Comments Add Comment

छापामा आज : अनुपस्थित सांसदको पद जोगाइदिँदै सभामुख

१२ असोज, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । कुनैले बढ्दो महँगीमामथि नजर लगाएका छन् भने केहीले अपराध, उपसभामुखका गुनासालगायत विषयलाई समेटेका छन् ।

नागरिकले ‘अपराधमा बदलिँदो शैलीः प्रविधि नै हतियार’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । समाचार अनुसार, पछिल्लो समय प्रविधि नै अपराधको मुख्य कारक बनेको छ ।

‘अपराधी पत्ता लगाउन अनुसन्धानमा सघाइरहेको प्रविधि नै आपराधिक क्रियाकलाप बढाउने गिरोहलाई सघाउने माध्यम बनेको छ । प्रविधि अपराधीको हतियारका रूपमा प्रयोग हुन थालेपछि त्यसले प्रहरी अनुसन्धानमा समेत चुनौती थपेको छ’, नागरिकले आफ्नो रिपोर्टमा लेखेको छ ।

संसदमा लगातार अनुपस्थित सांसद्माथि कारबाही गर्नुपर्ने भए पनि सभामुख कृष्णबहादुर महराले उदासीनता देखाएको अर्को खबर पनि नागरिकमा छ ।

‘अनुपस्थित सांसदको पद जोगाइदिँदै सभामुख’ शीर्षक समाचारमा नागरिकले लेखेको छ–संसद्को बर्खे अधिवेशन अवधिमा लगातार दस दिनभन्दा बढी १५ जना सांसद् अनुपस्थित भएका छन् । संविधानको धारा ८९ को खण्ड (घ) मा कुनै पनि संघीय संसद्को सदस्य सम्बन्धित सदनलाई सूचना नदिई लगातार दसवटा बैठकमा अनुपस्थित रहेमा संसद् सदस्यता रिक्त हुने उल्लेख छ । तर बिना सूचना लामो समय अनुपस्थित सांसदलाई पनि अहिलेसम्म कुन कारबाही भएको छैन ।

जिल्ला भ्रमण, विदेश भ्रमण, घरायसी काममा व्यस्त रहेकाले उपस्थित हुन नसकेको भन्ने जानकारी दिएको भन्दै उनीहरुको अनुपस्थितिलाई सदर गरेको छ । तर, प्रायः सांसद् संसदर्लाइ बेवास्ता गर्ने गरेकै कारण अनुपस्थित हुने गरेको नागरिकको ठम्याइ छ ।

कान्तिपुरले महिला उपसभामुखका गुनासालाई आज मुख्य समाचारका रूपमा प्रस्तुत गरेको छ । समाचार अनुसार, अधिकांश उपसभामुखले अधिकार दिन कन्जुस्याइँ गरेको भन्दै असन्तुष्टि जनाएका छन् । संविधानको प्रावधानविपरीत संसद् नियमावली बनाइएकामा पनि उनीहरू बेखुस छन् ।

परराष्ट्रमन्त्रीले राष्ट्रसंघ महासभामा संक्रमणकालीन न्याय टुंग्याउने भनेर जनाएको प्रतिबद्धता र बाघका बदलिँदो आनीबानीबारे पनि कान्तिपुरले पहिलो पृष्ठमा सामग्री छापेको छ ।

अन्नपूर्णको नजर बजारको महँगी र दशैंखर्चमाथि परेको छ । अन्नपूर्णका अनुसार, बजारमा जे छोयो त्यही महँगो भएको छ ।

राजधानीले अधिकांश मन्त्रालयको कार्यसम्पादन कमजोर रहेको लेखेको छ भने सरकारी मुखपत्र गोरखापत्रले काठमाडौंका नौ बन्न लागेको सुन्दर पार्कबारे मुख्य समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment