Comments Add Comment

कोसीटप्पु : घुम्ने ठाउँ छ, सरकारको ध्यान छैन

२७ असोज, सुनसरी । सरकारले आगामी वर्ष सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउँदैछ । भ्रमण वर्षलाई लक्षित गर्दै सार्वजनिक गरिएको सय गन्तव्यमध्येमा पर्ने कोसीटप्पु वन्य जन्तु आरक्ष घुम्नका लागि आकर्षक गन्तव्य बन्न सक्छ ।

तर, प्रदेश १ सरकार र स्थानीय सरकारले कोसीको पर्यटन विकासमा खासै ध्यान दिएको छैन । यतिसम्म कि यहाँका हात्ती चितवनको सौराहामा ओसारिँदासम्म प्रदेश सरकार कानमा तेल हालेर बसिरहेको छ ।

कोसी नदीको केही भागसमेत समेटेर १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्ष मुलुकको सबैभन्दा सानो क्षेत्रफल भएको आरक्ष हो । आरक्ष क्षेत्रमा अर्ना र दुर्लभ चराको यस आरक्षमा बसोबास छ ।

वि.स. २०३२ सालमा स्थापना भएको यस आरक्ष कोसी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो । आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरेर तिनवटा जिल्लामा फैलिएको छ । क्षेत्रफलका आधारमा सानो भए पनि नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा भने यो परिचित छ । आरक्ष सन् १९८७ रामसार सुचीमा सुचीकृत भएको थियो ।

अनलाइनखबरको टोलीले कोसी टप्पुको अवलोकन गरेर त्यहाँ भएका विशेषता र घुमाईको अनुभव लिएको छ । कोसीटप्पुमा कहाँबाट जाने ? कसरी घुम्ने भन्ने विषयमा यहाँ केहि जानकारी प्रस्तुत गरिँदैछ ।

आरक्षका आकर्षण

कोसी टप्पु वन्यजन्तु आरक्षको मूख्य आकर्षण भने अर्ना र चराचुरुङ्गी नै हो । अर्ना त नेपालमा केवल यहीँ मात्र पाइन्छ । यसैले कोसीटप्पुलाई अर्नाको राजधानी, चराको स्वर्ग भनिन्छ।विश्वमै नपाई दुर्लभ चराचुरुङ्गीहरु यहाँ पाइन्छन् । यसका अलवा हात्ति सफारीका लागि पनि आरक्ष राम्रो मानिन्छ । १० वटा माउ हात्तिको दरबन्दी रहेको आरक्षको हात्तिसारमा अहिले ५ माउँ हात्ती छन् भने उनीहरुका २ वटा बच्चा छन् । यतिबेला आरक्षमा जाने हो भने साना हात्तिका बच्चाहरुसँग खेल्न समेत पाइन्छ ।

यो पनि पढ्नुहोस कोशीटप्पुको नयाँ सदस्य कुसाहाकली !  

आरक्षको प्रमुख विशेषताका रुपमा रहेका अर्नाको संख्या ४४१ छ । आरक्षका सहायक संरक्षण अधिकृत गणेश तिवारीका अनुसार जंगली हात्तीको संख्या १४ वटा छ भने ५२६ प्रजातिका चराचुरुङ्गीहरु आरक्षभित्र छन् ।

अर्को दुर्लभ मानिने मगर गोही ३ सयको हाराहारीमा रहेको आरक्षको तथ्यांक छ । यसैगरी आरक्षमा चित्तर, बँदेल सयौंको संख्यामा छन् । लोपोन्मुख खर मयुर नेपालमा जम्मा १०० वटा छन् । यसको ५० प्रतिशत हिस्सा कोसी टप्पु वन्यजन्तु आरक्षमै छन् । लोपोन्मुख गिद्धहरुको संख्या पनि राम्रो छ । जरायो लगायतका अन्य वन्यजन्तुको संख्या उल्लेख्य छ ।

आरक्षभित्र जंगली गाईहरु करिब १४ हजारको संख्यामा छन् । धेरैजसो घरपालुवा गाई आरक्ष प्रवेश गरेर त्यहीँ जंगली बनेका हुन् । आरक्ष सीमानामा सप्तकोसी नदीको भंगालोमा डल्फिनसमेत पाइन्छ । यी जीवजन्तुहरु आरक्षमा प्रत्यक्ष हेर्न पाइन्छ ।

आरक्षभित्र ठाउँठाउँमा सामान्य खालका भ्यू टावरहरु राखिएका छन् । भ्यूटावरमा चढेर कोसी टापुका मनोरम दृश्य र जंगली जनावरहरु हेरेर भरपुर आनन्द लिन सकिन्छ ।

पर्यटकका लागि ‘उत्कृष्ट’ गन्तव्य !

आरक्षभित्र भएका वन्जयजन्तुमात्रै पर्यटनका आकर्षण पक्कै होइनन् । आरक्ष क्षेत्रको जमीन, रुख विरुवा साथै आरक्ष नजिकैका स्थानीयको रहन-सहन पनि पर्यटक तान्ने अर्को आधार हुन सक्छन् । सप्तरीको सप्तकोसी नगरपालिका, उदयपुरको वेलका नगरपालिका र सुनसरीको कोसी गाउँपालिका र बराह नगरपालिका छोएको आरक्षमा जताबाट प्रवेश गर्‍यो भने पनि फरक अनुभूति गर्न सकिन्छ ।

सप्तरी जिल्ला क्षेत्रमा प्रवेश गर्ने हो भने सिमसार क्षेत्र हेर्न सकिन्छ । अर्को उदयपुरको क्षेत्रतिरतर्फबाट आरक्षतिर प्रवेश गर्ने हो भने त्यहाँका स्थानीयको रहन-सहन हेर्न पाइन्छ । कोसीको तटमा बसेर सिरुका बोट नियाल्न पाल्न पाइन्छ ।

यो पनि पढ्नुहोस कोशीटप्पुमा अर्नाको बिऊ जोगाउनै मुस्किल !

उदयपुरको बेलका नगरपालिका वडा नम्बर १, २ वा ९ बाट आरक्षतर्फ प्रवेश गर्ने हो भने टापु क्षेत्रमा एउटा ठूलो बस्ती छ । त्यहाँका स्थानीयले व्यवसायिकरुपमा तरकारी खेती गर्दै आएका छन् । सिजनमा उखुको खेती पनि उत्तिकै हुने गरेको छ ।

बेमौसममा समेत परिपरिका तरकारी खेति हुने यो ठाउँबाट उत्पादित तरकारी उदयपुर, सप्तरी र सुनसरीका विभिन्न ठाउँमा लगेर बिक्री गर्ने गरिन्छ । दैनिक खुला चौरमा दिउँसो गोठालाहरु गाईवस्तु चराइरहेका हुन्छन् । गुहारेका गाई भैंसीहरु सैयौंको संख्यामा दिउँसो चौरमा भेटिन्छन् ।

आरक्ष नजिकै सप्तकोसी र ठाउँ-ठाउँमा त्यसका भंगाला छन् । स्थानीयहरु सुनसरीतर्फ जानुपर्दा हिउँद- वर्षा दुबै सिजनमा डुंगाको प्रयोग गर्छन् । स्थानीयको आम्दानीको स्रोत तरकारी खेती हो भने त्यस समुदायमा गुणी (माछा मार्ने) समुदाय पनि छ । बिहानै डुंगा लिएर केही स्थानीयवासी माछा मार्न नदीमा जान्छन् र नजिकैको बजारमा लगेर बिक्री गर्छन् ।

वर्षाका बेला चारै दिशाबाट स्थानीयबासी नदीको घेरामा पर्छन । एकातर्फ सप्तकोशी नदी र अन्य दिशामा सप्तकोशीका भंगालाहरु बाढीले उर्लिन्छन् जसका कारण उनीहरु गाउँमै थुनिन्छन् । उदयपुर, सुनसरी वा सप्तरी कतै जानु परे उनीहरुले डुंगाको सहारा लिनुपर्छ कि त पौडिएर नदी तर्नुपर्छ ।

टप्पु क्षेत्रका स्थानीयको दैनिकी कसरी चल्छ भन्ने यहाँ नियाल्न पनि पाइन्छ । टापु क्षेत्रमा यतिबेला सेताम्मे फुलेका सिरुका बोट देख्न सकिन्छ । आरक्ष नजिकै तालहरु र वरिपरि देखिने बोटविरुवाले पर्यटकलाई मोहित पार्न सक्छ ।

कसरी पुग्ने कोसीटप्पु ?

आरक्षमा पुग्न भन्दा पहिले तपाई कुन क्षेत्रबाट प्रवेश गर्ने भन्ने सोच्नुपर्ने हुन्छ । सप्तरी र उदयपुरतर्फबाट प्रवेश गर्दा टाप्पुको भौगोलिक मनोरम दृश्य र जनावरहरु देख्न सक्नुहुनेछ । तर, आरक्ष घुम्नका लागि यो पर्याप्त छैन ।

तपाईलाई हात्तीका बच्चासँग खेल्न, हात्ति सफारी गर्न वा अर्ना लगायतका जंगली जनावरहरु प्रत्यक्ष हेर्नका लागि आरक्षको मुख्य द्वारबाट प्रवेश गर्नुपर्ने हुन्छ । मूख्यद्वार सुनसरीको राजावासमा छ ।

तपाई सप्तरीबाट जाँदा कोसी ब्यारेज कटेपछि सुनसरीको भाण्टाबारी पुग्न सक्नुहुन्छ । भाण्टाबारीबाट थोरै अघि बढेपछि आरक्ष जाने बाटो छ । भाण्टाबारीबाट करिब ४ किलोमिटरको दूरीमा आरक्षको सीमाना आइपुग्छ । प्रवेशद्वार भने अलि टाढा छ । तपाईले त्यहाँबाट आरक्षको अनुमति लिएर प्रवेश गर्नुपर्ने हुन्छ ।

सवारी साधन लिएर जाँदा तपाईले राजावासतर्फको गेटबाट प्रवेश गर्नुपर्ने हुन्छ । अर्को बाटो भनेको पूर्व-पश्चिम राजमार्गमै पर्ने सुनसरीको इटहरी र झुम्काको बीचमा पकली भन्ने ठाउँ छ । पकलीको कान्छीचोकबाट चतरा हुँदै उदयपुरको रामपुर जानेबाटोतर्फ लाग्नुपर्छ ।

चतरा नपुग्दै कालाबञ्जर हुँदै नहदा भन्ने ठाउँमा पुगिन्छ । नहदाबाट चक्रघट्टी हुँदै राजावास पुगिन्छ । सानो गाडीमा तपाई इटहरीबाट आधा घण्टाको समयमा आरक्ष पुग्न सक्नुहुन्छ । बाटो सबै कालोपत्रे भएका कारण यहाँ सडकमा कारण सास्ती खेप्नु पर्दैन ।

यो पनि पढ्नुहोस कोशीटप्पुका अर्नाको चितवन बसाइँ सराइ (फोटो फिचर)

आरक्षले प्रतिव्यक्ति १ सय रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ । मोटरसाइकलका लागि भने ३ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । ठूला सवारी साधनलाई भने आरक्षले प्रवेश दिँदैन । मोटरसाइकल लिएर जाँदा पनि हर्न पूर्णरुपमा निषेध गरिएको छ ।

आरक्षको राजावास प्रवेशद्वारबाट भाण्टावारीतर्फको सीमानासम्मको दुरी १९ किलो मिटर छ । तपाई त्यस क्षेत्रभित्र हात्ती सफारी गर्ने, हात्तीका बच्चा हेर्ने, चित्तल, जरायो हेर्ने लगायतका अनुभव लिन सक्नु हुनेछ ।

ठाउँ-ठाउँमा राखिएका भ्यूटावरमा चढेर तपाईले विभिन्न प्रकारका जंगलीजनावर तथा हरियाली वातावरण, कोशीको सिमसार क्षेत्र लगायत अवलोकन गर्न सक्नुहुनेछ ।

जाडोको मौसममा भने हात्ती तथा गैंडाले आक्रमण गर्ने खतरा पनि हुने आरक्षका अधिकारीहरु बताउँछन् । यसबाट तपाई सहज हुनुपर्छ । नजिकै जंगली जनाबर आइहाले विपरीत दिशातर्फ भाग्ने, नजिकै आरक्षका कार्यालयहरु भए त्यता जाने वा तपाई कुनै भ्यूटावर नजिकै हुनुहुन्छ भने त्यहाँ चढ्न सक्नु हुनेछ ।

पर्यटनको सम्भावनाका हिसाबले चितवन राष्ट्रिय निकुञ्ज भन्दा यस आरक्ष राम्रो मानिन्छ । चितवनमा पाइने बाघ बाहेक अन्य सबै जनाबर पाइन्छन् । त्यसका अतिरिक्त अर्नाजस्ता विभिन्न जीवजन्तुहरु नेपालका अन्य ठाउँहरुमा नपाइने यहाँ पाइन्छन् । यसकारण पनि कोसीटप्पुको छुट्टै महत्व छ ।

तर, पर्यटकका लागि दुःखको कुरा, यहाँ जिप सफारीको सुविधा छैन । जिप सफारी नभएका कारण घुम्नका लागि थोरै गाह्रो छ । जसका कारण पनि पर्यटकको आकर्षण चितवनमा जस्तो कोसीटप्पुमा हुन सकिरहेको छैन ।

काेशी टप्पुभित्र भेटिएकाे अर्ना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

ट्रेन्डिङ

Advertisment