Comments Add Comment

मलाई लाग्दैन हामीमाथिको राजनीति कम हुन्छः दीपकराज गिरी

शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘छ माया छपक्कै’को ओपनिङ आक्रामक भएपछि कलाकार तथा निर्माता दिपकराज गिरी खुशी छन् । तर, चलचित्र रिलिज पूर्व भएको विभिन्न खालेका राजनीतिले आफूहरुलाई पीडा दिएको उनी बताउँछन् ।

दीपकराजले चलचित्र हिट भएपछि अनलाइनखबरसँग कुरा गरेका छन् । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी उनकै शब्दमाः

चलचित्र रिलिज गर्दा धेरैले हामीलाई सबै हल किन चाहियो भनेर प्रश्न गर्छन् ? तर, हाम्रा दर्शकले हाम्रो चलचित्रलाई हात्ती बनाइदिनुभएको छ । अनी म भन्ने गर्छु कि हात्ती त सानो ढोकाबाट छिर्दैन । त्यसका लागि त ठूलो ढोका चाहिन्छ । हामी, हलहरु बाड्न सक्दैनौ ।

अहिले, म आक्रामक भएर बोल्न चाहन्न । किनकी, जितेको मानिस नरम हुनुपर्छ । केही मल्टिप्लेक्समा हामीले आशातित शो पाएनौं । तर, अरु नयाँ खुलेका हलले शो दिन थाले । काठमाण्डौ बाहिर ‘छक्का पन्जा ३’को भन्दा यसको ओपनिङ धेरै राम्रो भयो । एकातिर कम हुँदा अर्कोतिर थपियो ।

यसपटक चलचित्रको समिक्षा राम्रै आएको छ । यसमा त म खुशी नै छु । दर्शकले त हामीलाई सधै नै राम्रै नै भनिदिनुभएको छ । यसपटक समिक्षकले राम्रै भन्नुभएको छ । यसबाट हामी मात्तिदैनौ । तर, म समिक्षाको राम्रो भित्र पनि नराम्रो बुँदा खोजिरहेको छु । मेरो ध्यान कमजोरी के मा भयो भन्नेमा पनि छ ।

हाम्रो चलचित्र रिलिज हुनु अगाडि हलका लागि भएको राजनीति पीडादायक नै थियो । धेरै कुरामा हाम्रो मतभेद भयो । विदेशमा ठूलो ब्यानरको चलचित्र रिलिज भयो भने अरुले बाटो खोलिदिन्छन् । तर, नेपालमा हाम्रो चलचित्र रिलिज हुँदा आधा हल पाइयो भने ओभर फ्लो खान पाइन्छ भन्ने लोभ केही निर्मातामा भयो । जसलेगर्दा, हामीलाई धकेल्ने प्रयास भयो । तर, दशैंपछि आउँदा पनि दर्शकले हाम्रो चलचित्रलाई यति धेरै माया गर्नुभएको छ ।

हो, यसपटक हामीले गहन बिषयलाई उठान गरेका छौ । तर, बिषयवस्तु त हरेक चलचित्रमा नै हुन्छन् । हामीसँग रिलिज भएका अरु चलचित्र पनि बिषयवस्तुमै थिए होला नी । तर, बिषयवस्तुको प्रस्तुतिकरण कस्तो हो भन्ने हुन्छ । यती धेरै कथाहरु छन्, जुनलाई हामीले भन्न सकेका छैनौ । कथा भन्न जान्नुपर्छ ।

हाम्रो टिमसँग अझै धेरै चुनौती छन् । सधै, हामी सामाजिक कथामा मात्र चलचित्र बनाउँदैनौ । हाम्रो टिमका साथीहरु बसेर छलफल गर्छौ र राम्रो बिषय लिन्छौ । सधै सामाजिक कथा मात्र बनाउन पर्छ भन्ने पनि छैन । अब, हामी नयाँ चलचित्र हसाँउने मात्र बनाउन सक्छौ ।

‘छ माया छपक्कै’ चलेपछि हामीमाथिको राजनीति घट्छ भन्ने मलाई लाग्दैन । मेस्सीले निलो लूगा लगाएर पनि पेल्छन्, सेतो लगाएर पनि पेल्छन् । यसलाई रचनात्मक रुपमा लिनुपर्छ । हाम्रो टिमले राम्रो काम गरिरहेको छ, यसले अरुलाई स्वभाविक दवाव नै दिन्छ । यो क्रियटिभ क्षेत्र हो । दिपकको टिमले के तरिका लगाएर चलचित्र हिट बनाउँछन् भन्ने सोच अरुमा आयो भने राम्रो हुन्छ । नेपाली चलचित्र मात्र चल्ने हलहरुको अवस्था दयनिय छ । ती हलहरुलाई उकास्न सबैले काम गर्नुपर्छ । मलाई धेरैले हल विरोधी भन्छन् । तर, हामी हल विरोधी होइनौ । नेपाली चलचित्र मात्र चलाएर बाँचेका हलहरुसँग त म नतमस्तक नै छु ।

चलचित्रको वर्ड अफ माउथ बलियो छ । यति नै कमाउँछ भन्ने त कसरी मैले भन्न सकुला । तर, यो चलचित्रले नयाँ दर्शक तानिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment