टीको कार्यक्रम बिथोल्ने क्रममा जगत यादवले नेताहरुको कठालो समातेको तथा भूगोलमा भूमिका नै नभएका गोपाल ठाकुर गएर विवाद गरेको भन्दै उनीहरुलाई केन्द्रीय सदस्यबाट निस्कासन गर्न प्रदेश कमिटीले माग गरेको छ ।

घटना हुँदा बर्दिबासमा उपस्थित नभएका तर कार्यक्रम विथोल्ने योजना बनाएको भन्दै रामचन्द्र झा, श्रीप्रसाद साह, शत्रुघन महतोहरु नसिहत दिन माग गरिएको छ ।

प्रतिवेदन बुझ्दै प्रचण्डले यसले आफूहरुलाई गम्भीर बनाएको भन्दै छानविन गर्ने आश्वासन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment