Comments Add Comment

सकियो यस वर्षको बडा दशैं, महालक्ष्मीको पूजा–आराधना गरिँदै

२६ असोज, काठमाडौं । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको यस वर्षको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आजबाट सकिएको छ ।

दशैंको अन्तिम दिन आजलाई कोजाग्रत पू्र्णिमा भनिन्छ । आजको दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा–आराधना गरी रातभर जाग्राम बसेर १५ दिन लामो दशैं समापन गर्ने प्रचलन छ ।

माता दुर्गाका तीनवटा रूपमध्येका एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ ।

आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउने धार्मिक विश्वास छ ।

आकाशदीप दान, कार्तिक स्नान शुरु

यसैगरी, सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि आकाशदीप दान पनि सुरु हुन्छ । आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल, आदिको लिंगो ठड्याइन्छ । आकाशदीप दान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि आजदेखि नै शुरु हुन्छ । तुलसी पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास छ ।

कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment