Comments Add Comment

बेलकोटगढीमा बन्ने प्रसारण लाइनको लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु

१५ असोज, काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिकामा निर्माणाधीन ४०० केभीको विद्युत् प्रसारण लाइन निर्माणका लागि सरकारले जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, नुवाकोटले आयोजनाका लागि आवश्यक पर्ने साविक रातमाटे गाविसको वडा नं. ६ र ९ का जग्गाधनीहरूको जग्गा अधिग्रहणका लागि प्रक्रिया अघि बढाएको हो ।

आयोजना निर्माणका लागि जग्गा आवश्यक परेकाले जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ को उपदफा १ बमोजिम बेलकोटगढी नगरपालिका–७ (साविक रातमाटे गाविस वडा नं. ६ र ९) को जग्गा अधिग्रहण प्रक्रिया थालेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ को उपदफा १ मा आयोजना निर्माणका लागि व्यक्तिको जग्गा आवश्यक परेमा त्यस्ता जग्गाहरू अधिग्रहण गर्नुपर्ने प्रावधान छ ।

नियमानुसार १९३ जग्गाधनीको नाम सार्वजनिक गरेको प्रशासनले ३५ दिनभित्र प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा मुआब्जाका लागि आवेदन दिन आग्रह गरेको छ । नियमानुसार मुआब्जाका लागि दाबी नगरेमा कानूनअनुसार हुने पनि कार्यालयले प्रष्ट पारेको छ ।

बेलकोटगढी नगरपालिका–७ मा निर्माणाधीन अवस्थामा रहेको आयोजना ४०० केभी क्षमताको हुनेछ ।
यो पनि पढ्नुहोस आयो अमेरिकाको ५१ अर्ब लगानी, सडकसँगै ४ सय केभीको ट्रान्समिसनलाइन बन्ने

विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न नेपाल विद्युत् प्राधिकरणले देशभर नै प्रसारण लाइन निर्माण गरिरहेको छ । यही योजनाअन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए नेपाल) ले नुवाकोटमा प्रसारण लाइन निर्माण गर्न लागेको हो ।

विद्युत प्रसारण लाइन र सडक योजनाका लागि अमेरिकी सरकारी निकाय मिलेनियम च्यालेन्जसँग ५१ अर्ब ३८ करोड रुपैयाँ सहायता स्वीकार गर्ने निर्णय यसअघि सरकारले गरेको थियो । यो परियोजनाबाट नेपालमा पहिलोपटक ४ सय केभी क्षमताको ३ सय किलोमिटर लामो प्रसारण लाइन बनाइने छ ।

यस योजनाबाट लप्सीफेदी–गल्छी, गल्छी–दमौली, गल्छी–हेटौंडा, दमौली–सुनवल गरी चार खण्डमा प्रसारणलाइन निर्माणको योजना अघि सारिएको छ । साथै विभिन्न स्थानमा सब–स्टेशन पनि बनाइने छ । यो प्रसारण लाइन नेपाललाई यहाँ उत्पादित जलविद्युत् भारतलगायतका देशमा निर्यातको मार्ग दिनेछ । आयातमा पनि यसले बाटो खोल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment