Comments Add Comment

बहुमूल्य रक्तचन्दन : भ्रम र वास्तविकता

झण्डै पाँच वर्ष पहिले म वन मन्त्रालयअन्तर्गत वनस्पति विभागको केन्द्रीय कार्यालय राष्ट्रिय हर्बेरियम तथा प्रयोगशालाको उड एनाटोमी सेक्सन (काठको आन्तरिक संरचना अध्ययन गर्ने ठाउँ जहाँ अबैध रुपमा ओसार–पसार गर्दा समातिएका रक्तचन्दन लगायतका काठ तथा काठजन्य वस्तुको वैज्ञानिक परिक्षण पनि गरिन्छ) मा कार्यरत थिएँ । त्यहाँ झापा/मोरङतिरका दुईजना किसान एउटा रुखको फोटो र फलसहितको हाँगा लिएर पहिचानका लागि म कार्यरत ल्याब गोदावरी आउनुभयो । उहाँहरुको जिज्ञासा थियो – यो बोट रक्तचन्दन हो कि होइन ?

आफ्नो ज्ञानले भेटेसम्म मैले अध्ययन गरें र कार्यालयका तर्फबाट रिपोर्ट दिएँ कि उहाँहरुले ल्याएको बोट वा फल रक्तचन्दन हैन ।

उहाँहरु मध्ये एकजना पसिना–पसिना हुनु भो । कारण ( रक्तचन्दन भनेर उहाँले केही जग्गामा त्यो बिरुवाको खेती गरिसक्नुभएको रहेछ र अरु धेरै जग्गामा खेती गर्ने तयारी हुनुहुँदोरहेछ । अर्को एकजना चाहिँ खेती गर्नपूर्व खेती गर्ने तरिका र मूल्य लगायतका कुरा बुझ्न आउनुभएको रहेछ ।

उहाँहरुले ल्याउनुभएको नमूना रक्तचन्दनकै एउटै परिवारको अर्को बिरुवा थियो (जसको तल व्याख्या गरिएको छ) खेती गर्ने व्यक्तिले भन्नुभो – सर म बर्बाद भएँ, म मात्र हैन, मजस्ता धेरै साथीहरु बर्बाद हुने भए । यो हैन भने सक्कली रक्तचन्दन कुन हो ? रक्तचन्दनको बोट कस्तो हुन्छ सर ?

उहाँलाई मैले जानेको पूरा जानकरी दिएर पठाएँ ।

यो बीचको चार बर्ष म पीएचडीका लागि चीन गएँ । चीनमा थोरै– धेरै रक्तचन्दनको प्रयोगको बारेमा भेटेसम्म जानकारी लिएँ । तर, त्यसैमा फोकस चाँहि भइनँ । किनकि त्यो मेरो पीएचडी अध्ययनको विषय थिएन ।

अध्ययन पश्चात नेपाल फर्केपछि हाल कार्यरत कार्यालय राष्ट्रिय वनस्पति उद्यानबाट बिरुवा तथा बिउ संकलनका लागि चितवन तथा नवलपुरतिर जाने मौका मिल्यो । तर, त्यहाँ पुग्दा उही पाँच बर्ष पुरानो घटना याद आयो ।

त्यहाँ पनि एकजना स्थानीय दाइकहाँ रक्तचन्दनको बोट छ भनेर मान्छेहरु हेर्न आउने र बिउसमेत लिएर जाने गरेको देखेँ । बिरुवा हेर्दा त्यही थियो, जुन पाँच बर्ष पहिला मैले रक्तचन्दन हैन भनेर पहिचान गरेको थिएँ ।

मैले सोचेँ, यो भ्रम अझै बाँकी रहेछ र यो भ्रम चिर्न धेरै ढिला भइसकेछ ।

अनि बन्यो आजको यो आलेखको शीर्षक– बहुमूल्य रक्तचन्दन : भ्रम र वास्तविकता । यो आलेखमा रक्तचन्दनजस्तै देखिने तथा नाममात्र उस्तै भएका बिरुवा र वास्तविक रक्तचन्दनका बारेमा सामान्य जानकारी दिने प्रयास गरेको छु ।

यी बिरुवासम्बन्धी थप जानकारी तपाईंको गाउँठाउँ नजिकैका डिभिजन वन कार्यालयमा, नगरपालिका र गाउँपालिकास्थित वन तथा वातावरण शाखा वा अझै प्रजाति पहिचानसहितको गहिरो ज्ञान आवश्यक परेमा वनस्पति विभाग थापाथली, राष्ट्रिय हर्बेरियम गोदावरी, विभिन्न जिल्लास्थित वनस्पति अनुसन्धान केन्द्रहरुबाट पनि लिन सकिन्छ । यस पंक्तिकारको व्यक्तिगत सल्लाह सुझाव आवश्यक परेमा पंक्तिकार कार्यरत कार्यालय राष्ट्रिय वनस्पति उद्यान गोदावरीमा पंक्तिकारबाटै पनि थप जानकारी पाउन सकिन्छ ।

यहाँ रक्तचन्दन र योसँग नाम वा बिरुवाको बनोट मिल्ने केही मुख्य बिरुवाका बारेमा चर्चा गरिएको छ।

१) नेपाली रक्तचन्दन (रक्चन)

वैज्ञानिक भाषामा डेफ्नेफाइलम हिमालयन्स भनिने यो बोटलाई नेपाली रक्तचन्दन पनि भनिन्छ । तर, वास्तविक रक्तचन्दन नेपालमा नपाइने हुँदा योसँग झुक्किन पर्ने कुनै कारण छैन ।

काठ हल्का रातो हुने भएकाले मात्रै यसलाई रक्चन वा रक्तचन्दन भनिएको हुनुपर्छ । यो र वास्तविक रक्त चन्दनको वानस्पतिक परिवारसमेत फरक–फरक भएकाले यिनीहरुलाई सजिलै छुट्टाउन सकिन्छ । (तल फोटोमा हेर्नुस्) ।

यो नेपालको सामुन्द्रिक सतहबाट २०००–२८०० मिटरको उचाइमा पाइन्छ । यो बहुमूल्य काठ दिने रुख पनि हैन र यसको प्रयोग स–साना घर निर्माण तथा अन्य काठका अवयवहरु बनाउन प्रयोग गरिन्छ ।

२) इन्डियन रक्चन र नक्कली रक्तचन्दन

वैज्ञानिक भाषामा एडेनेनथेरा पाभोनिना भनिने यो बोटलाई भारतमा रक्चन वा नक्कली रक्तचन्दन पनि भनिन्छ र वास्तविक रक्त चन्दनसँग झुक्किने वा झुक्याएर फल, बिउ वा काठ बेचिने बिरुवा पनि यही नै हो । माथि उल्लेख गरिएको नेपालको पूर्वतिर खेती गरिएको भनिएको बिरुवा पनि यही हो ।

वास्तविक रक्त चन्दनसँग वानस्पतिक परिवार (फेबेसी वा लेगुमिनोसी) समेत एउटै भएकाले पहेंलो फूल तथा बिउ झन्डै झन्डै मेल खाने रातो हुने हुँदा एवम काठ हल्का रातो हुने भएकाले यसलाई रक्तचन्दन वा रेड सेन्डल उड भनेर धेरैलाई झुक्काउने गरेको पाइएको छ ।

भारतका सीमा आसपासका किसान तथा भारत घुम्न जानेहरु यसबाट बढी ठगिएको पाइएको छ । यो भारतको सामुन्द्रिक सतहबाट १२ सय मिटरसम्मको उचाइमा पाइन्छ । भारतको सिक्किम, आसामलगायत अन्य भेगमा पनि पाइन्छ ।

नेपालमा प्राकृतिक अवस्थामा पाइँदैन । कहीँ, कतै झुक्किएर रोपिएको पाइएको छ । यसको काठ बलियो हुन्छ र घर निर्माण, फर्निचर तथा खेलौना लगायतका अन्य अवयवहरु बनाउन प्रयोग गरिन्छ ।

बाहिरबाट हेर्दा रक्तचन्दनसँग मुख्य फरक भनेको यसको पात हो । यो रुखको पात रक्तचन्दनको भन्दा धेरै सानो हुन्छ (फोटोमा हेर्नुहोला) अनि काठ रक्तचन्दनको जस्तो गाढा रातो हुँदैन र फल पनि सानो हुन्छ । यसको बिउ भुटेर पनि खाने गरिन्छ ।

३) वास्तविक रक्त चन्दन

वैज्ञानिक भाषामा टेरोकार्पस सान्टालिनस भनिने यो बिरुवा दक्षिण भारतमा सामुन्द्रिक सतहदेखि १ हजार मिटरसम्म पाइन्छ । यसका साथै पाकिस्तान र श्रीलंकामा पनि रक्तचन्दन पाइन्छ ।

रक्तचन्दनलाई साइटिसको अनुसुची २ मा तथा आइयुसीएन रेड लिस्टको थ्रेटन क्यटागोरीमा पनि राखिएको छ । यसको काठ बलियो हुन्छ फर्निचर तथा खेलौना (माला, ब्रासलेट, धुपौरो, घडी लगायात अन्य अन्य अवयवहरु बनाउन पनि प्रयोग गरिन्छ । काठको बास्ना मिठो हुन्छ, त्यसैले यसको तेल विभिन्न स्याम्पु, पर्फ्युम लगायतमा पनि प्रयोग गरेको पाइन्छ । यसको काठको धुलो श्वास–प्रश्वास, दम लगायतका विभिन्न औषधीहरुमा समेत प्रयोग गरिन्छ ।

चीनमा हुनेखाने वर्गले फर्निचर बनाउन यसको प्रयोग गर्छन् । घरमा रक्तचन्दनको फर्निचर हुनुलाई शानको रुपमा लिइन्छ । त्यसै गरी ठूला र र महंगा होटेलहरुले जाडो याममा कोठा न्यानो गराउन वा तातो दिएर बास्नादार गराउन पनि रक्तचन्दनको प्रयोग गरेको पंक्तिकार स्वयं साक्षी बनेको थियो कुनै बेला ।

यसको भित्री काठ गाढा रातो हुन्छ र फल पनि रातो नै हुन्छ । रक्तचन्दनको काठको मूल्य बजारमा प्रतिकिलो १५ देखि २० हजारसम्म छ । त्यसैले, यसको खेती गर्न मान्छे लालायित हुन्छन् । तर, यसको काठ बेच्ने हुन १५/२० बर्ष लाग्ने हुँदा नगदेबाली जस्तो तत्काल नाफा लिन सकिँदैन ।

गर्मी ठाउँँमा तराईका सरकारी तथा सामुदायिक बनका खोला छेउछाउ र मार्जिनल ल्याण्डहरुमा सामुन्द्रिक सतहदेखि १००० मिटर सम्म रक्तचन्दन वा आ–आफ्नो बासस्थान अनुसार यो जस्तै बहुमूल्य काठ दिने रुखहरु लगाउन सकियो भने भविश्यमा देशका लागि एउटा राम्रो आम्दानीको स्रोत हुन सक्छ ।

स्वर्गजस्तो देशमै परिवारसँग बसेर स्वदेशमै केही काम गरौं भन्नेहरु र गरिरहेकाहरु पनि धेरै छन् नेपालमा । धेरै विकल्पमध्ये जडीबुटी खेती, फलफूल, तरकारी खेती वा यस्तै आर्थिक महत्वका अफ्रिकन ब्ल्याक उड, अगार उड, चन्दन, रक्तचन्दन, रुद्राक्ष, बोधिचित्त, जस्ता बिरुवा रोपाइ पनि एउटा विकल्प हुन सक्छ ।

तर, खेती गर्नुअघि यसको वास्तविक पहिचान, खेती प्रविधि, लगानीका लागि लाग्ने खर्च, सम्बन्धित निकायले दिने अनुदान, आय सुरु हुने अनुमानित समय, सम्भावित बजार, सम्भावित वार्षिक फाइदा अनि खेती सुरु गरेदेखि बेच्ने बेलासम्म विभिन्न चरणमा पूरा गर्नु पर्ने तथा आइपर्ने कानुनी प्रकृया तथा अड्चनहरुका बारेमा राम्रोसँग बुझेर मात्रै सुरु गरियो भने पछि पछुतो हुँदैन ।

( चाइनिज एकेडेमी अफ साइन्सेस चाइनाबाट पीएचडी सकेर नेपाल फर्केका डा.पाठक राष्ट्रिय वनस्पति उद्यान गोदावरीमा उद्यान अधिकृत तथा सूचना अधिकारीका रुपमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment