Comments Add Comment

अस्तव्यस्त सडकले विराटनगरको दशैं बजार प्रभावित

१५ असोज, विराटनगर । ढल तथा नाला निर्माणका लागि खनिएको सडकको काम समयमा नै सम्पन नहुँदा दशैंमा विराटनगरको मुख्य बजार भद्रगोल बनेको छ । मुख्य सडकको कामका लागि समयमा नै चासो नदिँदा दशैंमा बजारको अवस्था भद्रगोल बनेको हो ।

विराटनगर महानगरपालिकाले गत फागुनमा आयोजित साफ च्याम्पियन्ससीप अघि नै मुख्य बजारको काम सक्ने भन्दै काम थालेको थियो । तर, असोज महिनाको आधा समय बितिसक्दा पनि मुख्य बजारको सडक कालोपत्रे गर्ने टुंगो छैन् ।

क्षेत्रीय सहरी विकास परियोजना अन्तरगत निर्माण सुरु भएको सडकका कारण दशैंमा किनमेलका लागि आउने ग्राहक नै नआएको व्यापारीहरु बताउँछन् । स्थानीय व्यापारी आरिफ इराकी सडकले दशैं बजार छेकेको बताउँछन् । ‘सडक भत्काउनु अघि व्यापार राम्रो थियो,’ उनी भन्छन् ‘ सडकले पलायन हुने अवस्था आयो ।’

दशैंमा सिमावर्ती बजार जोगवनी गुल्जार छ । तर विराटनगरको बजार भने सुनसान छ । बजारको अस्तव्यस्त सडककै कारण उपभोक्ता दशैको खरिद गर्न सिमावर्ती बजार जोगवनी पुग्ने गरेको व्यापारीहरु बताउँछन् ।

विराट व्यापार संघका अध्यक्ष सुजन थापा मुख्य बजारमा सडक नहुँदा दशैंको ब्यापार नफस्टाएको बताउँछन् । ‘व्यापारीहरु गाह्रो छ भन्नुहुन्छ,’ थापा भन्छन्, ‘सडकको समस्या अल्पकालिन हो तर भारतीय बजार जोगवनीले गर्दा वर्षाैदेखि समस्या भोग्नु पर्या छ ।’
विराटनगर मात्र होइन सिमावर्ती क्षेत्रको बजारको अवस्था पनि दयानीय रहेको उनले बताए । ‘सस्तोको लोभले उपभोक्ता जोगवनी सम्म पुग्छन्,’  उनी भन्छन्, ‘घाम लाग्दा धुलो पानी पर्दा हिलो भएका कारण व्यापारीलाई समस्या बनाएको छ, तिहारअघि बाटो बनिदिए हुन्थ्यो ।’

नेपाली उत्पादन खरिद गर्न पनि जोगवनी

सिमावर्ती बजार जोगवनी कपडा र खाद्यान्यको मुल्य विराटनगरको भन्दा तुलनात्मक रुपमा सस्तो छ । तर सस्तोको आशमा जोगवनी पुगेका उपभोक्ता नेपाली उत्पादन पनि भारतबाट नै खरिद गरेर ल्याउने गरेको थापा बताउँछन् । ‘नेपालबाटै भारत पुगेका सामाग्री भारतबाट खरिद गरेको देखेको छु ।’ उनी भन्छन् ‘ यहाँको उत्पादन भारतमा महंगो पर्छ । तर उपभोक्ता सचेत नुहँदा ठगिन्छन् ।’ भिड बढी हुने कारण जोगवनीमा उपभोक्ता ठगिने सम्भावना बढी हुने उनको भनाइ छ ।

मोरङ व्यपार संघका अध्यक्ष प्रकाश मुन्दडा उपभोक्तामा सचेत नहुँदा जोगवनीबाट नेपाली उत्पादन खरिद गर्ने बताउँछन् । कपडा केही सस्तो भएपनि अन्य सामानमा उपभोक्ताहरु महंगोमा पर्ने उनले बताए । सेन्ट्रल मलका सञ्चालक समेत रहेका उनी विराटनगरमा खुलेका व्यवस्थित सपिङ मलहरुमा भारतमा भन्दा सस्तो र सुलभ मुल्यमा सामाग्री पाउने बताउँछन् ।

दशैंको मुखमा धमाधम कम

विराटनगर महानगरपालिका भित्रको मेन रोड र सहायक रोडहरु निर्माणको काम तिब्र बनाएको छ । सडक खनिएको करिब आठ महिनापछि कालोपत्रेकालागि काम तिब्र बनाइएको हो । तर दशैंको मुखमा निरन्तर पानी परेपछि मुख्य बजार क्षेत्रको अवस्था भद्रगोल छ ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली दशैं अघि नै सडक निर्माणको काम सक्ने तयारी भएपनि वर्साका कारण काम गर्न असहज भएको बताउँछन् । ‘ हाम्रो योजना दशैंमा मुख्य बजार कालोपत्रे गर्ने थियो ।’ उनले भने ‘ पानी परेका कारण सकिएन् । अब एक महिना भित्र बजारको काम सक्छौं ।’

परियोजनाको म्याद थप गर्ने तयारी

विराटनगर महानगरपालिकामा सञ्चालित क्षेत्रिय सहरी विकास परियोजनाको म्याद थप गर्ने तयारी सुरु भएको छ । ठेकेदार कम्पनीले काम गर्न पाएको म्याद नोभेम्बर पहिलोसाता सकिँदैछ । दुई वर्षे ठेक्काको म्याद एक महिनापछि सकिने भएका कारण तीन महिना म्याद थप गर्ने तयारी सुरु भएको हो ।

क्षेत्रिय सहरी विकास परियोजना अन्तरगत विराटनगर महानगरपालिका भित्रको ७४ किलोमिटर सडक कालेपत्रे, ढल निर्माण र नाला निर्माणको ठेक्का चाइनिज कम्पनी झोङहेङ कन्ट्रक्सन बेजिङले पाएको थियो ।

२ अर्ब ६३ करोड रुपैया लागतमा कम्पनीले सन् २०१७ अक्टोबर १० तारिकमा महानगरपालिकासँग सम्झौता गरी २०७४ मंसिर ११ बाट काम सुरु भएको थियो । मेयर भीम पराजुलीले एसियाली बिकास बैंकको परियोजना भएका कारण उसको आवश्यता अनुसार म्याद थप हुनसक्ने बताए । उनका अनुसार सबै काम सक्न लगभग तीन महिना लाग्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment