Comments Add Comment

फिल्म हेर्ने बिषयमा कुटाकुट, दर्जन घाइते

२२ असोज, सप्तरी । दूर्गा पूजामा फिल्म हेर्ने बिषयमा विवाद हुँदा सप्तरीको शम्भुनाथ नगरपालिकामा कुटाकुट भएको छ । घटनामा एक दर्जन व्यक्ति घाइते भएका छन् ।

शम्भुनाथ नगरपालिका १ स्थित खोक्सर प्रवाहामा दशैंको अवसरमा बनाइएको दूर्गा पूजा गरिएको स्थान नजिकै प्रोजेक्टरमार्फत धार्मिक फिल्म देखाइएको थियो ।

कृष्णलिला, रामलिलासहितका धार्मिक फिल्म देखाउँदै आएकोमा मंगलबार राति केहि युवाहरुले बलिउड फिल्म देखाउन दबाब दिए ।

त्यही विवादले केहीबेर फिल्म देखाउन रोकियो । त्यही विवादमा कुटाकुट हुँदा एक दर्जन व्यक्ति घाइते भएका छन् ।

उनीहरु मध्ये ५ जनाको टाउकोमा चोट लागेको छ । टाउकोमा चोट लागेका खेमबहादुर कार्की, प्रमोद कोइलारा, राम यादव, मोहम्मद सलिम र कौशल यादवको रायपुरस्थित युनिक अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा धिरेन्द्र चौधरी, अशोक यादव, रमेश यादव, सरोज कार्की, देव सुन्दर यादव पनि घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा संलग्न रहेको भन्दै प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका मध्ये वडा अध्यक्ष इनरदेव साह बुधबार रिहा भएका छन् भने चार जना प्रहरी नियन्त्रणमा नै छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी तिलक भारतीले वडाअध्यक्षलाई सोधपुछका लागि मात्रै बोलाइएको बताए । बाँकीलाई नियन्त्रणमा राखी अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment