+
+
Shares
स्मृति :

शून्यता

उहाँको महाप्रस्थानले म रिक्त भएँ, एउटा शून्यता सधैं मनमा छाइरहन्छ । त्यसलाई व्यक्त गर्ने मसँग कुनै शब्द छैन । मात्रै यत्ति भन्न चाहन्छु— बुवा हामी यो ब्रह्माण्डमा कुनै कालखण्डमा अवश्य भेटिनेछौं । त्यतिन्जेललाई विदा मेरो बुवा !

दिपा मेवाहाङ दिपा मेवाहाङ
२०८२ साउन ३१ गते १५:१५

बुवा (मावाली बाजे) लाई अस्पताल लैजाने–ल्याउने काम भइरहेको थियो । उहाँलाई श्वास–प्रश्वासमा समस्या देखिएपछि अस्पताल लैजाने, भर्ना गर्ने र सञ्चो भएपछि घर फर्काउने रिले चलिरहेको थियो । यो क्रम दुई महिनादेखि चलिरहेको थियो ।

दुई महिनाअघि एउटा शनिबार म ममीसँग भिडियो कलमा थिएँ । मावली बोजु हतारिंदै आउनुभयो र भन्नुभयो, “बाउ अलिक साह्रो भयो, अस्पताल लैजानुपर्‍यो ।” ममी अत्तालिनुभयो । मैले सबै सुनिरहेकी थिएँ । ममीले ‘ल भरे बोलौं है म मावली घर गएँ’ भन्नुभयो र फोन काट्नुभयो । बुवालाई एम्बुलेन्समा अस्पताल लगिएछ । त्यसअघिसम्म मैले कहिल्यै थाहा पाएकी थिइनँ, बुवालाई त्यसरी एम्बुलेन्समा नै अस्पताल लैजानुपरेको । मेरो मन त हो आत्तिइहाल्यो । यो कोमल मन चैनले बस्नै सकेन । छटपटी भयो । मेरो मन सम्झनाको सुदूरभेगमा पो पुगिसकेछ । जहाँ म नपुगेकी वर्षौं भएको थियो । यी काँतर आँखाहरू कतिखेर बग्न थाले पत्तै पाइनँ । ठोस हुनै नजान्ने यी आँशु तरल तरल बगिरहे ।

रुँदै जीवनजीलाई कल गरें र भनें, “अहिल्यै टिकट काटिदिनु । म घर जान्छु ।”

“किन के भयो ?” बुवा साह्रै बिमारी हुनुभएको थाहा पाएर जीवनजी पनि आत्तिनुभयो । मेरो बेलिविस्तार नसकिंदै उहाँले टिकट चेक गर्न थाल्नुभएछ र भन्नुभयो, “आजको टिकट त छैन, भोलि हङकङ ट्रान्जिट भएर जानुहुन्छ ?”

यत्तिकैमा ममीको कल आयो, भन्नुभयो, “नआत्तिनु, दमको रोगी हो । सास बढेछ । अहिले कम भएको छ ।”

ममीले सान्त्वना दिनुभए पनि यो अटेरी मनले भनिरहेकै थियो, ‘तँ जसरी पनि घर फर्किनुपर्छ । बुवालाई भेट्नुपर्छ ।’ त्यसपछि मन र मस्तिष्कको जुहारी चल्न थाल्यो । यही मनोद्वन्द्व चलिरहँदा आन्टीले भिडियो कल गर्नुभयो । उता अस्पतालको बेडमा बुवा पल्टिरहनुभएको थियो । भिडियो कलमा बुवासँग बोल्न पाएँ । बुवाको हालतमा सुधार आएको देखेर म अलि ढुक्क भएँ र तुरुन्तै घर फर्किन्छु भन्ने मनलाई थुम्थुम्याएँ ।

तीन दिनको अस्पताल बसाइँपछि बुवाको उही नियमित रुटिन सुरु भएछ । बिहान एकपटक बेलुका एकपटक हाम्रो घरसम्म आउने अनि जाने । भिडियो कलमा बोल्दा उहाँको आवाज सामान्य र पुरानै लयमा फर्किसकेको थियो ।

“हिंडिरहँदा सास बढ्छ बुवा ! धेरै नहिंड्नु” म बुवालाई सम्झाइरहन्थें ।

“अब त ठिक भइसकें, पिर नगर” उताबाट बुवा उल्टै मलाई सम्झाउनुहुन्थ्यो ।

“सधैं यस्तै ठिक भइराख्नुस् ल !” मनमनै म कामना गर्थें । तर मैले सोचे जस्तो बुवा ठिक हुनुहुन्थेन रहेछ । केही समयपछि उहाँलाई फेरि अस्पताल भर्ना गरिएछ र अरूबेला अस्पताल बसाइँपछि सञ्चो भएर हाँस्दै घर फर्किनुहुने बुवा यो पटक मलाई छक्याएर कहिल्यै नफर्किने बाटो भएर जानुभएछ ।

अहिले सोच्छु, यति छिटो परलोक यात्रा गर्नुहुने मेरो बुवाले यो संसारको एउटा भूगोलमा जन्मेर अर्को भूगोलमा आफ्नो चोला विसर्जन गर्छु भन्ने त कहिल्यै कल्पनै गर्नुभएन होला । सोलुखुम्बुको नेचाबाट थाल्नुभएको यात्रा कहाँ पुगेर टुङ्गिन्छ भनेर कहिल्यै अनुमान पनि लगाउनु भएन होला । जन्मपश्चात् आफ्नो जीवनको एक चौथाइ समय व्यतीत गरेको ठाउँ चटक्कै माया मारेर हिंड्न उहाँलाई कति सकस परेको थियो होला ! त्यसमाथि बालख छोरा काखी च्यापेर रित्तो हात त्यो यात्रामा निस्किंदा उहाँको कल्पना भन्दा बाहिरको कुरा थियो होला झापामा स्थायी बसोबास गर्छु भन्ने ।

गोडाले जताजता डोर्‍यायो त्यतात्यतै हिंडिदिंदा कैयौंपटक थाक्नुभयो, कैयौं दिन जङ्गलको बसाइँ भयो, चारकोसे झाडी र त्यहाँको जङ्गली जनावरहरूसँग बच्दै चकरघट्टी आइपुग्दा कतिकति बेला त पाइलाहरू पनि सुस्ताएका थिए रे ! हिंड्दाहिंड्दा बल्ल बाहुनडाँगीमा आइपुगेर उहाँको मन अडियो रे ! तर त्यो मन पाइला अडिएर होइन, एउटा गतिलै कारण भेटेर रहेछ र त्यो कारण थियो कान्छी स्वास्नी अर्थात् मेरी बोजु ।

नयाँ भूगोल, सीमित चिनेजानेका मान्छे अनि शून्यबाट गर्नुपर्ने सुरुवात । तर बुवा आत्तिनुभएन र वनमारा घारी फाँड्न थाल्नुभएछ, घरभन्दा ठूला ढुङ्गा फुटाउनुभएछ र हाल्नुभएछ एउटा आत्मविश्वासले भरिएको घरको जग । शरीरभरि चोट, ऐय्याआत्थु गर्र्दै केही समयमै खेतीयोग्य जमिन तयार पार्नुभएछ । सुन्दा पनि एकादेशको कथा लाग्ने । त्यत्रो बल, ताकत कताबाट भरियो होला ? ऐय्या, आत्थाको सुस्केरा फ्याल्दै अन्तत:  केही खेती गर्न जमिन बनाउनुभएको थियो । त्यसबीचमा चार जना छोराछोरी सहित बुवाको सात जनाको एउटा सिङ्गो परिवार बन्यो । बुवाको आफ्नो कडा स्वभावले गर्दा कतिपय अवस्थामा आफन्त पराइ भएछन् भने नरम स्वभावले गर्दा पनि आफन्तै पराइ भएछन् । उहाँलाई साथ दिने भनेकै मेरी बोजु हुनुुहुन्थ्योे ।

परिवार ठूलो भएकोले जति काम गरे पनि खान–लाउन भने धौ–धौ नै हुने । बुवाले अँधियामा गोरु जोत्नुभयो ।

“जुनेली रातमा जूनको उज्यालोमा रातभरि धान कटाउनुहुन्थ्यो” केही वर्षअघि मात्रै पनि ममी बुवासँग गुनासो गर्नुहुन्थ्यो । बुवाकै पेलानको कारण ममी साथीसँग भागेर काठमाडौं पस्नुभएको रहेछ । काठमाडौं पसेपछि कारखानामा गलैंचा बुन्ने काम सिक्नुभएछ ।

कारखानामा धागो घुमाउँदै, गलैंचा बुन्दै गर्दा कतिखेर प्रेमको धागो बुनिसकेछ कुन्नि ! अबदेखि एउटै छानोमुनि सुखदु:ख, सजिलो अप्ठ्यारो जे जस्तो पर्छ एक भएर सामना गर्ने भन्ने तय भएछ । त्यसपछि ममी र पापाले एउटा साँघुरो कोठाबाट नयाँ जीवनको सुरुवात गर्नुभएछ ।

तर ममी पापाले एकबाट दुई र दुईबाट तीन हुन्छ भन्ने वास्ता गर्नुभएन कि ! कमाइखान हम्मे–हम्मे परेको बेलामा कारखानामा एउटा मजदुर घट्यो । ममी गर्भवती हुनुभयो र माघको पारिलो घाम लागेको एउटा बिहान म जन्मिएँ । यो खुसीको खबर आसपासका आफन्त, साथीभाइ माझसम्म मात्र होइन रात्रिकालीन बस चढेर झापाको बाहुनडाँगीसम्म पनि पुगेछ ।

त्यही रात्रिकालीन बस चढेर सुत्केरी बन्दोबस्तीका सामान बोकेर बुवा काठमाडौंको छोरी र नातिनी भेट्न आइपुग्नुभएछ । त्यसै त पुस–माघ महिनाको ठण्डी, त्यसमाथि साँघुरो कोठा । आफ्नी छोरी र नातिनीको हरिबिजोक देखेपछि बुवाले दायाँ–बायाँ केही नसोची, “मेरो नातिनीलाई यस्तो हालतमा छोड्दिनँ” भन्नुभएछ र सत्र दिनको सुत्केरी र पापालाई सँगै लिएर झापा फर्किनुभएछ ।

मेरो पापाको पुर्ख्यौली घर संखुवासभा । झापा आउनुभएको केही समयपछि सपनाको देश, परदेश हिंड्नुभएछ । परदेशबाट फर्किंदा धन ल्याउँछु भन्ने सोच्नुभएको मेरो पापाले धन त होइन टि.बी. चैं लिएर आउनुभएछ । जसको थप उपचार झापामा सम्भव नभएपछि काठमाडौं जानुभयो । हामीले सोच्यौं, पापा सञ्चो भएर फर्किनुहुन्छ तर पापा फर्किनुभएन । उहाँ त उतै काठमाडौंमै नयाँ घरजम गरेर बस्नुभएछ । नयाँ संसार बसाउनुभएछ । त्यसपछि म सधैंको लागि झापामा बुवासँगै मावल र घर गरेर हुर्कें । पापाको भागको माया, हेरचाह, जिम्मेवारी मैले बुवाबाटै प्राप्त गरें । त्यसमाथि मान्छेको जात जता बस्यो त्यतै घर भन्छन् । त्यसैले पनि झापा मेरो मावल मात्र नभएर घर पनि हो ।

मावलीमा जेठामामाको छोराछोरीहरू सबै जनाले किकि (बाहिङ भाषा) सम्बोधन गरेर बोलाउनुहुन्थ्यो । जेठामामा पछिको जेठी सन्तानको रूपमा मेरो आमाको जन्म भएकोले नातिनातिनाहरूमा मावल बाजेलाई बुवा भनेर सम्बोधन गर्ने म नै पहिलो भएँ । पछि मामा, आन्टीको सबै छोराछोरीले बुवा नै सम्बोधन गरे । सानैमा पापासँगको विछोडको कारण बालमस्तिष्कले शायदै पापाको अभावको खाडल पुर्न मैले यो सम्बोधन गरें वा आमा, मामाहरूको सिको गर्दै गरे ? त्यो अझै पनि सम्झिन सक्दिनँ । तर मैले मावलीबाजेलाई सधैंभरि बुवा सम्बोधन गरिरहें ।

बुवा असाध्यै मिहिनेती हुनुहुन्थ्यो । ठूला–ठूला ढुङ्गा पन्छाएर खेती गर्नुहुन्थ्यो । गोठ घरभन्दा मास्तिर थियो । बुवा धेरैजसो गोठमै बस्नुहुन्थ्यो ।

मेरो बचपनको भाँडाकुटी खेल्ने साथी कान्छी छेमा (आन्टी) हुनुहुन्थ्यो । उमेरमा अढाइ वर्षले ठूली । कक्षा भने १ श्रेणीले फरक । दिनभरि स्कूलमा हुन्थ्यौं । बेलुकीको खाना खाएर बुवाको साथी गोठमा  पुग्थ्यौं । गोठमा कुराउनी पनि खान पाउने, राति निदाउने बेला कथा, श्लोक पनि सुन्न पाइने । त्यसैले कुनै दिन गोठमा जान नपाउँदा भने मन नरमाइलो लाग्थ्यो ।

बिदाका दिनहरूमा दिनभरि बुवासँग गोठमा हुन्थ्यौं । बुवाको एउटा गजबको बानी थियो । बिहानको खाना खाएपछि एकछिन सुत्ने । बुवाले त्यसरी सुत्ने बेलामा कपालमा हामीलाई ‘पैसा दिन्छु, ठुङ्ग हान्’ भन्नुहुन्थ्यो । फुल्दै गएको कपालको कारण चिलाउँथ्यो सायद । कसले धेरै ठुङ्ग हान्ने भनेर हाम्रो कम्पिटिसन हुन्थ्यो । जे भए पनि आन्टी ठूली हुनुभएकोले अलि धेरै नै ठुङ्ग हान्न सक्नुहुन्थ्यो त्यसैले उहाँले धेरै पैसा पाउनुहुन्थ्यो, मैले थोरै । अनि ‘अर्को पटक ठुङ हान्दिनँ’ भनेर म रिसाएर भुक्क गाला बनाउँथें । त्यसपछि बुवाले मलाई पैसा थपिदिनुहुन्थ्यो । त्यसरी गोठमै रमाउने बुवाले कान्छामामालाई तलको घर अंशभाग दिएर गोठमै आफ्नो घर बनाउनुभयो । बुवा जहाँ बस्नुभयो त्यही मूलघर बन्यो ।

म बुवासँग बस्न पाएर खुशी थिएँ तर केही वर्षपछि पापा फर्किनुभयो । पापा फर्किनुभएपछि बुवाले छोरी, ज्वाइँ र नातिनीलाई बस्ने घर भन्दै उहाँको घरभन्दा चारपाँच गरामुनि छुट्टै घर बनाइदिनुभयो ।

हाम्रो लागि छुट्टै घर बने पनि म प्रत्येक रात बास बस्न मावलीघर नै पुग्थें । बुवासँग मेरो सम्बन्ध नै त्यस्तै बनेको थियो, छुट्टिएर बस्नै नसक्ने । गाउँभरि कडा स्वभावका बाहिङ बाजे भनेर चिनिने । कतिसम्म भने गाउँलेहरू आफ्ना केटाकेटीहरूले चकचक गर्‍यो भने ‘बाहिङ बाजे बोलाइदिउँ’ भन्दै तर्साउँथे । केटाकेटीहरू पनि चुप लाग्थे । त्यस्ता कडा बुवा मेरो लागि भने नौनी जस्तो नरम हुनुहुन्थ्यो । घरमा काम बिगार्दा होस् वा स्कूलबाट ढिलो घर फर्कंदा, आमाको कुटाइबाट सधैं बुवाले बचाउनुहुन्थ्यो । अनि त मेरो उट्पट्याङ कम हुनुको साटो दोब्बर हुन्थ्यो ।

बुवा बाहिङ हुनुभएकोले स्कूलमा र छिमेकीहरूले मलाई पछिसम्मै दिपा बाहिङ नै भनेर बोलाए । मैले निकैपछि मात्र मेवाहाङ भनेर लेख्न थालेकी हुँ । त्यसैले मेरो लागि बाहिङ र मेवाहाङ दुवै उत्तिकै प्रिय छ ।

पापा हामीसँग बस्न थाल्नुभएपछि दिनहरू रमाइलोसँग बितिरहेको थियो । पाँच–छ वर्षपछि अचानक एकदिन फेरि कहिल्यै नफर्किने गरी पापा हामीलाई छोडेर जानुभयो ।

पापाको अभाव महसुस नगरोस् भनेर बुवाले मेरो लागि गर्नुपर्ने कर्तव्यमा कुनै कसर छोड्नुभएन । मलाई सधैं उहाँको काख नजिक बस्न पाए हुन्थ्यो लाग्थ्यो । तर उमेरको सिंढी चढ्दै जाँदा आफ्नो वृत्ति विकासको लागि बाजेबोजुको काखबाट विस्तारै अलग्गिनुपर्दोरहेछ । पहिले शिक्षाको नाममा पछि आर्थिक खाडल पुर्ने नाममा म बुवासँग टाढिएँ । अलिअलि कमाएको पैसाले सानो एउटा पक्की घर बनाएर ममीलाई पुरानो घरबाट सारें । समय घर्किंदै गयो । म कोरिया आएको ६ वर्षपछि पहिलोपटक घर फर्किंदा बुवालाई पहिलोपटक भेट्दा म उदास भएँ । बुवाकोे स्वरुप नै बदलिएको पाएँ । मैले घर छोड्ने बेला टम्म मिलेको दाँतका पंक्तिहरू सहित आशीर्वादसँगै बिदाइको हात हल्लाउनुभएको बुवाको उस्तैगरी मुस्कानसहित स्वागत गर्नुभयो तर दाँत पहिले जस्ता टम्म मिलेका थिएनन् । हाम्रा अग्रजहरू आफ्नो धेरै कुरा आफ्ना सन्तानलाई  दिएर आफू रित्तिंदै जानेरहेछन् ।

“एउटा मुस्किल जिन्दगी बाँचेर यो ठाउँसम्म आइपुगेको छु । तेरो आमा, मामाहरूलाई धेरै नभए पनि अलिअलि जग्गा पास गरिदिएको छु” बुवाले सुनाउनुभयो ।

मैले भनें, “अब यो आराम गरेर खाने उमेर हो । जति गर्नुभयो, भयो !”

“तेरो आमा, मामाहरूलाई गरिखाने ठाउँ बनाइदिएको छु । अब यो संसार छोडेर जानुपर्‍यो भने पनि ढुक्कले जान्छु”, बुवाले हाँस्दै भन्नुभयो । शायद जानेहरूलाई आफ्नो समयको ख्याल हुन्छ । दोस्रोपटक अस्पतालबाट डिस्चार्ज हुँदा मैले जिद्दी गरेकी थिएँ, ‘केही दिन हाम्रोमा बस्नुस् ।’ मेरो मन नदुखोस् भनेर होला ‘हुन्छ तिमीहरूकोमा गएर बस्छु’ भन्नुभएको थियो । तर घर फर्किंदा फर्किंदै आफ्नै घर जाने इच्छा गर्नुभएछ । मैले यसबारे बोजुसँग पनि गुनासो गरें ।

“खोइ, तेरो बाजेले मानेनन् । अन्तिम समय आफ्नै घरमा बिताउन खोजेको होला” बोजुले रुँदै भन्नुभयो । बुवा आफ्नै जिद्दीले बाँच्दै आउनुभएको थियो, जाने बेलामा पनि आफ्नै रोजाइ गर्नुभयो । यसरी मेरो जीवनको एउटा नायक यो संसारबाट विदा हुनुभयो । उहाँको महाप्रस्थानले म रिक्त भएँ, एउटा शून्यता सधैं मनमा छाइरहन्छ । अहिलेलाई त्यसलाई व्यक्त गर्ने मसँग कुनै शब्द छैन । मात्रै यत्ति भन्न चाहन्छु, बुवा हामी यो ब्रह्माण्डमा कुनै कालखण्डमा अवश्य भेटिनेछौं । त्यतिन्जेललाई विदा मेरो बुवा !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?