Comments Add Comment

उद्योग वाणिज्य महासंघको गुट भेलामा विधान संशोधनको वकालत

१५ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघभित्र आगामी नेतृत्वमा शेखर गोल्छालाई रोक्न खुलेर लविङ सुरु भएको छ । हालको कार्यसमितिका तीन उपाध्यक्षहरुले विधान संसोधनको पक्षमा वकालत गरेका छन् ।

हालको विधान अनुसार महासंघको वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुन्छ । यही परिपाटीबाट भवानी राणा अध्यक्ष बनेकी हुन् । अब अध्यक्ष बन्ने लाइनमा हालका वरिष्ठ उपाध्यक्ष गोल्छा छन् । तर, उनलाई रोक्न पूर्व अध्यक्ष चण्डीराज ढकालको सक्रियतामा विधान संसोधनको योजना बनाइएको छ ।

ढकालकै योजनाअनुसार आज वल्ड ट्रेड सेन्टरमा दशैंको शुभकामना आदानप्रदान गर्न भन्दै गुट भेला राखिएको थियो । अध्यक्ष भवानी राणा र वरिष्ठ उपाध्यक्ष गोल्छा अनुपस्थित रहेको कार्यक्रममा तीन उपाध्यक्षहरुले विधान संसोधनको वकालत गरे ।

सुरुमा बोलेका उपाध्यक्ष किशोर प्रधानले विधान संसोधन आजको आवश्यकता भएको भन्दै यसका लागि संसोधन समितिले प्रस्ताव तयार गरिसकेको बताए । आगामी कार्तिक २५ गते हुने साधारणसभाले यसको टुंगो लगाउने उनको भनाइ थियो । अन्य दुई उपाध्यक्ष चन्द्र ढकाल र उमेश श्रेष्ठ तथा प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठले पनि उनको भनाइमा समर्थन जनाएका छन् ।

आजको भेलामा अध्यक्ष राणालाई पनि डाकिएको बताइए पनि उनी उपस्थित भइनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment