Comments Add Comment
फोटो कथा :

दशैंमा परदेशी घर फर्किँदाको खुसी

१५ असोज, काठमाडौं । दशैंको माहोल छाइसक्यो । बजारदेखि बसपार्कसम्म चहलपहल बढेको छ । एक मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई दशैं नलाग्ने कुरै भएन ।

केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने यात्रुहरुको चाप बढेको छ । रोजगारीका लागि विदेश गएका युवाहरु धमाधम दशैं मान्न फर्किन थालेका हुन् ।

अमेरिका बस्ने छोरा लिन आइपुगेकी नयाँ बसपार्ककी मनमाया क्षेत्री एयरपोर्टको आगमन कक्षको ढोकामा छोरा र बुहारी देख्नासाथै दौडिइन् । उनका पछि-पछि अरु आफन्त पनि लागे ।

मनमायाले छोरालाई अंकमाल गरिन्, खुसीका आँशु झारिन् । अरुले पनि खुसीका साथ आत्मियता दर्शाए ।

विमानस्थलमा अहिले विदेशिएका युवा र उनीहरुका आफन्तबीचको यस्ता भावुक दृष्यहरु बाक्लै देखिन्छन् । मीठो मसिनो खाने, राम्रो लाउने, रमाइलो गर्ने वर्ष दिनको चाड दशैंमा नेपालीहरु जहाँसुकै भए पनि मूलथलोमा भेला हुन खोज्छन् ।

४ वर्षदेखि यूएई बस्दै आएकी धरानकी रमिता सुब्बा  पनि यसपाली दशैं मनाउन स्वदेश आएकी छन् । यसअघिका दुई वटा दशैं उनले विदेशमै मनाउनुपर्‍यो । योपटक छुट्टी लिएर आएकी हुन् उनी । यसपालि स-परिवार भेला हुने योजना बनेको छ । ‘कतिखेर घर पुग्नुजस्तो भएको छ,’ उनी भन्छिन् ।

एयरपोर्टमा आफन्त तथा साथिभाइ लिन बसेकाहरुले कहिलेकाहीँ लामो समय कुर्नुपर्छ । धादिङका रंगबहादुर महगर कतारबाट फर्किँदै गरेका छोरा कुरिररहेका छन् ।

२ घण्टा भइसक्यो, छोरा आइपुगेको छैनन् । ‘एक छिनमा आइपुग्ला, प्लेन नै आउन ढिला भएछ,’ उनी भन्छन्, ‘२ वर्षमा घर फर्किन लागेको छोरा कतिबेला देखौं जस्तो भएको छ । यहाँ छोरा आउनासाथ आमाचैँलाई फोन लगाइहाल्छु । फोन गरेरै हैरान पारिसकी ।’

पर्वतका रिजन कार्की मलेसियाबाट दशैं मनाउन स्वदेश फर्किएका छन् । दशैंको मेसो पारेर घर फर्किन पाउँदा खुसीको सीमा नै नभएको उनी बताउँछिन् । ‘कम्पनीले त मानिरहेको थिएन, बल्ल-बल्ल म्यानेजरलाई फकाएर १५ दिनको छुट्टीमा आएँ,’ उनी भन्छन्, ‘यसपाली धित मर्नेगरी रमाइलो गरेर दशैं मनाउने भन्या हो ।’

धेरैजसोले दशैंमा स्वदेश फर्किँदा बालबच्चाका लागि लत्ताकपडा र चकलेट र खेलौना लिएर आउँछन् । यस्तै कतिपयले टेलिभिजन सेट पनि ल्याउँछन् । उनीहरुले जति परदेशबाट सरमामान र पैसा ल्याउँछन्, त्योभन्दा बढी खुसी लिएर आउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment