
१५ असोज, काठमाडौं । महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको दोस्रो पत्र बुझाएको खुलासा भएको छ ।
महराले मंगलबार सर्तसहित राजीनामा दिएका थिए । उपसभामुखलाई बुझाएको राजीनामा पत्रमा ‘छानबिन प्रकि्रया पूरा नभएसम्मका लागि’ भनिएको थियो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उच्च स्रोतकाअनुसार महराको यस्तो राजीनामा पत्रप्रति उपसभामुख शिवमाया तुम्बाहाम्फेले असन्तुष्टि जनाएकी थिइन् ।
राजीनामामा शर्त नहुने भन्दै उनले महराको पत्रलाई दराजमा थन्क्याएर राख्ने बताएका थिए । नेकपाको सचिवालय बैठकले पनि महरालाई सभामुख र सांसद पदबाट समेत राजीनामा दिन सुझाएको थियो ।
पार्टी नेतृत्व र उपउपसभामुखको असन्तुष्टिपछि महराले अर्काे राजीनामा पत्र बुझाएको स्रोतको दाबी छ ।
त्यसआधारमा उपसभामुख तुम्वाहाङ्फेले बुधबार दिउँसो महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँस्न लगाएकी थिइन् । त्यसमा पनि महराको पहिलो राजीनामा उल्लेख गरिएको शर्त उल्लेख गरिएको छैन ।
सत्तमरुढ नेकपाका एक नेता भन्छन्, ‘अब महरा सभामुख रहनुभएन, संसद सचिवालयले उपयुक्त समयमा नयाँ सभामुख चयनको प्रकि्रया सुरु गर्ने छ ।’
महरामाथि सोमबार सचिवालयकै एक कर्मचारीले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । सुरुमा महराले आरोप अस्वीकार गर्दै वक्तव्य जारी गरेका थिए ।
तर मंगलबार नेकपाको सचिवालय बैठक बसेर महराले सभामुख र सांसद दुबै पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकाल्यो । स्रोतका अनुसार नेकपा शीर्ष नेताहरुबीच भएको कुराकानीका क्रममा महराले बयान बाझिएको थियो ।
सचिवालयको निर्णयपछि महराले सभामुख पदबाट राजीनामा दिए । तर पीडित भनिएकी महिलाले भने आफूमाथि यौन दुव्र्यवहार नै नभएको भन्दै बोली फेरेकी छन् ।
प्रतिक्रिया 4