Comments Add Comment

चीनका कम्युनिस्ट नेता फर्किए, विचारको छलफल शिक्षाप्रद रहेको नेकपाको ठहर

८ असोज, काठमाडौं । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताव नेतृत्वको टोली काठमाडौंमा दुई दिने प्रशिक्षण तथा नेकपासँगको समझदारीपत्रमा हस्ताक्षरपछि बुधवार बेइजिङ फर्किएको छ ।

तावलाई बुधवार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा स्कूल विभागका उपप्रमुख बेदुराम भुसाल र विदेश विभागका उपप्रमुख विष्णु रिजालले बिदाइ गरेका हुन् । सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छी पनि उपस्थित थिइन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ्गको नेपाल भ्रमणको अपेक्षा र तयारी चलिरहको सन्दर्भमा आयोजित दुई पार्टीबीचको विचारधारात्मक छलफलले नेपाली समाजमा सकारात्मक प्रभाव पारेको नेकपाले जनाएको छ ।

नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले विज्ञप्ति जारी गरी दुई पार्टीबीच भएको विचारको छलफल तथा अन्तरक्रियाले कम्युनिस्ट पार्टी सन्चालन तथा अनुशासनका विषयमा महत्वपूर्ण शिक्षासमेत नेकपा पंक्तिले पाएको बताएका छन् ।

थापाको विज्ञप्तिमा भनिएको छ, ‘यस ढंगले दुई देशका पार्टीहरुको तहमा संयुक्त रुपमा काठमाडौंमा आयोजित यो पहिलो कार्यक्रम हो । यसको सफल आयोजनाले दुवै पार्टीलाई उत्साहित बनाएको छ र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन आधार प्रदान गरेको छ । यस विचारधारात्मक छलफल प्रक्रियालाई भविष्यमा पनि विभिन्न रुपमा निरन्तरता दिन कोसिस गरिनेछ ।’

कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट चारवटा प्रस्तुति रहेका थिए । चिनियाँ केन्द्रीय पार्टी स्कुलका तर्फबाट साओ लिनले मध्यमस्तरीय सहज समाजको निर्माण सम्पन्न गर्नेबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै संगठन विभागका तर्फबाट झु नान एभलनले पार्टी अनुशासनको सुदृढ कार्यान्वयन सम्वन्धमा, पार्टी स्कुलका तर्फबाट किन गाङले सुधार कार्यलाई व्यापक बनाउने सम्वन्धमा र चिनियाँ नेशनल डेभलपमेन्ट एन्ड रिर्फम कमिसनका तर्फबाट शी यु लोङले एक क्षेत्र, एक सडक योजना निर्माणको संयुक्त पहल र मानव जातिका लागि सामुदायिक भविष्य निर्माण सम्वन्धमा विचार प्रस्तुत गरेका थिए ।

यो पनि पढ्नुहोस नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भाइचारा सम्बन्ध स्थापित

उदघाटन र समापन सत्रको सञ्चालन तथा विचार प्रस्तुती सत्रको अध्यक्षता नेकपा पार्टी स्कुल विभागका तर्फबाट स्थायी कमिटी सदस्य एवं उपप्रमुखद्वय देवेन्द्र पौडेल र बेदुराम भुसालले गरेका थिए । उदघाटन सत्रको अध्यक्षता स्कुल विभाग प्रमुख तथा सचिवालय सदस्य ईश्वर पोखरेलले गरेका थिए ।

उक्त प्रस्तुतिमा सहभागीहरुद्वारा विभिन्न जिज्ञासा राख्दै प्रश्नोत्तर समेत गरिएको थियो । दुई दिवसीय कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका करिब ३०० जना र चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट १० जनाको सहभागिता रहेको प्रचार विभाग उपप्रमुख थापाले बताएका छन् ।

कार्यक्रमको समापन सत्रमा अध्यक्षता गर्दै पार्टी स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले विचारधारात्मक छलफल कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको समीक्षासहित दुवै पार्टीका नेता कार्यकर्ताहरुलाई धन्यवाद दिएका थिए ।

नेकपाको कार्यविभाजनपश्चात पहिलो आयोजनाको रुपमा सम्पन्न अन्तर्राष्ट्रिस्तरको यो पहिलो कार्यक्रम हो । सो अवसरमा सहभागीहरुका तर्फबाट भगवती चौधरी, खिमलाल भटराई, रामकुमार शर्मा, रामदीप आचार्य, गोरखबहादुर बोगटी, ऐनबहादुर महर र विचार प्रस्तोताका तर्फबाट चिनियाँ केन्द्रीय पार्टी स्कुलका प्रतिनिधि साओ लीले अनुभव बाँडेका थिए ।

यो पनि पढ्नुहोस नेकपा र चीनको सम्बन्ध भ्रातृत्वको हो, कांग्रेस आत्तिनु पर्दैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment