Comments Add Comment

खुल्लामञ्चसँग जोडिएको सार्वजनिक जग्गा ‘बिक्री’

१४ असोज, काठमाडौं । भूमाफियाले खुलामञ्चको सरकारी जग्गा कब्जा गरेर बनाएको सटर भत्काउन डोजर लगाएको पाँच महिना पुग्यो । जनही ६ लाखदेखि ११ लाख रुपैयाँसम्म अग्रिम सलामी लिएर भूमाफियाले ५२ वटा सटर बेचेको समाचार आएपछि जनताले खुलामञ्च खाली गर्न व्यापक दवाव दिएका थिए ।

चौतर्फी दबावपछि त्यहाँ बनाइएका सटरहरू हटाइए । तर, खुलामञ्चसँगै साँध जोडिएको गुठीको जग्गामा भने अहिले पनि भूमाफियाको रजगज चलिरहेको छ । खुलामञ्चबाट उत्तर र रत्नपार्कबाट दक्षिणतर्फ रहेको एक रोपनी भन्दा बढी जग्गा व्यक्तिगत सम्पत्तिसरह प्रयोग भइरहेको तथ्य फेला परेको छ ।

दुईमाजु गुठी मन्दिरको उक्त जग्गामा काठमाडौं महानगरपालिका, गुठी संस्थान र २८ नम्बर वडा कार्यालयको मिलोमतोमा भूमाफियाले अस्थायी टहरा बनाएको स्थानीयहरू बताउँछन् । खुल्लामञ्च बचाउ अभियान लागेका स्थानीय सुसन वैद्य भन्छन्, ‘हामी खुलामञ्च जोगाउनतिर लाग्यौं, भूमाफिया चाहिँ खुलामञ्चसँग साँध जोगिएको गुठीको जग्गा बेच्न तिर लागेछ ।’

गुठी संस्थानसँग १५ हजार रुपैयाँमा भाडामा लिएको जग्गाबाट गैरकानूनी रुपमा मासिक सात लाख रुपैँया भन्दा बढी असुली भइरहेको जानकारहरू बताउँछन् ।

२०७५ मंसिर ९ गते गुठी संस्थानले भीमसेन गाउँपालिका-२, गोरखा (हाल तीनकुने काठमाडौं) की अमृता भट्टराईलाई पाँच वर्षमा लागि भाडामा दिएको देखिन्छ । अमृता र गुठी संस्थान, शाखा कार्यालय काठमाडौंका बैकुण्ठप्रसाद रेग्मीद्वारा हस्ताक्षरित सम्झौतापत्रको दोस्रो बुँदा अनुसार संस्थानले भट्टराईसँग मासिक १५ हजार रुपैयाँ भाडा लिएको छ । अमृताले गुठी संस्थान काठमाडौं शाखाको माछा पुच्छ्रे बैंकमा छ महिनाको भाडा बराबर ९० हजार रुपैयाँ धरौटी जम्मा गरेकी छन् ।

दुईमाजु गुठीको जग्गामा टहरा बनाएर पसल सञ्चालन गरिरहेका एक व्यापारीका अनुसार त्यहाँका ३५ वटा पसलबाट मासिक सात लाख रुपैयाँ भाडा उठ्ने गरेको छ । आफूहरूले प्रतिपसल मासिक २० हजार रुपैयाँ भाडा बुझाउने गरेको उनले अनलाइनखबरलाई जानकारी दिए । कपडाको खुद्रा व्यापार गरिरहेका ती व्यापारी आफूहरूले अमृता भट्टराईलाई नभई उर्मिला कडरियालाई भाडा बुझाउने गरेको बताए ।

सरसफाइ कर्मचारीको मासिक तलब सात लाख ?

गुठी संस्थानका अनुसार काठमाडौं, तीनकुने बस्दै आएकी अमृता मन्दिर सरसफाई गर्न बसेकी कर्मचारी हुन् । गुठी संस्थानका प्रवक्ता सरोज थपलिय अमृताले तलब बढाउन माग गरेपछि आफूहरूले मन्दिरमा असर नपर्ने नगरी व्यवसाय सञ्चालन गर्न अनुमति दिएको बताउँछन् ।

थपलियाको भनाइलाई मान्ने हो भने सरसफाई कर्मचारीको तलब २०७५ मंसिरदेखि मासिक सात लाख वृद्धि भएको देखिन्छ । अमृताले भने थपलियाको भनाईको खण्डन गरेकी छन् । आफूले दुईमाजु गुठीको जग्गा प्रयोग गर्न छाडेको उनको दाबी छ । अमृताले सोमबार अनलाइनखबरसँग भनिन्, ‘काठमाडौं बाहिर बस्नुपर्ने भएपछि मैले गुठीको जग्गा प्रयोग गर्न छाडिसकेकी छु ।

यो पनि पढ्नुहोस बिक्रीमा खुलामञ्च !

प्रमाणहरूले भने गुठीको जग्गा अमृताले नै प्रयोग गरेको देखाउँछ । पूजा सामाग्री राख्ने सम्झौता गरेको जग्गा अमृताले भाडामा लगाएकी छन् । ०७५ मंसिरमा भाडामा लिएको जग्गा माघ १७ गते अमृताले उर्मिला कडरिया र अमिर गर्तौलालाई नौ बुँदे करारनामा गरेर प्रयोग गर्न दिएकी छन् ।

काठमाडौं-१६ बस्ने ५० वर्षीय राजु श्रेष्ठ र ३० वर्षीय गीता भट्टलाई साक्षी राखेर करारनामा गरिएको छ । कडरिया र गर्तौलाले मरिज ठाकुर इन्टरप्राइजेज प्रा.लि.मार्फत भाडा असुल्दै आएका छन् ।

महानगरको प्रत्यक्ष संंलग्नता

सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्ति सम्बन्धी व्यवस्था अनुसार सरकारी तथा सार्वजनिक सम्पत्ति संरक्षण गर्ने जिम्मेवारी जिल्लास्तरीय प्रशासन कार्यालय र सम्बन्धीत स्थानीय सरकारहरूको हो । दुईमाजु गुठीको जग्गाको गैरकानूनी प्रयोगमा काठमाडौं महानगरपालिका र वडा नम्बर २८ कार्यालयको प्रत्यक्ष संलग्नता भेटिएको छ ।

काठमाडौं महानगरपालिकाले २०७५ चैतमा गुठीको कपडा, जुत्ता, गिफ्ट, ब्यागलगायतका पसल सञ्चालन अनुमति दिएको देखिन्छ । रमिला श्रेष्ठ, सर्वदा उप्रेती मैनाली, रेशमबहादु पाण्डे, भगवानप्रसाद पाण्डे, शर्मिला कटुवाल, झलकप्रसाद गेलाल, अनिताकुमारी थापा, अमृता मैनाली, टेकबहादुर जोशी, खेमराज साह तेली, होमबहादुर खड्का, पदम नेपाली, निरु गौदार थापा, सुरेन्द्र मानन्धर, भरत शाह, टंकबहादुर खत्री, दीपक गौतम लगायतलाई महानगरले पसल सञ्चालनको अनुमति पाएका छन् ।

महानगरपालिकाले गुठीको जग्गामा व्यक्तिलाई टहरा निर्माणको अनुमति दिएको प्रमाण प्राप्त भएको छ । महानगरपालिाको भवन निर्माण इजाजत विभागले २०७५ फागुन १० गते टहरा बनाउन दिएको हो ।

मेयर शाक्यको सम्बन्ध

भवन निर्माण इजाजत विभाग प्रमुख सुरज शाक्यद्वारा हस्ताक्षरित सहमति पत्रबारे मेयर विद्यासुन्दर शाक्यलाई लिखित रुपमै अवगत गराइएको पाइएको छ । स्रोतले भने विभागीय प्रमुख शाक्यले मेयरकै निर्देशनमा सहमति दिएको बताएको छ ।

मेयर शाक्यले अमृता भट्टराईलाई जग्गा उपलब्ध गराउन गुठी संस्थानका अधिकारीहरूलाई पनि दवाव दिएका थिए । अमृताका श्रीमान् पदम भट्टराईसँगको सम्बन्धका कारण मेयर शाक्यले गुठीको जग्गा व्यक्तिलाई दिएको देखिन्छ ।

पदम जनसेवा प्रहरीमा कार्यरत छन् । गुठी संस्थाका एक अधिकारी भन्छन्, ‘पदमको पत्नी भएकैले अमृताले यो जग्गा पाएकी हुन ।’

नगर प्रहरीलाई पनि मेयर शाक्यले दुईमाजु गुठी परिसरका पसलेलाई केही नगर्नु भन्ने निर्देशन दिएका छन् । एक मुठो साग बेच्न सडक पेटीमा बस्नेलाई लखेट्ने नगर प्रहरीले गुठीको जग्गाका चलिरहेको ३५ वटा पसललाई देखेको नदेखे गर्छ ।

वडाको मिलोमतो

टहरा निर्माण र पसल सञ्चालन वडा नम्बर २८ का वडा अध्यक्षको प्रत्यक्ष जानकारीमा भएको देखिन्छ । आफैले ‘सामान्य व्यावसाय’ मात्रै सञ्चालन गर्न पाउने गरी भाडामा लिएको जग्गा अमृता भट्टराईले लिएको जग्गामा टहरा निर्माण भएको र अमृताले मरिण ठाकुर इन्टरनेसनल प्रालिलाई भाडामा दिएकोबारे वडा कार्यालय पुरापुर जानकार देखिन्छ ।

 

वडाध्यक्ष भाइराम खड्गी (प्रकाश)ले २०७६ साउन १० गते लेखेको चलानी नम्बर ७१ को सिफारिस पत्रमा रेडिमेड कपडा, जुत्ता लगायतका पसल सञ्चालन भईरहेको उल्लेख छ ।

स्थानीयवासी, विभिन्न संघसंस्था गुठी जग्गा दुरुपयोग रोक्न पटक पटक वडा कार्यालय पुगेको देखिन्छ । एक स्थानीय भन्छन्, ‘अमृता भट्टराईले दोस्रो व्यक्तिलाई भाडा दिने, टहरा बनाउने र गैरकानूनी रुपमा पसल सञ्चालन गर्दा पनि वडा कार्यालयले देखेको नदेखे गरिरहेको छ, स्वार्थ विना आँखा चिम्लेर बसेको त होइन होला ?’

गुठी संस्थानको बदमासी

गुठी संस्थानको बदमासी के देखिन्छ भने महानगरपालिकासँग सहमति लिनु भन्दा पहिला नै उसले अमृतालाई कार्यादेश दिइसकेको थियो । महानगरपालिकाले ०७५ फागुन १० गते दुईमाजु मन्दिर व्यवस्थित गर्ने सहमति दिएको देखिन्छ । तर ०७५ पुस ४ गते नै संस्थानले भट्टराईको नाममा कार्यादेश जारी गरिसकेको थियो ।

त्यति मात्रै होइन उसले कार्यादेश जारी गर्दा त्यो जग्गा अमृतालाई प्रयोग गर्न दिने सम्झौता नै भएको थिएन । किनभने, गुठी संस्थानले २०७५ मंसिर ९ गते मात्रै अमृतालाई जग्गा प्रयोग गर्न दिएको सम्झौतापत्रमा स्पष्ट उल्लेख छ ।

गुठी संस्थान, केन्द्रीय कार्यालयले स्थलगत निरीक्षणपछि गुठीको जग्गामा व्यक्तिले भौतिक संरचना निर्माण गरेको स्वीकार गरेको छ । ०७५ चैत २९ गते संस्थानका निमित्त प्रशासक सरोज थपलियाले लेखेको पत्रमा भनिएको छ, ‘…यस संस्थानको प्राविधिकबाट भएको स्थलगत निरीक्षणबाट तहाँ मन्दिरको वरिपरि चौतर्फी ग्रील लगाई बाहिर पट्टबिाट जस्तापाताले बेरिएको र जस्ताको छाना राखी ट्रस निर्माण गरिएको, मन्दिर वरिपरि रंग लगाइएको साथै भूइँमा वरिपरि ब्लक छापिएको प्रतिवेदन प्राप्त हुन आएको जानकारी गराइएको छ ।’

गुठी संस्थानले महानगरपालिकाको आदेश भन्दै विनाटेन्डर व्यक्तिलाई जग्गा प्रयोग गर्न दिएको देखिन्छ । संस्थानका प्रवक्ता सरोज थपलियाले बोलपत्र आह्वान नगरिएको स्वीकारे । उनी भन्छन्, ‘मन्दिर रेखदेखको जिम्मेवारी पाएको व्यक्ति भएकाले विना टेन्डर दिएका हौं ।’

कानुनतः टेन्डर नगरी सार्वजनिक सम्पत्ति खरिद-बिक्री गर्नु आर्थिक अपराध हो ।

सम्पदा बचाउ अभियानमा सक्रिय गणपतिलाल श्रेष्ठ गुठीको जग्गा दुरुपयोग रोक्न सम्वद्ध सबै लाग्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘सार्वजनिक सम्पत्ति संरक्षणमा सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तादरुकता आवश्यक छ ।’

तस्‍वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment