Comments Add Comment

त्रिकोणात्मक सिरिजमा जिम्बाब्वेसँग फेरि हार्‍यो नेपाल

१४ असोज, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले जिम्बाब्वेसँग दोस्रो हार व्यहोरेको छ । मंगलबार भएको खेलमा जिम्बाब्वेले नेपाललाई ४० रनले हराएको हो ।

सिंगापुरमा  जिम्बाब्वेले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो । विनोद भण्डारीले व्यक्तिगत ३३ र आरिफ शेखले २५ रन बनाए पनि नेपाली व्याट्सयानहरुले ठूलो साझेदारी हुन सकेन ।

नेपालको सुरुवात पनि राम्रो रहेन । इशान पाण्डेको स्थानमा टिममा आएका पवन शरार्फले खाता नै खोल्न सकेनन् । उपकप्तान दीपेन्द्र सिंह ऐरी पनि मात्र चार रनमा आउट भए, जतिबेला टिमको स्कोर मात्र ५ रन थियो ।

पारस खड्का पनि १२ रनमा आउट भए । त्यसपछि पनि नेपालले लगातार विकेट गुमाइरहृयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्बे‍ले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६० रन बनाएको थियो ।

जिम्बाब्वेको पनि सुरूवात राम्रो थिएन । खाता नै खोल्न नपाउँदै पहिलो विकेटको रुपमा ब्रियन चारीलाई गुमाएको थियो । टिमको स्कोर ३० रन हुँदा रेगिस चकक्भा पभेलियन फर्किँएपछि जिम्बाब्वे दबाबमा आएको थियो तर कप्तान सेन विलियम्सले पारी सम्हाले ।

उनले विष्फोटक ब्याटिङ गर्दै चार चौका र तीन छक्का प्रहार गर्दै ३५ बलमा ५३ रन बनाए ।

त्यस्तै, रियन बरलले अविजित २७, पिटर मोर २१ र टिनोटेन्डा मुटम्बोद्जीले २० रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान २-२ विकेट लिए । कप्तान पारस खड्का र अविनाश बोहराको नाममा समान १-१ विकेट रह्यो ।

नेपालको ब्याटिङ चल्न नसकेको कप्तान खड्काले स्वीकार गरे । बलर र फिल्डरले राम्रो प्रदर्शन गर्दै जिम्बाब्वेलाई १६० रोकेको भन्दै उनले भने, ‘यदि हामीले राम्रो ब्याटिङ गरेको भए यो भेट्टाउन सकिन्थ्यो ।’

अब नेपालले भोलि सिंगापुरसँग खेल्नेछ र घरेलु टोलीलाई हराउन सके जिम्बाब्वेसँग फाइनल खेल्नेछ । कप्तान खड्काले सुधारिएको प्रदर्शनका साथ आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment