Comments Add Comment

खुला दिसामुक्त देश घोषणामा प्रधानमन्त्रीले सम्झिए जेलको चर्पी

‘समाजमा आम्दानी बिनाको मानिस नहोस्’

१३ असोज, काठमाडौं । सोमबारबाट नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जेल बस्ताको चर्पी सम्झिए ।

‘म बसेको एउटा सानो कोठा थियो । त्यसकै छेउमा एउटा शौचालय थियो । लाइनै बस्नुपर्थ्यो शौच गर्न । त्यस्तो अवस्थाबाट हामीले एउटा कोठा खाली गरेर शौचालय बनायौं’ सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा उनले भने ।

प्रधानमन्त्री ओलीले २०३० सालदेखि लगातार १४ वर्ष जेल जीवन बिताएका थिए । जेलमध्ये पनि कठोर यातना दिने ‘गोलघर’मा राखेको बेलाको शौचालय सम्झना उनले सुनाएका हुन् । आफू जेलमा हुँदा जेलभित्र शौचालय भए पनि गाउँघरमा कतै नभएको प्रधानमन्त्री ओलीले सुनाए । त्यो अवस्थाबाट अहिले खुला दिसामुक्त देश हुनु ठूलो उपलब्धी भएको उनले बताए ।

प्रधानमन्त्री ओलीले खुला दिसामुक्त राष्ट्र घोषणा भएपछि नेपालीको सरदर आयु बढ्ने विश्वास व्यक्त गरे । ‘स्वस्थ जीवनका लागि यो कदम महत्वपूर्ण छ । बालबालिकाको मृत्युदर घट्छ, नेपालीको सरदर आयु लम्बिन्छ’ प्रधानमन्त्री ओलीले भने ।

सभ्य समाज निर्माणका लागि खुला दिसामुक्त राष्ट्र घोषणा गरेर मात्रै नपुग्ने भन्दै उनले पूर्ण सरसफाइमा ध्यान दिनुपर्ने बताए । त्यसका लागि सरकारले सुनौलो हजार दिन कार्यक्रममार्फत गर्भ देखिनै, जन्मिएपछि परिवारमा, विद्यालय गएपछि विद्यालयमा हुनुपर्ने सरसफाइलाई ध्यान दिइरहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले चिटिक्कको नेपाल बनाउने यात्रामा सरकार रहेको पनि बताए । उनले भने, ‘बाटाहरु चिटिक्क, सडक छेउछाउ चिटिक्क, घर वरपर चिटिक्क, खेतहरु लहलह, पहाडहरु चिटिक्क बनाउन चाहन्छौं । हामी त्यस दिशातर्फ अग्रसर छौं ।’

यस्तै नेपाल २/३ बर्षभित्र अल्पविकसित राष्ट्रबाट माथि उठ्ने उनको दावी छ । अल्पविकसित राष्ट्रबाट माथि उठ्नका लागि गरीबीबाट माथि उठ्ने, निरक्षरता समाप्त पार्ने, प्रतिव्यक्ति आम्दानी माथि उठाउने जस्ता योजनाहरु कार्यान्वयनमा रहेको प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

‘समाजमा कोही पनि आम्दानीबिनाको मानिस नहोस्, बेरोजगार नहोस् भन्नेमा सरकार सजकताका साथ अगाडि बढिरहेको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment