Comments Add Comment
तनहुँ घटनामा मिनेन्द्र रिजालको वयान :

‘टाउकोमा बियरको बोतल उज्याए, म मुखैमा गएर उभिएँ’

'पुरानो एमालेको संगठनमा माओवादी शैली'

१४ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले तीन दिनअघि कांग्रेस नेता डा. मिनेन्द्र रिजाललाई तनहुँमा बाटो छेकेर आक्रमण प्रयास गरे । डा. रिजालको बाटो छेकेको स्थान भनेर सार्वजनिक भएका तस्वीरमा केही व्यक्तिले हातमा बियरका बोतल लिएको देखिन्छ ।

यो घटनापछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले स्वतन्त्ररुपमा हिँडडुल गर्न पाउने अधिकार सरकारले कुण्ठित गर्न खोजेको भन्दै विरोध गर्‍यो । उता नेकपा तनहुँले भने कांग्रेसले घटनालाई अतिरञ्जित बनाउँदै भ्रम छरेको आरोप लगायो ।

यसैबीच मंगलबार काठमाडौंमा आयोजित एक सार्वजनिक कार्यक्रममा डा. रिजालले तनहुँ घटनाको बेलिबिस्तार लगाएका छन् । कार्यक्रममा डा. रिजालले दिएको जानकारी हामीले जस्ताको त्यस्तै प्रस्तुत गरेका छौं –

सबैभन्दा पहिले सञ्चार जगतलाई र आमरुपमा लोकतन्त्रवादी नागरिकलाई हार्दिक आभार व्यक्त गर्न चाहान्छु कि तनहुँको घटनाको बारेमा एकमतले सबैले यो घटना गलत भयो, यसरी नागरिकको स्वतन्त्रता हनन् गर्न पाइँदैन भनेर जुन समर्थन देखाउनुभएको छ त्यसले मलाई झन् बढी ढाडस मिलेको छ । आउने दिनमा लोकतन्त्र र संविधानको रक्षाका लागि अझ बढी हिम्मतका साथ काम गर्ने हौसला प्राप्त भएको छ । यो हौसला तपाईंहरु सबैले दिनुभएको हो । त्यसका लागि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

तनहुँमा घटना हुनुभन्दा अघिल्लो दिन मलाई रामचन्द्र (पौडेल) दाइले त्यो कार्यक्रम (रिसिङ गाउँपालिकाको भवन शिलान्यास कार्यक्रम) मा जानू भन्नुभयो । त्यहाँबाट रिसिङ गाउँपालिकाको प्रमुखले कार्यक्रममा आउनुस् र भवनको शिलान्यास गरिदिनुस् भन्नुभयो ।

रिसिङ गाउँपालिका भनेको यस्तो गाउँपालिका हो, जहाँ एउटा पनि अर्को पार्टीको मान्छेले चुनाव जितेको छैन । वडासम्म पनि नेपाली कांग्रेसका मान्छेले मात्र चुनाव जितेका छन् ।

त्यो रामचन्द्र दाइको निर्वाचन क्षेत्र होइन, शंकर भण्डारी चुनाव लड्नुभएको निर्वाचन क्षेत्र हो । पारिपट्टी महामन्त्रीजी (शशांक कोइराला) को नवलपरासीको सीमाना पर्छ । खोलाले छुट्याएको छ क्यारे, डाँडाहरु छन् ।

त्यसरी कांग्रेस नै कांग्रेस, एउटा पनि अर्कोले समर्थन पाउन नसक्ने त्यस्तो बलियो गाउँपालिका, नगरपालिका खोज्दाखेरि आज फेला पार्न सहज छैन । त्यस्तो गाउँपालिकामा कसैले आमन्त्रण गर्नु भनेको ठूलो कुरा थियो ।

कार्यक्रममा जाने अघिल्लो दिन मलाई एकाएक तनहुँ जिल्लाबाटै निर्वाचित प्रतिनिधिसभा सदस्य एकजनाले फोन गर्नुभयो- तपाईं कार्यक्रममा नजानुस्, त्यो कार्यक्रम हुन सक्दैन ।

उहाँले मलाई नजा भने पनि भोलिपल्ट बिहान म पोखरा पुगें । पोखराबाट तनहुँको दमौली पुगेपछि अलिकति कुरा आयो कि यहाँ बाटोमा रुख काटेर रुख ढालेर राख्या छन् । सबैतिरबाट हाम्रो कार्यक्रममा आउन चाहने मानिसहरुलाई बन्द गराइया छ । उही पुरानो माओवादी शैली । मिलिसकेको कम्युनिष्ट पार्टीले पुरानो माओवादी शैली समात्या छ । हिजोको एमालेको संगठनमा माओवादीको शैली थपिएर उहाँहरु प्रस्तुत हुनु भाथ्यो ।

उहाँहरुले जान नदिने परिस्थिति बनाउनु भा’छ, प्रशासन पूरै लाग्या छ भन्ने देखेपछि मेरो स्वाभाविक कर्तव्य हो- मैले गृहमन्त्रीलाई फोन गरें, गृहमन्त्रीले फोन उठाउनुभएन ।
गृहमन्त्रीको स्वकीय सचिवसँग सम्पर्क भयो । स्वकीय सचिवले सीडीओसँग समन्वय गरेर गर्नुहोला भन्नुभयो । मैले भनेँ- मैले कसैसँग समन्वय गर्दैन । मैले गृहमन्त्रीलाई जानकारी दिने हो, मैले जानकारी दिएँ, बाँकी कुरा मैले गर्ने होइन । राज्यमा कुनै पनि व्यक्तिको हिँडडुल गर्ने स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रताको रक्षा हुन्छ कि हुँदैन, टेष्ट गर्नुछ, मेरो मुख्य कुरा त्यही नै हो भनें ।

हामी भिमादमा खाना खान बसेका थियौं । सीडीओले जतासुकै हाम्रा मान्छेहरुलाई फोन गरेर कार्यक्रम सम्भव छैन, सात-आठ ठाउँमा रुख ढालेको छ, कुनै हालतमा पनि त्यहाँ पुग्न सक्नु हुन्न भने । अरु तीन-चार ठाउँबाट पनि आउन सक्ने बाटो छ रिसिङमा, तर बाटो-बाटोमा रुख ढालेको छ । कुनै हालतमा कार्यक्रम हुँदैन, नगरपालिका प्रमुखले शिलान्यास गरे पनि हुन्छ, त्यहाँ जानसक्ने सम्भावना छैन, मलाई यो परिस्थिति हुन्छ भन्ने पनि थाहा थिएन भने ।

मैले भनें- यो सरकार जबसम्म नागरिक स्वतन्त्रतालाई मिच्ने काममा लाग्छ, त्यसमा पनि प्रशिक्षण गर्ने हो, म अगाडि बढ्दै जाने हो ।

हामीहरु तीन ठाउँमा रुख पन्छाएर अगाडि बढ्यौं । चौथो ठाउँमा पुगिसकेपछि डेढ सय जति मानिसहरु थिए, एकाएक बियरको बोतलले, ढुंगाले आक्रमण सुरु गरे । मेरो गाडीभन्दा अगाडि मोटरसाइकलमा रहेका साथीहरु अलिकति पछाडि सर्नुभयो । मैले देखें कि यिनीहरुले अब असाध्यै ठूलो आक्रमण गर्छन् । मैले अगाडि बढेर साथीहरु सबैलाई जे कामका लागि अगाडि बढेको हो, त्यो गर्नुपर्छ भनेर गाडी रोकें ।

सीधै ढुंगाहरु आइराछ, बोटलहरु आइराछ, लाग्न त लागेन, सीधै उनीहरुको मुखैमा गएर उभिएँ । एउटा आउँछ, फाल्यो, उज्जाउँछ । तँ जान्छस् ? कसरी जान्छस् ? भन्छ । अर्को आउँछ, बियरको बोतल टाउकोमाथि उज्जाउँछ । मैले भनें- कसरी हान्छस्, हेर्छु म पनि भनेँ । आधा घण्टासम्म सीधै त्यस किसिमको मारामारीको स्थिति भयो । अर्को आधा घण्टा बहस भयो ।

जान दिन्नौं भन्नेहरुलाई मैले के भनेँ भने- हेर्नुस् तपाईं तल गाउँपालिका भवन भएको ठाउँमा जानुहुन्छ ? जहाँ कार्यक्रमस्थल छ त्यहाँ जानुहुन्छ ? हिँड्नस्, म पनि जान्छु, त्यहाँ जाऔं, सबैलाई चित्त बुझाएर शिलान्यास गर्छु । होइन, मलाई रोक्नुहुन्छ भने जसरी भए पनि म जान्छु भनें । अनि पहिलो एक घण्टा समाप्त भयो ।

त्यसपछि तस्वीरहरु सामाजिक सञ्जालमा, आम सञ्चारमा आए । जुन तस्वीर आएको छ, त्यो एक घण्टापछिको हो । आक्रमणको स्थितिबाट बहसको स्थितिमा पुगेपछिको हो । तस्वीर खिच्ने पनि कसैको हिम्मत नहुने अवस्था थियो । उहाँहरुले जान दिन्नौं भन्ने, हामीहरुले जान्छौं भन्ने ।

तपाईंहरु रिसिङको जनता हो भने रिसिङका जनता एक ठाउँमा जम्मा होऔं, म एउटा मान्छेलाई पनि चित्त नबुझ्दासम्म शिलान्यास गर्दिनँ, तर कार्यक्रम स्थलमा जानुपर्छ भनें मैले । तर जान दिन्नौं भन्नुभयो उहाँहरुले । अर्को एक घण्टा त्यसैगरी बित्यो ।

उहाँहरुको आक्रमणबाट ज्यान जोगाउनुपर्ने स्थितिमा पुलिस केही गर्‍या छैन । तीन-चारजना बाहेकलाई तल पुलिसले रोक्या छ । हामीभन्दा ६०-७० फिट तल हाम्रा साथीहरु रोक्किनु भाछ, पुलिस त्यहाँ रोक्या छ । र, यतापटि्ट ढुंगामुढा, लाठो, हतियार बोक्ने मान्छेहरुलाई रोक्या छैन । म, ध्रुवबहादुर जी, जितप्रकाश आलेजी बाहेक चार-पाँच जनाबाहेक अरुलाई त्यहाँ आउन दिएको छैन । हामी भिडसँग बस्या छौं ।

यसरी खबर सबैतिर गयो । वरिष्ठ नेता रामचन्द्र पौडेलले सीडीओलाई बदमासी गर्छौ ? भनेपछि उनले भने- यो यति नियोजित थियो कि आज जसरी भए पनि मिनेन्द्र रिजाललाई फर्काइदिनुस् । दुई दिन पछाडि तपाईं नै आएर शिलान्यास गर्नुस्, म परिस्थिति त्यही किसिमको बनाउँछु । सर्वसम्मत बनाउँछु । कसैले विरोध गर्दैन । तपाईंलाई सम्मान गरेर तपाईंले शिलान्यास गर्नुस् ।

त्यसपछि रामचन्द्र दाइले भन्नुभएछ, होइन जनता आइसकेका छन्, गाउँपालिकाले बोलाएको छ, मिनेन्द्र नै जाने हो भन्नुभयो । मैले पनि रामचन्द्र दाइलाई भनें- रामचन्द्र दाइ म यहाँबाट पछाडि फर्किने होइन ।

किनभने, परीक्षण गरिराछु मैले । नेपालमा निर्वाध रुपमा हिँडडुल गर्न सक्ने स्वतन्त्रता छ कि छैन ? अर्को सरकार, तलको स्थानीय सरकार जहाँ सय प्रतिशत जनप्रतिनिधि एउटा पक्षमा छन्, उनीहरुले आफ्नो अधिकार प्रयोग गर्न सक्छन् कि सक्दैनन् ? गाउँपालिकाको सर्वसम्मत निर्णय कार्यान्वयन हुन्छ कि हुँदैन ? कि त्यसमा पनि माथिको, केन्द्र सरकारको जबरजस्तीको कारण रोकिने हो ? परीक्षण गर्न आवश्यक छ ।

पछि सबैतिरबाट साथीहरु आउनुभयो । उनीहरु डेढ-दुई सयका अगाडि आठ-नौ सय मानिसहरु आएपछि ढुंगा जम्मा गरेर हान्नुपर्छ केहो भनेर साथीहरुले प्रतिवाद गरेपछि डाँडा छाड्न बाध्य भए र तल आए । तल आइसकेपछि हामीतिर, जतासुकै बल्ल पुलिस थपियो । लाजगाजले पनि पुलिस थपिए ।

असाध्यै ठूलो संख्यामा हाम्रो पार्टीका साथीहरु, आम नागरिक, आम जनताहरु आएपछि, पुलिसले रोकेको पनि होइन, उनीहरु त्यसै छाडेर भागेर हिँडे । आम नागरिक उत्रिएपछि उनीहरुसँग अर्को कुनै उपाय थिएन ।

हामीहरु अगाडि गयौं । अर्को तीन-चार ठाउँमा रुख काटेर ढाल्या छ । माथि ढुंगाहरु राख्या छ, त्यो अवस्था हुँदा पनि हामी अन्तिम ठाउँमा पुग्यौं । शिलान्यास गर्‍यौं र फर्कियौं ।

यहाँ केन्द्रमा दुई तिहाइको धाक लगाउँछ ओली सरकार । केन्द्रमा दुई तिहाईलाई काम गर्न दिएन भन्छ । सत प्रतिशत जनप्रतिनिधि एकाठाउँमा बसेर गरेको काम पनि केन्द्रको सरकार प्रायोजितरुपले गर्न नदिने काममा लागेको छ । त्यो पनि संविधानकै अधिकार प्रयोग गर्ने सरकार हो ।

सय प्रतिशतको सरकारले काम गर्न नपाउने अनि दुई तिहाइको सरकारलाई काम गर्न दिएन भन्ने उनीहरुसँग नैतिक अधिकार पनि छैन ।

यो पनि पढ्नुहोस गाउँपालिका केन्द्रको विवादलाई कांग्रेसले राजनीतिकरण गरेको नेकपा सांसदको आरोप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment