Comments Add Comment

महराको राजनीति हरण गर्ने महिला जनयुद्धकी कार्यकर्ता

१५ असोज, काठमाडौं । आजका पत्रिकाहरुमा नेकपा नेता कृष्णबहादुर महराले सभामुख पदबाट दिएको राजीनामाको विषय नै प्राथमिकतामा परेको छ । केही पत्रिकाहरुले त यसैसँग सम्बन्धित कार्टुनसमेत छापेका छन् ।

एक कर्मचारीले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप महरामाथि लगाएपछि उनले मंगलबार राजीनामा दिएका थिए । राजीनामा दिइसकेपछि सार्वजनिक भएको अर्को एक भिडियो अन्तर्वार्तामा भने ती महिलाले महरा आफ्नो ‘बाबुसमान व्यक्ति’ भएको भन्दै आफूमाथि यौन दुर्व्यवहार नभएको बताएकी छिन् ।

महराले राजीनामा दिनुअघिका ४८ घण्टाका घटनाक्रम र राजीनामा दिइसकेपछि अबको प्रक्रियालाई आजका पत्रपत्रिकाहरुले सूक्ष्म ढंगले केलाउने प्रयास गरेका छन् ।

कान्तिपुरले ‘त्यो प्रतिप्रश्न, जसका कारण दिए महराले राजीनामा’ शीर्षकमा समाचार छापेको छ । समाचारमा लेखिएअनुसार घटना सार्वजनिक भएपछि भएको के थियो भन्ने बुझ्न नेकपा प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ मंगलबार बिहानै महराको सरकारी निवास बालुवाटार पुगेका थिए । तर, महरा खुल्न चाहेनन् । पारिवारिक सम्बन्ध भएकाले पहिलेपहिले जाने गरेको तर यसपाली ती महिलाको कोठामा नगएको जिकीर महराले गरे ।

त्यसपछि सोधपुछका लागि अध्यक्ष प्रचण्ड आफैं गए । महराले त्यही कुरा दोहोर्‍याए । तर प्रचण्डले यस्ता ‘टालटुले जवाफले हुँदैन’ भन्दै प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गर्न बालुवाटारस्थित निवासमा पुगे । त्यहीँबाट ओलीले महरालाई फोन गरे । तर, महराले ‘ती महिलालाई चिन्दा पनि चिन्दिनँ र अहिलेसम्म उनको डेरामा गएको पनि छैन’ भनेर जवाफ दिए ।

ओलीले आफूसँग घटनाको सबै रिपोर्ट आइसकेकाले झूट नबोल्न भने । त्यसपछि भने महराले ‘म छानबिनका लागि बाटो खोलिदिन्छु,’ भनेको कान्तिपुरको समाचारमा उल्लेख छ । लगत्तै बसेको सचिवालय बैठकको निर्णयको आधारमा महराले राजीनामा दिएका थिए ।

नेपाल समाचारपत्र दैनिकले महराको राजीनामासँगै नयाँ सभामुखको चर्चा सुरु भएको समाचार लेखेको छ । साथै ‘महराको राजनीति हरण गर्ने महिला माओवादी जनयुद्धकी कार्यकर्ता’ शीर्षकको अर्को समाचार पनि समाचारपत्रमा छ ।

अन्नपूर्ण पोष्ट दैनिकले भने सभामुखको उधारो राजीनामा’ शीर्षकमा समाचार लेखेको छ भने नागरिक दैनिकले महराको राजनीतिक भविष्य नै अन्योलमा परेको समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment