Comments Add Comment

मेलम्ची बाँधस्थलको पनि ठेक्का, चिनियाँ कम्पनी फिल्डमा

२९ आसेज, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क (बाँधस्थल) निर्माणको लागि पनि ठेक्का सम्झौता गरेको छ । १५ महिनामा काम सक्ने गरी चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता भएको हो ।

यसअघि सिनोसँग नै सुरुङमार्गको बाँकी काम १२ महिनामा सक्ने गरी असोज १२ गते सम्झौता भएको थियो । अहिले सिनो फिल्डमा काम सुरु गर्ने तयारीमा रहेको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

‘यन्त्र उपकारण तयार गर्ने, क्याम्प साइटहरु व्यवस्थापन गर्ने लगायतको काम सिनोले फिल्डमा पुगेर गरिरहेको छ,’ पन्तले भने, ‘सीएसीले छाडेपछि अल्झिएको आयोजनाले फेरि गति पाउँदैछ ।’

सरकारले सिनोलाई मेसिन, उपकरण र जनशक्ति व्यवस्थापन गरेर कार्यस्थलमा तत्काल काम थाल्न आग्रह गर्दै आएको थियो । सिनोले सम्झौता लगत्तै त्यसलाई स्वीकारेर काम अघि बढाएको छ ।

आयोजनाले सिनोलाई समय आगावै काम सके दिनको ०.०१५ प्रतिशत प्रोत्साहन भत्ता दिने गरी सम्झौता गरेको छ । छिटो काम सकेमा बाँकी दिनको गणना गरेर प्रतिदिन ठेक्का रकमको ०.०१५ प्रतिशत प्रोत्साहन भत्ता दिइने छ । यदि काममा ढिलाई भए सिनोले पनि ढिला भएको दिनको गणना गरेर प्रतिदिन त्यतिकै दरले जरिवाना तिर्नुपर्नेछ ।

सिनोले सुरुङमार्गतर्फ सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार, ग्याल्थुमको पहुँचमार्ग, पुलको पुनर्निर्माण, क्याम्पहरुको मर्मत सुधारलगायतका काम गर्नुपर्छ ।

हेडवर्कतर्फ पानी थुन्ने इन्टेक संरचना, पहुँच मार्गको सुधार, कफर ड्यामको डिजाइन र निर्माण, पहुँचमार्गको स्टिल ब्रिजको निर्माण, क्याम्प साइटको मर्मत, फ्लसिङ सिस्टमको जडानलगायतका काम गर्नुपर्नेछ ।

कम्पनीले सुरुङतर्फ ८५ करोडमा ठेक्का पाएको हो भने हेडवक्सतर्फ सिनोले ९० करोडमा ठेक्का सकारेको छ । सिनोले हाइड्रोमेकानिकल गेट, एसएस पाइपको आपूर्ति जडान र इन्स्ट्रुमेन्टेसन कामको ठेक्का पाउने ठेकेदारसँग समन्वयको काम पनि गर्नुपर्छ ।

सिनोले सम्झौता आगावै कार्यस्थलको अवलोकन गरिसकेको थियो । सिनो माथिल्लो तामाकोसीको सिभिल ठेकदार हो । यसले कुलेखानी तेस्रोमा पनि काम गरेको थियो भने निर्माणाधिन तनहुँ जलविद्युत आयोजनामा यही कम्पनीले काम पाएको छ ।

मेलम्ची खानेपानी आयोजनाले मुख्य कामलाई दुईवटा प्याकेजमा विभाजन गरेर ठेक्का लगाएको थियो । यसअघि इटालियन कम्पनी सीएमसीले मलम्चीको ठेक्का पाउँदा सिनो हाइड्रो दोस्रो कम रकम कबोल गर्ने कम्पनी थियो । सीएमसी भागेपछि मेलम्चीको थोरै मात्रै बाँकी रहेको काम सक्ने जिम्मा उसैले पाएको छ ।

मेलम्ची आयोजनाको बाँकी कामलाई १० प्याकेजमा विभाजित गरेर सरकारले अघि बढाएको छ । तर, ठेकेदार छनोटमा नै ढिलाइ भइरहँदा काठमाडौंमा मेलम्चीको पानी कहिले आइपुग्छ भन्ने अन्योल थियो । मेलम्चीको बाँकी ८ वटा प्याकेज पुराना स्थानीय ठेकेदारलाई दिइएको छ ।

अब सिनोले सम्झौताअनुसार काम सके एक वर्षमा पानी ल्याउन सकिनेछ । हेडवर्कको काम १५ महिना लाग्ने भए पनि सुरुङको काम सकिएपछि अस्थायी बाँध बनाएर मेलम्चीको पानी काठमाडौं ल्याउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment