Comments Add Comment

दशैं अवधिमा प्रदेश ५ मा दुर्घटना नै दुर्घटना, २४ ले गुमाए ज्यान, ६२ गम्भीर

कारबाहीबाट ४० लाख ६० हजार राजस्व संकलन

२६ असोज, बुटवल । बडा दशैंको अविधमा प्रदेश ५ मा सवारी दुर्घटनामा परी २४ जनाको ज्यान गएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार, असोज १२ देखि २४ सम्म प्रदेशका १२ जिल्लामा भएका सवारी दुर्घटनामा परी २० पुरुष र ४ महिला गरी २४ जनाको ज्यान गएको हो ।

सवारी दुर्घटना र मृत्यु संख्या अघिल्लो वर्षको दशैंको तुलनामा बढेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहले बताए ।

सवारी दुर्घटनामा परी रूपन्देही र पश्चिम नवलपरासीमा ४/४ जनाको, कपिलवस्तु, अर्घाखाँची, प्युठान र रोल्पामा ३/३ जना , बाँकेमा २ तथा दाङ र बर्दियामा १/१ जनाको मृत्यु भएको शाहले जानकारी दिए ।

दुर्घटनामा परी ६२ जना गम्भीर र ५८ जना सामान्य घाइते भएका छन् । गम्भीर घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन् । प्रहरीका अनुसार, ६० दुर्घटनामा ४१ वटा मोटरसाइकल परेका छन् ।

जिल्लागत रूपमा बाँकेमा सबैभन्दा बढी १२ वटा दुर्घटना भएका थिए । रूपन्देहीमा १०, पश्चिम नवलपरासी र दांङमा ८/८, कपिलवस्तुमा ७, बर्दियामा ५, पाल्पा र प्यूठानमा ३/३ दुर्घटना भएको प्रहरी तथ्यांक छ । त्यस्तै, रोल्पामा २, अर्घाखाँची र गुल्मीमा १/१ वटा दुर्घटना भएका छन् । पूर्वी रुकुममा भने यो अबधिमा कुनै दुर्घटना भएको छैन ।

अधिकांश दुर्घटना तीव्र गति र चालकको लापरबाहीका कारण भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मधुसुदन लुइँटेलले बताए ।

४० लाख ६० हजार राजस्व संकलन

दशैंको समयमा ट्राफिक नियमको पनि उत्तिकै उल्लंघन भएको छ । नियम पालना नगर्ने १२ जिल्लाका ६ हजार ७ सय ६३ सवारी साधनलाई कारबाही गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सूचना अधिकारी शाहका अनुसार, कारबाहीबाट ४० लाख ६० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

दुर्घटनामा जस्तै नियम उल्लंघनमा पनि मोटरसाइकल अग्रप्रक्तिमा देखिएका छन् । प्रदेश प्रहरीका अनुसार प्रदेश ५ का २ हजार ३ सय ३९ वटा मोटरसाइकल र स्कुटर कारबाहीमा परेका छन् । जसबाट १४ लाख ५३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै, १ हजार ५२ बस, १२ सय ७७ जिप र कार, टेम्पो २ सय २३, ट्रक १४ सय ४९ र ट्याक्टर ४ सय २३ वटा कारबाहीमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment