Comments Add Comment

कोशी टप्पुको जिन्दगी : मानव भर्सेस जनावर !

सम्झाउन सकिएन- कर्मचारी, यस्तै चलिरहेछ- स्थानीय

२८ असोज, सुनसरी । बाहिर टन्टलापुर घाम लागिरहेको थियो । गोठालाहरु कोही छाता ओढेर बस्तु चरिरहेका ठाउँमा बसेका थिए । कोही सल ओढेर मोवाइल चलाउन ब्यस्त थिए । मध्यान्हको घाम चर्किरहेका बेला अधबैसें महिला हातमा हँसिया बोकेर चोरबाटो हुँदै कोशीटप्पु वन्यजन्तु आरक्षतर्फ प्रवेश गर्दै थिइन् । उनीसँगै १३, १४ वर्षका दुई किशोरी पनि थिए ।

आरक्षभित्र प्रवेश गर्ने गेटहरुमा नेपाली सेना तैनाथ छन् । मुख्य गेटबाट नेपाली सेना र बीचको अर्को गेटमा सशस्त्र प्रहरी बलका जवान काँधमा बन्दुक बोकेर ड्युटीमा खटिएका छन् ।

प्रकाशपुरतर्फको आरक्षको गेटबाट करिब ४ किलो मिटर कटेपछि भित्र सशस्त्र प्रहरीको ब्यारेक भेटिन्छ । त्योभन्दा पनि अझै अगाडि (मुख्य गेटबाट करिब ९ मिलोमिटर) बढेपछि आरक्षको मुख्य कार्यालय छ । आरक्षको कार्यालयसँगै नेपाली सेनाको आरक्ष, सुरक्षा गण पनि ।

सशस्त्र प्रहरीको ब्यारेक र आरक्षको कार्यालयको मध्यभागतिर आरक्ष प्रवेश गर्ने सानो बाटो छ । हो त्यही बाटोबाट अधबैंसे महिला आरक्ष प्रवेश गर्दै छिन् । यताउता नजर लगाउँदै उनी अघि बढिन् । घुर्ररर मोटरसाइकलको आवाज आएपछि उनी हच्किइन् ।

यो पनि पढ्नुहोस कोसीटप्पु : घुम्ने ठाउँ छ, सरकारको ध्यान छैन

नजिकै मोटसाइकल देखेपछि उनी आरक्ष नजिकै पुगेर पनि फर्किइन् । आरक्ष प्रवेश गर्ने मनसाय आफ्नो छैनजस्तो देखाउन गरी उनले गाउँतर्फको खुला चौरमा नजर लगाइन् । नजिकै रहेको एउटा गाईलाई बोलाइन् ।

उनको नजिकै मोटसाइकल रोकिएपछि सँगै रहेका २ किशोरी कुलेलम ठोकिहाले ।

यो दृश्यले हामीलाई अचम्म लाग्यो । तपाई किन फर्किनुभएको ? हामीले महिलालाई सोध्यौं ।

‘म वस्तु चराउन आएको’ उनले जवाफ फर्काइन् ।

‘तपाई अघि आरक्षभित्र प्रवेश गर्नै लाग्नुभएको थियो होइन ?’

यो प्रश्न पछि उनी झन् डराइन् । उनले आफूलाई प्रश्न सोध्नेको अनुहारमा पनि हेरिनन् । र, दोस्रो प्रश्नको उत्तर नदिई गाईलाई खेदाउने बाहनामा बाटो तताइन् ।

नजिकै अन्य गोठाला पनि थिए । उनीहरु भागेको देखेर हामीले नजिकै रहेका अन्य गोठालासँग कुरा गर्न खोज्यौं । उनीहरु भागेको दृश्य हासेर नियालिरहेका गोठालाहरु बोल्न राजी भएनन् । साइकलमा आउँदै गरेका एक किशोरलाई बोलायौं ।

‘भाइ उनीहरुलाई चिन्नुहुन्छ ?’

‘उनीहरुले तपाईहरुलाई झुट बोलेर भागे, तपाईहरुले केही गर्नु भएन ।’

हाम्रो जिज्ञासासँग बेमेल हुनेखालको जवाफ ती किशोरले फर्काए ।

‘अरे, अनि के गर्नुपर्‍यो त ?’ हाम्रो अर्को जिज्ञासापछि उनी छक्क परे ।

यो पनि पढ्नुहोस सौराहा लगियो कोशी टप्पुका हात्ती, माउते फुर्सदिला

पछि थाहा भयो, ती भाग्ने र त्यहाँ भेटिएका सबै गोठालाहरुले हामीलाई आरक्षमा कार्यरत कर्मचारी ठानेका रहेछन् । आरक्षमा घाँस काट्नका लागि भन्दै उनीहरु त्यहाँ प्रवेश गरेका रहेछन् ।

आरक्षभित्र घाँस दाउरा काट्न प्रवेश गर्न नपाइने भएपछि उनीहरु कर्मचारीको आँखा छलेर प्रवेश गर्न खोजेको बुझियो । त्यहाँबाट मोटरसाइकल स्टार्ट गरेर अनलाइनखबरको टोली अलि अगाडि बढ्यो । अगाडि बा २ झ ३५५२ नम्बरको सेतो प्लेटको गाडी विस्तारै आइरहेको थियो । छेउमै अर्को एउटा घाँस दाउरेको टोली रहेछ । गाडी र मोटरसाइकल देखेपछि काँधमा दाउरा बोकेका महिलाले हत्त न पत्त दाउरा मिल्काए । चारकोसे झाडी हुँदै उनीहरु कुलेलम ठोके ।

सेतो नम्बर प्लेटको गाडीमा २ जना वन कर्मचारी रहेछन् । उनीहरु ओर्लिए । दाउरे भागेकोतिर उनीहरु विस्तारै अघि बढे । ८/९ जनाको समूह टाउकामा बोकेको घाँस दाउरा छाडेर भाग्दा एक महिला र पुरुष भने चुपै लागेर उभिए । आरक्षका कर्मचारीले नजिकै गएर उनीहरुसँग केही सोधपुछ गरे । हामी बाटामा बसिरहृयौं । कर्मचारीले केही केरकार गरेपछि गाडीतिर फर्किए । उनीहरुका पछिपछि महिला र पुरुष पनि घाँस  बोकेर आए ।

‘तपाईहरु त भाग्नुभएन त ?’ हाम्रो प्रश्नको जवाफ ती दुईजनाले होइन, आरक्षका कर्मचारीले फर्काए, ‘वहाँहरुसँग पास रहेछ ।’

लगत्तै ती महिलाले हत्त न पत्त कम्मरमा चेपेको एउटा कागज निकालिहालिन् र हामीलाई देखाइन् । घाँस काट्नका लागि उनीहरुले पास लिएका रहेछन् । आरक्षको नजिकैसम्म घाँसमात्रै काट्का लागि पास दिने व्यवस्था रहेछ । सोहीअनुसार ३० रुपैयाँ राजश्व तिरेर पास लिएको उनीहरुले बताए ।

ज्यान जोखिममा पारेर घाँस-दाउरा

आरक्ष वरिपरिका स्थानीयहरु सबै खेती किसान गर्नेहरु नै छन् । हरेकका घरमा भैंसी होस् या गाई बाख्रा, केही न केही पालेकै छन् । सबैका करेसाबारीमा तरकारी फलाइएको छ । कसैले आफूलाई खान मात्र पुर्‍याउँछन् त कसैले व्यवसायिकरुपमै तरकारी खेति गरिरहेका छन् ।

सबैका घरमा गाईबस्तु भएका कारण पनि उनीहरुले दैनिक घाँस दाउरा गर्नैपर्छ । शहरमा जस्तो उनीहरु ग्यास चुल्हो प्रयोग गर्दैनन् । खाना पकाउन दाउरा नै खपत गर्छन् । जाडोका बेला धुनी ताप्ने प्रचलनका कारणले पनि धेरै दाउरा खपत हुन्छ । जसका कारण उनीहरु आरक्षमा प्रवेश गर्न बाध्य छन् ।

आरक्षमा प्रवेश गर्न ज्यान जोखिममा राख्नुपर्छ । अर्ना, हात्ति, बँदेल जस्ता जंगली जनावरहरुले जहाँ भेट्यो, त्यहीँ आक्रमण गर्छन् । अर्कोतिर जंगली जनावरको जस्तै कर्मचारीहरुको पनि डर छ । कर्मचारी र जंगली जनावर दुबैको आँखा छलेर घाँस दाउरा गर्नुपर्ने अवस्था छ ।

आरक्षका अधिकारी भन्छन्- जति सम्झाए पनि टेर्दैनन्

कोशीटप्पु नेपालको सबै भन्दा कम क्षेत्रफल भएको आरक्ष हो । यसको क्षेत्रफल जम्मा १७५ वर्ग किमी छ । क्षेत्रफलको आधारमा सानो भए पनि यहाँ जंगली जनावरहरुको संख्या भने ठूलो छ । अर्नाको संख्यामात्रै ४४१ छ भने करिब डेढ दर्जन जंगली हात्ती छन् । गोहीको संख्या ३ सयको हाराहारीमा छ । बँदेलको संख्या पनि ठूलै छ ।

आरक्षमा छाडेर जंगली बनेका गाईगोरुको संख्या त लगभग १४ हजार छ । यी सबै जनावरले मान्छेलाई भेटे आक्रमण गर्छन् । जंगली जनावरले आक्रमण गरेर मृत्यु हुने भन्दै आरक्षले प्रवेशमा कडाइ गरे पनि किसानहरु सकेसम्म कर्मचारीको आँखा छलेर प्रवेश गर्ने गरेको सहायक संरक्षण अधिकृत गणेश तिवारी बताउँछन् ।

यो पनि पढ्नुहोस कोशीटप्पुमा अर्नाको बिऊ जोगाउनै मुस्किल !

ज्यान जोखिममा हुन्छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि आरक्षमै प्रवेश गरेर घाँस दाउरा काट्ने गरेको तिवारीले सुनाए । आरक्षणले सम्झाउनेमात्रै होइन, विना अनुमति प्रवेश गरे कारबाही पनि गर्ने गरेको उनले जानकारी दिए ।

आरक्षमा पर्यटकहरुले भने अनुमति लिएर प्रवेश गर्न पाउँछन् । घुम्नका लागि प्रतिव्यक्ति एक सय रुपैयाँ र मोटरसाइकलका हकमा चालक समेतको गरेर ३ सय रुपैयाँ आरक्षले लिने गरेको छ ।

सहायक संरक्षण अधिकृत तिवारीका अनुसार विनाअनुमति आरक्षभित्र प्रवेश गरेमा प्रवेश शुल्कको दोब्बर जरिवाना र कुनै क्षति भए क्षति अनुसारको बिगोसमेत भराउने कानूनी व्यवस्था छ । बिगो १० हजारसम्मको भए आरक्षका वार्डेन (प्रमुख संरक्षण अधिकृत) ले नै फैसला गर्न सक्छन् भने त्यो भन्दा ठूलो भए अदालती प्रक्रियामा जान्छ ।

ज्यानको जोखिम र कारवाहीको प्रवाहसमेत नगरी किसानहरु लुकिछिपी प्रवेश गरेको उनी बताउँछन् । ‘अस्ति भर्खरै म गएँ, गाउँलेलाई धेरै बुझाएँ, उनीहरुले हाम्रो यहीँ घर छ । हामी वर्षौंदेखि यहीँ बसेका छौं भनेर निहुँ खोजे’ तिवारी भन्छन्, ‘मैले सम्झाएर फर्केको केहीबेरमा आरक्षमा अर्नाले ३ जना मान्छेलाई घाइते बनाएछ । गएर हेर्दा अघि मैले सम्झाएकै व्यक्तिहरु पनि थिए ।’

तिवारीले स्थानीयलाई सम्झाउनै चर्को पर्ने गरेको गुनासो सुनाए ।

हुन त सरकारले आरक्षमा घाँस दाउरा गर्न नदिने हो भने छेउछाउमा बस्ती नै नराख्नुपर्ने हो । तर, दशकौं अघि आरक्ष क्षेत्रबाट सट्टाभर्ना दिइएका किसानले त अहिलेसम्म नयाँ ठाउँमा जमिन उपभोग गर्न नपाएर आन्दोलन गरिरहेका छन् भने थप वस्ती हटाउने स्थितिमा सरकार देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

ट्रेन्डिङ

Advertisment