Comments Add Comment

कार्यविधि नबन्दा धनगढीमै थन्किए १६ एम्बुलेन्स

१६ असोज, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले पहाडी जिल्लाहरुका लागि भनेर १६ वटा आधुनिक एम्बुलेन्स खरिद गर्‍यो । तर अहिलेसम्म सम्बन्धित जिल्लालाई वितरण गरिएको छैन ।

प्रदेश सरकारले सात पहाडी जिल्लाका १६ निर्वाचन क्षेत्रमा एउटा–एउटा वितरण गर्ने गरी एम्बुलेन्स खरिद गरेको थियो । रेफर हुने विरामीहरुलाई सुविधासम्पन्न अस्पतालसम्म लैजान सहज होस् भनेर सामाजिक विकास मन्त्रालयमार्फत ३१ असारमा आधुनिक एम्बुलेन्स खरिद गरिएको थियो ।

एम्बुलेन्स खरिद गर्दा ६ करोड २७ लाख ३८ हजार ५ सय रुपैयाँ खर्च भएको मन्त्रालयले बताएको छ ।

तर खरिद गरेको तीन महिनासम्म एम्बुलेन्सहरु बिक्रेता कम्पनी टाटा मोटर्सको सिप्रदी ट्रेडिङ प्रालि धनगढी परिसरमा राखिएको छ ।

एम्बुलेन्स तथा शववाहन सञ्चालन निर्देशिका २०७६ स्वीकृत नभएका कारण एम्बुलेन्स वितरण गर्न नसकेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । कार्यविधिको मस्यौदा तयार भइसकेको तर स्वीकृत हुन बाँकी रहेको उनले बताए ।

कार्यविधि बनेपछि चालक र स्वास्थ्यकर्मीलाई सात दिनको तालिम दिएर एम्बुलेन्स वितरण गर्ने स्वास्थ्य महाशाखा प्रमुख कार्कीले जानकारी दिए । सामाजिक विकास मन्त्रायलयका अनुसार बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र, टाटे स्वास्थ्य चौकी, बैतीडीको रुद्रेश्वर, कुलाउ, दार्चुलाको हिकिला र खार प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स वितरण गर्ने जनाएको छ । यसैगरी, बझाङको मटेला, रायल, डोटीको जिल्ला अस्पातल, चवरा चौतारा स्वास्थ्य चौकी, डडेल्धुराको भागेश्वर र नवदुर्गा स्वास्थ्य चौकी र अछामको जिल्ला अस्पताल, बान्नीगढी, विनायक र बाब्ला स्वास्थ्य चौकीलाई पनि आधुनिक एम्बुलेन्स दिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment