Comments Add Comment

महावीर पुनको ‘आविष्कार केन्द्र’

१४ असोज, काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयभित्र एउटा भवनमा बिहानदेखि रातिसम्मै ठाकठुक–ठाकठुक,र्‍याइँ–र्‍याइँ रुँइ–रुइँको आवाज आइरहन्छ । सुन्दा कहिले फर्निचर कम्पनी हो कि जस्तो लाग्छ त कहिले मोटर ग्यारेजजस्तो । विश्वविद्यालयभित्र उद्योगमै जसरी काम भइरहेको यो भवनमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ रहेको छ ।

राष्ट्रिय आविष्कार केन्द्र महावीर पुनको परिकल्पना हो । यो नेपाली युवाका लागि आविष्कार गर्न दिने ‘प्लेटफर्म’का रुपमा उनले नै स्थापना गरेका हुन् । यो केन्द्र सञ्चालनका लागि उनले केही वर्षयता आर्थिक सहयोग संकलन गर्दै आएका छन् ।

आविष्कार केन्द्रमा अहिले १८ भन्दा प्रोजेक्टहरु चलिरहेका छन् । आविष्कार र नवप्रवर्तनको प्रयासमा यहाँ युवाहरु साँझ विहान नभनी काम गरिरहेका छन् । यही काम गर्ने क्रममा कहिले उनीहरु मेसिन चलाउँछन त अहिले हम्बर पिट्छन् । आविष्कार केन्द्रमा कार्यरत उनीहरु यहाँ आफैं इन्जिनियर पनि हुन्, कामदार पनि ।

साँघुरो घेरा

आविष्कारको प्रयोगमा गर्नुपर्ने सबै प्राविधिक काम उनीहरु आफैं गर्छन् । एकले अर्कालाई सघाउँछन् । राष्ट्रिय आविष्कार केन्द्रको भवन निकै साँघुरो छ । त्रिभुवन विश्वविद्यालयले उपलब्ध गराएको जमिनमा आविष्कार केन्द्रको भवन छ । यो भवनको अगाडि पानी पर्नासाथ हिलो भरिन्छ । वरपर झाडी छ । परिसर सफा पनि छैन ।

भवनको लबीमा काठ टुक्र्याउनेदेखि फलाम काट्नेसम्मका मेसिन भवन, यन्त्र उपकारण र सरसामान छन् । झट्ट हेर्दा यो कुनै ग्रिल कम्पनी वा फर्निचर कारखाना जस्तो पनि लाग्छ । भवनको बाहिर रहेको थोत्रो गाडीको मुनि पसेर काम गरिरहेका युवको समूह देख्दा ग्यारेजकै झल्को पनि आउँछ ।

भवनभित्र र बाहिर फलामका डन्डी र काठहरु थुप्रो लगाइएका छन् । विभिन्न औजार तथा उपकरण भित्तामा झुन्ड्याएका छन् । धेरै जसो सामान अलपत्र जस्तै देखिन्छन् ।

सिक्ने र प्रयोग गर्ने थलो

मोहित केसी राष्ट्रिय आविष्कार केन्द्रका इलेक्ट्रिकल इन्जिनियर हुन् । उनी यहाँ चलिरहेका विभिन्न आविष्कारको प्रोजेक्टमा विद्युतसम्वद्ध विषयमा सबैलाई सहयोग गर्छन् । उनी आफैं पनि त्यो प्रोजेक्टको एउटा हिस्सा बनेर काम गर्छन् ।

भारतको बैंगलोरमा इन्जिनियरिङ सकेर फर्किएपछि उनी ४ महिना अघिबाट आविष्कार केन्द्रमा आएका हुन् । यहाँका विभिन प्रोजेक्टमा फरक–फरक खालका विद्युतीय सवालको समाधान खोज्न पाएकोमा उनलाई निकै खुसी लागेको छ ।

‘कुनै एउटा कम्पनीमा काम गरेको भए तोकिएको जिम्मेवारी मात्रै पुरा गर्न पाइन्थ्यो, यहाँ त यहाँ फरक–फरक प्रोजेक्टका फरक–फरक प्रयोगहरुमा आफ्नो ज्ञान लगाउने र बढाउने अवसर मिलेको छ,’ उनी भन्छन्,‘यो हामी जस्ता युवाका लागि निकै ठूलो अवसर हो ।’
उनको भनाइमा नयाँ आइडिया लिएर नयाँ–नयाँ प्रयोगहरु गर्दा आफ्नो ज्ञानको तह पनि बढ्दै गएको छ । यसले भविष्यमा अर्थपूर्ण आविष्कार र नवप्रर्तनमा सहयोग गर्ने केसीको भनाइ छ ।

आविष्कार केन्द्रमा अहिले सेलरोटी बनाउने मेसिनदेखि औषधी बोक्ने ड्रोनसम्म बन्दैछन् । औषधी बोक्ने ड्रोनको प्रोजेक्ट लगभग अन्तिम चरणमा छ । केही प्राविधिक समस्या हल हुनासाथै तिहारपछि म्याग्दी र मकवानपुरमा औषधी बोकर गाउँ जाने ड्रोनको परीक्षण गरिने केन्द्रका संस्थापक महावीर पुनले जानकारी दिए ।

‘गाउँघरमा ड्रोनबाट औषधी पठाउने परिकल्पना नेपाली युवाकै हो, आविष्कार केन्द्रले त्यसलाई सघाएको हो,’ पुनको दाबी छ ।

अनेकन प्रोजेक्टमा काम

आविष्कार केन्द्रको प्रयोग सफल भएमा केही समयपछि सेलरोटी हाल्ने मेसिन पनि तयार हुनेछ । व्यवसायिक रुपमा सेल रोटी बेच्नेहरुलाई लक्षित गर्दै यो मेसिन बनाउन लागिएको हो । अभिशेष नकर्मी र कृष्ण डीईओले तयार गर्दै गरेको यो मेसिनले साना हटोलहरुलाई दिनदिनै ठूलो मात्रामा सेल रोटी बनाउनुपर्ने दुःख हटाउन सक्ने विश्वास गरिएको छ । मेसिन मुछिएको पिठोलाई हालेपछि यसले नै सही आकारमा सेल पकाउनेछ ।

यस्तै यहाँ ९ महिना नपुग्दै जन्मिएका र नियमोनियाबाट प्रभावित शिशुलाई लक्षित गरी बेबी वार्मर मेसिनहरु पनि तयार गरिँदैछ । छिट्टै जन्मिएका बच्चाको स्वास्थ्यमा उचित ताप नपुगेर पर्ने असरलाई ध्यानमा राखेर नेपालमै यस्तो मेसिन बनाउन लागिएको हो । सञ्जयसिंह ठकुरी र सुनिल बानियाँ लगायतको टोली यसमा संलग्न छ ।

गाउँको हेल्थपोस्टहरुमा राख्नको लागि सस्तो र राम्रो किसिमको बच्चाको ईन्क्युबेटरको विकास गर्न लागिएको हो । ईन्क्युबेटर समय नपुगिकन जन्मेको बच्चाहरु र जन्डिस भएका बच्चाहरुलाई बचाउनको लागि प्रयोग गर्न सकिने छ ।

यस्तै यहाँ विद्युतीय सवारी निर्माणको लागि पनि काम हुँदैछ । नयाँ प्रयोगहरु गरेर विद्युतीय सवारी निमाण गर्ने गरी पनि प्रोजेक्ट चलाइएको छ । गाडीमा अटोमेटिक ड्राइभिङ लगायतको परीक्षण पनि गरिँदैछ । विद्युतीय सवारीमा नयाँ फिचर्सहरु थप्न नेपाली युवाहरु प्रयत्न गर्दछन्, आविष्कार केन्द्रमार्फत ।

यस्तै यहाँ बाँदर भगाउने मेसिन बनाउन पनि विभिन्न प्रयोग गरिँदैछ । धेरै बाँदर आएर बालीनाली नष्ट गर्ने समस्यालाई ध्यानमा राखेर खेतबारीमा राख्न मेसिन बनाउन लागिएको हो । यो मेसिनले बारीमा बाँदर आएमा सेन्सरका माध्यमबाट सूचना लिएर आफैं फरक–फरक आवाजहरु निकाल्नेछ । खेतबारीमा बाँदर नआएपनि निश्चित समयममा थाल ठटएको, बाघ कराएको लगायतका आवाज समय–समयमा मेसिनले निकाल्नेछ ।

यस्तै यहाँ अत्याधुनिक सुविधासतिहको एपको पनि विकास गरिँदैछ । युवको एक समूहले ‘ओके जर्नी’ नामको बसको टिकट बुकिङ गर्ने एप बनाएका छन् । यो अहिले परीक्षणको क्रममा छ ।

‘यो एप बनाउन लागेको झण्डै डेढ वर्ष भएको थियो, तर, स्रोतको अभावमा समस्या परिरहेको थियो, आविष्कार केन्द्रमा आएपछि यसलाई अझै उन्नतरुपमा विकास गर्न सहयोग मिलेको छ,’ एपको परिकल्पनाकार राजेश दास भन्छन्, ‘यो एपले भविष्यमा टिकट काट्न लामो लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्नेछ ।’

यस्तै यहाँ पानी तताउने विद्यमान सोलर थर्मल कलेक्टर (एसटीसी) प्रविधिको दक्षता सुधार गर्न प्रोटोटाइप विकसित गरी परीक्षण पनि गरिँदैछ । ग्रामीण क्षेत्रका लागि पानी फिल्टर र ट्रिटमेन्ट प्रणालीको विकास गरिदैछ ।

थ्री व्ह्विलर सवारीहरुका लागि लिड–एसिड ब्याट्री चार्जिङ र मर्मत प्रणाली विकास गरिएको छ । यहाँ नै विकास भएको ई–कमर्स प्लेटफर्म एभरेष्ट कार्ट विकास गरी सार्वजनिक गरेका भइसकेको छ ।

जापान र अमेरिकाका नेपाली डाक्टरहरूको टोलीको सहयोगमा ग्रामीण स्वास्थ्य चौकी र टेलिमेडिसिन प्रोग्रामको लागि इलेक्ट्रोनिक मेडिकल रेर्कडिङ प्रणाली विकास पनि विकास गरिँदैछ ।

वेबमा आधारित शैक्षिक सहयोग र प्रवर्टन प्रवद्र्धनको लागि पनि प्रणाली विकास गरिँदैछ । पुरानो डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्ने प्रोजेक्ट पनि चलिरहेको छ ।

शहरको सडक बत्तीको लागि स्वचालित सोलर प्यानल सफाई प्रणालीको विकास पनि गरिँदैछ । शहरी क्षेत्रमा बस्ने कम आय भएका घरपरिवारका लागि सरल र सस्तो कपडा धुने मेसिन विकास पनि गरिँदैछ ।

यस्ता काममा सबै युवा इन्जिनियरहरु संलग्न छन् । आविस्कार केन्द्र प्रोजेक्टहरु काठमाडौं बाहिर पनि सञ्चालनमा छन् । नयाँ प्रविधिको विकास र पुरानो प्रविधिको स्तरोन्नतिमा केन्द्रित भएर आविष्कार केन्द्रले काम गर्न सकेकोमा सन्तोष मिलेको पुन बताउँछन् ।

तस्वीरः विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment