Comments Add Comment

दशैंमा सडक दुर्घटना कम गर्ने कार्ययोजना के छ ?

Photo Credit : पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपुरको कावासोती नगरपालिका–८ मा सोमबार राति कारसँग ठोक्किएर दुर्घटनाग्रस्त कार । जसमा ५ जनाको मृत्यु भएको थियो

१० असोज, काठमाडौं । दशैं नजिकिएसँगै लामो दुरीका सवारी साधनमा यात्रुको चाप बढ्न थालेको छ । यो सडक दुर्घटनाको भय बढ्ने समय पनि हो ।

पूर्व–पश्चिम राजमार्गअन्तरगत नवलपरासीमा सोमबार राति भएका दुई सडक दुर्घटनामा ६ जनाले ज्यान गुमाए । खरकट्टा जंगलमा रोकिराखेको ट्रकमा तीव्र गतिमा आएको कार ठोक्किँदा ५ जनाको मृत्यू भएको थियो । राति नै अरुणखोलामा चालक निदाएका कारण बस पल्टिँदा एक जनाको मृत्यु भयो भने ३९ जना घाइते भए ।

कारण विभिन्न भए पनि विगतदेखिको तथ्यांक हेर्दा दशैंको छेकोमा सवारी दुर्घटनाको क्रम बढ्ने गरेको पाइन्छ । राजमार्गमा मात्रै हैन, ग्रामीण सडकमा पनि दुर्घटनाको जोखिम उच्च हुन्छ । दशैं मनाउनका लागि आफ्नो गन्तव्यमा पुग्न हतारिएका यात्रुहरु दुर्घटनाको शिकार बन्ने क्रम बढिरहँदा यसको न्यूनीकरणमा सरकारले ठोस कदम चाल्न सकेको छैन । यसपालि पनि सडक दुर्घटना रोक्न खासै कार्ययोजना सरकारसँग देखिँदैन ।

किन बढ्छ दुर्घटना ?

दशैंमा दुर्घटना बढ्नुका प्रमुख दुई कारण छन् । यो बेलालाई यातायात व्यवसायीले उच्च आम्दानी गर्ने सिजनका रुपमा लिन्छन् । सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु बोक्छन् । भित्र गुन्द्रुकजस्तो यात्रु खाँद्ने, ढोकामा झुण्याउने मात्र होइन, छतमा पनि खुट्टा राख्ने ठाउँ हुँदैन । यसरी क्षमताभन्दा बढी यात्रु ओसार्नु नै दुर्घटनाको पहिलो कारण हो ।

दोस्रो कारणचाहिँ सवारीसाधनको उच्च गति हो । धेरै कमाउने धुनमा एउटै गाडीले पटक–पटक ट्रिप गर्ने गर्छन् । यसो गर्दा चाँडोभन्दा चाँडो गन्तव्यमा पुगेर फर्किने दबाव हुन्छ र चालकले स्पिड बढाउने गर्छन् ।
एउटै चालकले लामो समय गाडी चढाउनु दुर्घटनाको अर्को कारण हो । राति र दिउँसो एउटै चालकले लगातार चलाउँदा निद्रा नपुगेर उनीहरु गाडीमै उँघ्न सक्छन् । कतिपयले चाहिँ आफू केहीबेर आराम गरेर सहचालकलाई पनि चलाउन दिन्छन् । यसले गर्दा पनि दुर्घटनाको जोखिम बढ्छ ।

दशैं मनाउनका लागि आफ्नो गन्तव्यमा पुग्न हतारिएका यात्रुहरु दुर्घटनाको शिकार बन्ने क्रम बढिरहँदा यसको न्यूनीकरणमा सरकारले ठोस कदम चाल्न सकेको छैन

यसवाहक सडकको जीर्ण अवस्था, पहिरो खस्ने, मापसे गरेर सडक चलाउनु जस्ता नियमित कारणहरु त छँदैछन् ।

विभागलाई अरुको आश

यातायात व्यवस्था विभागले हरेक दशैंमा कर्मकाण्डकै रुपमा चालक र सहचालकलाई परिचयपत्रको व्यवस्था गर्न, लामो दूरीमा आलोपालो चलाउने गरी चालक राख्न तथा छतमा यात्रुको झिटीगुण्टाबाहेक व्यावसायिक सामान नराख्न निर्देशन दिने गरेको छ । तर, यसको पालना भए–नभएको प्रभावकारी अनुगमन हुँदैन ।

यो वर्ष पनि विभागले दशैंमा सुरक्षित यात्रा लागि भन्दै व्यवसायीलाई निर्देशन पनि दिएको छ । राजमार्ग तथा सहायक मार्गहरुमा निगरानीको दायित्व विभागको हो । तर, ग्रामीण सडकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको जिम्मेवारी हुन्छ ।

प्रमुख जिल्ला अधिकारीहरुले ग्रामीण सडकमा चल्ने सवारी र बाटोको अवस्था राम्रोसँग हेरेर चल्ने अनुमति दिए दुर्घटना कम हुन सक्छ । तर, जिल्ला स्तरमा पनि दुर्घटना रोक्ने गरी कुनै कार्ययोजना बनेको छैन । प्रदेश २ सरकारले भने आफ्नो क्षेत्रको राजमार्गमा टाइम कार्ड लागू गरेर प्रयत्न थालेको छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमाल यो वर्ष गृह प्रशासनले राजमार्गसहित सबै सडकहरुमा सवारी तथा सडक सुरक्षाका लागि प्रभावकारी काम गर्न लागेको बताउँछन् ।

‘गृह मन्त्रालयलाई ग्रामीण सडकमा अनुगमन, निगरानी र कारवाही बढाउन आग्रह गरेका छौं, राजमार्गमा टाइम कार्ड लगाउनेदेखि लामो दूरीमा ड्राइभर फेर्नेसम्मका काममा प्रहरीले सक्रियता देखाउँदैछ,’ उनले भने, ‘सबै स्थानीय तहलाई पनि आफ्नो क्षेत्रमा जाने सवारीमा ओभरलोड लगायतको अनुगमन गर्न आग्रह गरेका छौं । हाम्रा प्रदेशस्थित यातायात कार्यालय पनि सक्रिय छन् ।’

महानिर्देशक हमालले यो वर्ष दुर्घटना रोक्न प्रदेश सरकार पनि अग्रसर भएकाले परिणाम राम्रो आउनेमा आशावादी छन् । उनका अनुसार प्रदेशका मुख्यमन्त्रीले पनि यसबारे चासो राखेर सरोकारवालासँग बैठक गरिरहेका छन् ।

नियमानुसार ग्रामीण सडकमा रुट इजाजत जिल्ला प्रशासन कार्यालयहरुले नै दिन्छन् । तर, वर्षायाममा बिग्रिएर जोखिमयुक्त बनेका सडकको अध्ययन नै नगरी बस चल्न अनुमति दिँदा दुर्घटना बढ्ने गरेको छ । यात्रु र यातायात व्यवसायीले पनि जिम्मेवारी पूरा नगरेको सरकारी अधिकारीहरुको आरोप छ ।

दशैंंमा किनमेल गर्न बजार पुग्ने, बाहिर रहेकाहरु घर फर्किने र टीका थाप्न आफन्तकोमा आउ–जाउ गर्नेहरुको चाप सार्वजनिक सवारीमा पर्छ ।

सबैको आफ्नै तर्क

जसरी पनि घर पुग्ने यात्रुको आकांक्षा र बढिभन्दा बढी कमाउने व्यवसायीको मनसायले दुर्घटना बढाइरहेको निष्कर्ष उपभोक्ता अधिकारवादीको छ ।

छतमा सामान र यात्रु राखिएको तथा ढोकासम्मै झुण्ड्याएर यात्री कोचिएको दृश्यलाई प्रहरी र ट्राफिक प्रहरीले चाडबाडमा सामान्यरुपमै लिन्छन् । त्यसमा कडाई गर्दा धेरै यात्रुहरुले आफ्नो गन्तव्यमा पुग्न नपाउने कुरालाई पनि नजरअन्दाज गर्न सकिँदैन ।

तर, ट्राफिक नियम मिच्नेलाई पनि व्यवहारिकता हेर्ने नाममा कारवाही नगर्दा निम्तिन सक्ने ठूलो दुर्घटनामा राज्यपक्ष र प्रहरी सचेत नदेखिएको उपभोक्ताकर्मी रामबहादुर थापा बताउँछन् ।

‘ट्राफिकले आँखा चिम्लिदिन्छ । सिट क्षमताभन्दा बढी यात्रु राख्न खुलेआम छुट दिइन्छ,’ उनले भने, ‘प्रहरी र प्रशासन कडारुपमा प्रस्तुत नभएसम्म दुर्घटना घट्दैन ।’

व्यवसायीले यो समयमा चालकलाई लगातार लामो समयसम्म ड्राइभिङ गराउने र सवारीको प्राविधिक जाँचमा बेवास्ता गर्दा पनि दुर्घटना बढ्ने गरेको छ ।

यातायात व्यवसायी भने सडकको दूरावस्थालाई कारक बताउँछन् । सडकका खाल्डा पुर्ने, आवश्यक स्थानमा ट्राफिक संकेत राख्ने र छेकबार लगाउने कुरामा विभागको ध्यान नपुग्दा समस्या भएको उनीहरुको दाबी छ ।

‘राजमार्गहरुको दुरावस्था छर्लङ्ग छ, ग्रामीण सडकहरुको हालत झन खराब छ,’ यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भन्छन् ।

दुर्घटनाको दोष व्यवसायीमा थोपरेर सरकार जिम्मेवारीबाट पन्छिइरहेको उनको आरोप छ । ‘सरकारले पुराना प्रतिवेदन पल्टाएर हेरोस्, त्यसैबाट बढी दुर्घटनाका कारण प्रष्ट हुन्छन्,’ उनी भन्छन् ।

ट्राफिक प्रहरीको निष्कर्ष भने मादक पदार्थ सेवन गरेर सवारी हाँक्ने र अधिक भार हुँदा पनि यात्रु कोचिने गर्दा चाडबाडमा दुर्घटना बढेको भन्ने छ । मापसे जाँचमा ट्राफिकले मुलुकभर कडाइ अपनाएको देखिन्छ । ग्रामीण सडकमा भने ट्राफिक प्रहरीकै पहुँच छैन । जिल्ला सदरमुकामहरुमै पर्याप्त संख्याका ट्राफिक प्रहरी तैनाथ छैनन् ।

अझ राजमार्गमा चल्न अयोग्य सवारी साधन ग्रामीण सडकमा पुर्‍याइएका छन् । थोत्रिएका सवारी साधनको नियमित जाँचमा व्यवसायीले बेवास्ता गर्दै आएका छन् ।

प्राविधिक गडबडीले थोत्रा सवारीलाई कतिबेला भीरको दिशातिर बंग्याउँछ भन्ने ठेगान हुँदैन । ग्रामीण सडकमा चालकले नभई सहचालकले गाडी हाँकिरहेका छन् । ट्राफिक प्रहरी नहुने भएकाले रोक्ने कोही हुँदैन ।

एकसाथ ठूलो जनसंख्या चलायमान हुने समयमा सवारी साधन नथपिने अर्को समस्या छ । सोही कारण कमजोर सवारी साधनमा अत्यधिक भार पर्न जान्छ । दशैंमा हुने दुर्घटनाको कारण यही भएको उपभोक्ताकर्मी थापाको भनाइ छ ।

विभागमा महानिर्देशक हमाल भने यो वर्ष सवारीमा सिट क्षमताभन्दा बढी यात्रु बोक्न नदिइने बताउँछन् । उनका अनुसार ट्राफिक प्रहरीलाई यसमा अनुगमन गर्न जिम्मेवार बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment