१७ मंसिर, काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ बस्तिपुरमा रोकिराखेको कन्टेरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।
प्रहरीका अनुसार चितवनतर्फबाट हेटौँडा दिशातर्फ जाँदै गरेको ना ५ ख ३५८७ नम्बरको कन्टेनर सडकमा बिग्रिएर रोकिराखेको अवस्थामा बा ४९ प ६६५८ नम्बरको मोटरसाइकल गएराति करिब ११ बजेर ४० मिनेटमा ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका–२ गैरीभञ्याङका ३० वर्षीय बालकृष्ण अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनलाई मंगलबार मध्यराति १२ बजेर १० मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
सो दुर्घटनामा लमजुङको बेसीशहर नगरपालिका–१० पासाचौरका ४८ वर्षीय भवरजंग गुरुङ घाइते भएका छन् । उनको बायाँ खुट्टा, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको मकवानपुरमा उपचार भइरहेको छ ।
दुर्घटना भएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय नेवारपानीबाट ट्राफिकसहितको टोली खटिएको थियो । प्रारम्भिक उद्धारपछि घाइतेहरूलाई अस्पताल पठाइएको थियो ।
कन्टेनर चालक पर्साको धोबिनी गाउँपालिका–२ का २४ वर्षीय राजवली राम राति १ बजेतिर प्रहरीको सम्पर्कमा आएका छन् । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ ।
प्रतिक्रिया 4