+
+
Shares

कार दुर्घटनापछि जीवनमा १२ वर्ष पछाडि फर्किए एक डाक्टर

उनले आफ्नै आमाको मृत्यु भएको कुरा पनि बिर्सिए । अनि आमाको मृत्यु भएको कुरा बल्ल जानकारी पाएजस्तो गरेर उनी स्तब्ध भए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते १३:३०

सन् २०१३ मा इटालीका तत्कालीन एकजना प्रसिद्ध डा. पिएरदाँते पिच्चोनीको जीवन पूर्ण रुपमा परिवर्तन भयो जब उनी एउटा भयानक  सडक दुर्घटनामा परे । उक्त दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लाग्यो ।

केही समयपछि उनी होसमा त आए। तर, त्यसबेला उनी  १२ वर्ष अघिको समयमा फर्किसकेका थिए । दुर्घटनापछि होसमा आउँदा २०१३ चलिरहेको थियो, तर उनलाई  अहिले सन् २००१ चलिरहेको छ जस्तो लाग्न थाल्यो ।

त्यस समयमा डा. पिच्चोनी इटालीको उत्तरी सहर लोदीस्थित एक अस्पतालको आपतकालीन विभाग (इमर्जेन्सी) का प्रमुख थिए । उनी आफ्नो काममा दक्ष, अनुशासित र शीघ्र निर्णय लिन सक्ने डाक्टरको रूपमा चिनिन्थे ।

तर दुर्घटनापछि सबै कुरा बदलियो । जब उनी कोमाबाट बाहिरिए, उनले आफ्नी श्रीमतीलाई समेत चिन्न सकेनन् । अनि आफ्ना बढिसकेका छोराहरूलाई समेत अझै साना बालक नै भएजस्तो सम्झिए । वास्तवमा, उनले विगत १२ वर्षको आफ्नो जीवन नै पूर्ण रुपमा बिर्सिसकेका थिए ।

उनका लागि त्यो अनुभव अति नै अनौठो र डरलाग्दो थियो । नयाँ प्रविधिहरू, स्मार्टफोनहरू, सामाजिक परिवर्तनहरू जस्ता सबै कुरा उनका लागि नयाँ थिए । उनले त्यसबेला आमालाई भेट्ने इच्छा व्यक्त गरे । जबकि उनकी आमाको निधन धेरै वर्षअघि भैसकेको थियो । उनले आफ्नै आमाको मृत्यु भएको कुरा पनि बिर्सिए । अनि आमाको मृत्यु भएको कुरा बल्ल जानकारी पाएजस्तो गरेर उनी स्तब्ध भए ।

तथापि यस्तो मानसिक आघातका बाबजुद पनि डा. पिच्चोनीले हार मानेनन् । उनले आफूलाई पुन: चिन्ने प्रयास गर्न थाले ।

पुराना इमेलहरू पढे, डायरीहरू पल्टाए, परिवारका पुराना भिडिओ र फोटो हेरे, अनि आफ्नो विगतका केही झल्कोहरू सम्झिन थाले। ऋाफू पहिलेजस्तो नभएको कुरा उनले स्वीकार गरे । अनि अब आफू अझै संवेदनशील र अरूको पीडा बुझ्न सक्ने व्यक्ति बनिसकेको भन्ने आत्मबोध गरे ।

उनले आफ्नो यो जीवनको अनौठो यात्रा शब्दमा पनि उतारेका छन् । उनले लेखेको आफ्नो आत्मकथा : मेनो डोडीची (माइनस १२) इटलीमा निकै लोकप्रिय बन्यो ।

यसै कथामा आधारित टेलिभिजन सिरिज डोक-नेल्ले तुए मानी बनाइयो । पछि टेलिभिजन च्यानल फक्सले पनि यसै विषयमा आधारित अमेरिकन टेलिभिजन शो सुरु गर्‍यो, जुन विश्वभर लोकप्रिय बन्यो ।

डा. पिच्चोनी अहिले डाक्टरको रूपमा कार्यरत छैनन् । तर, उनी मानिसहरूलाई आफ्नो कथा सुनाउँदै मानसिक स्वास्थ्य, ट्रमा र जीवनको नयाँ सुरुवातबारे जागरूकता फैलाइरहेका छन् । त्यो दुर्घटना आफ्नो लागि जीवनको दोश्रो मौका रहेको र जीवनलाई पुन: बुझ्ने अवसर प्राप्त गरेको उनी बताउँछन् ।

वास्तवमा उनको कथा केवल एउटा दुर्घटनाको कथा मात्र होइन, बरु त्यस्ता व्यक्तिको पनि कथा हो जसले आफ्नो अतीत गुमाएपछि पनि जीवनलाई नयाँ अर्थमा पत्ता लगाए ।

आज पनि उनी विश्वभरका ती सबै मानिसहरूको लागि प्रेरणा बनेका छन्, जो जीवनका कठिन परिस्थितिसँग जुझिरहेका छन् । -बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?