News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधि, विधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार १५ औँ महाधिवेशन सम्पन्न गरिने बताएका छन्।
- उनले विशेष महाधिवेशन कांग्रेसको चाहना नभएको र कसैको व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न विधि र नियम मिच्नु उचित नहुने बताए।
- सिंहले न्यायपालिकाको स्वतन्त्रताको सम्मान गर्नुपर्ने र राजनीतिक विषयमा निर्णय राजनीतिक दलले नै गर्नुपर्ने धारणा राखे।
२ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधि, विधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार १५ औँ महाधिवेशन सम्पन्न गरिने बताएका छन् ।
शुक्रवार काठमाडौंको शोभा भगवतीस्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले १५ औं महाधिवेशनको तयारीमा आफूहरु अघि बढिसकेको बताए ।
‘जस्तोसुकै परिस्थितिमा पनि १४ औँ महाधिवेशनबाट १५ औँ महाधिवेशन विधिसम्मत रूपमा सम्पन्न गर्न हामी अडिग छौँ,’ उनले भने । विशेष महाधिवेशन कांग्रेसको चाहना नभएको जिकिर गर्दै उनले कसैको व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न विधि र नियम मिच्नु उचित नहुने धारणा राखे ।
राजनीतिक दलका लागि राजनीतिक मुद्दा र एजेण्डा मुख्य हुने उल्लेख गर्दै न्यायपालिकाको स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताए । अदालतले न्यायिक विषयमा आफ्नो भूमिका निर्वाह गर्ने र राजनीतिक विषयमा राजनीतिक दलले नै निर्णय गर्नुपर्ने उनले धारणा राखे ।
‘राजनीतिक मुद्दा र एजेण्डा पार्टीले नै तय गर्ने हो भने न्यायिक विषय अदालतले हेर्ने हो,’ उनले भने, ‘नेपाली कांग्रेस लोकतन्त्र र न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्छ ।’
वीपी कोईराला र गणेशमान सिंहले २०३३ सालमा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्कंदा समेत आफ्नो राजनीतिक उद्देश्य र राष्ट्रियताको सवाललाई प्राथमिकतामा राखेको भन्दै उनले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमतसंग्रहमा पञ्चायतले जिते पनि कांग्रेस आफ्नो लोकतान्त्रिक मान्यताबाट पछि नहटेको स्मरण गरे । त्यसकै निरन्तरतामा २०४६ सालमा परिवर्तन सम्भव भएको भन्दै उनले भने, ‘आज पनि कांग्रेसले आफ्नो विधि, नियम र लोकतान्त्रिक मूल्य–मान्यताको उदाहरण प्रस्तुत गर्नुपर्छ । जस्तोसुकै परिस्थितिमा पनि १४ औँ महाधिवेशनबाट १५ औँ महाधिवेशन विधिसम्मत रूपमा सम्पन्न गर्न हामी अडिग छौँ ।’
पार्टीको विधान र नेपालको संविधानको भावना तथा मर्मअनुसार महाधिवेशन सम्पन्न गर्दै विधिको शासन, जनताको अधिकार र राष्ट्रको हितको रक्षा गर्नु आफूहरुको दायित्व भएको उनले बताए ।
प्रतिक्रिया 4