Comments Add Comment

सडक मर्मत नहुँदा मन्थली बसपार्क क्षेत्र अस्तव्यस्त

३० असोज, रामेछाप । सडकको दुरावस्थाका कारण रामेछापको सरदमुकाम मन्थलीमा रहेको बसपार्क क्षेत्र र आसपासका बस्ती अस्तव्यस्त बनेको छ । दुई वर्ष अघिदेखि बिग्रिएको सडक र नाली मर्मत हुन नसक्दा सो क्षेत्र अस्तव्यस्त बनेको स्थानीयहरुले गुनासो गरेका छन् ।

जिल्लाका अधिकाँस ग्रामीण क्षेत्र तथा दोलखाबाट मन्थली बजार प्रवेश गर्ने मुख्य सडक र नाली मर्मत गर्न सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयको आरोप छ । सडकको दुरावस्थाका कारण बसपार्क नजिकै रहेको ट्राफिक प्रहरी कार्यालयकाे काम पनि प्रभावित बन्न पुगेको छ । सडक किनारमा बसेर यातायात साधनहरुको अभिलेख राख्ने तथा जाँच गर्ने ट्राफिक प्रहरी समेत धुलोको कारण प्रभावित भएका छन् ।

सवारीका साधन गुड्दा उड्ने धुलोले सर्वसाधरणको स्वास्थ्यमा नकारात्मक असर गर्ने गरेको बसपार्क क्षेत्रको टोल सुधार समितिका संयोजक बलबहादुर श्रेष्ठ बताए ।

धुलोका कारण ट्राफिक व्यवस्थापनमा समेत असहज उत्पन्न हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख होमबहादुर भित्रीकोटीले बताए ।

श्रेष्ठका अनुसार बसपार्क र आकाशे  क्षेत्रमा माथिबाट खनिएको सडक तथा घडेरी बनाउने भन्दै जमिन खारेर थुपारेको माटोलाई बाढीले सडक र नालामा लगेर थुपारी दिएको छ । जसका कारण पानी पर्दा सडक हिलाम्य हुने र घाम लाग्दो धुलाम्य हुने गरेकाले सडक आसपासको जनजीवन प्रभावित बन्दै आएको उनले बताए । पानी पर्दा सडक चिप्लो भएर बारम्बार दुर्घटना हुने गरेको उनले बताए । सडक मर्मतका लागि नगरपालिकासँग पटक-पटक अनुरोध गर्दा समेत कुनै सुनुवाई नभएको उनले गुनासो गरे ।

सडकमा उड्ने धुलोको कारण भाँडोमा राखेको खानेकुरा समेत खान नहुने भएको उनले बताए । ‘बिहान उठेको ओछ्यानमा बेलुका सुत्न जाँदा धुलोमा लट्पटिए जस्तो हुन्छ’, उनले थपे ।

बसपार्क क्षेत्र मात्रै होइन, काठमाडौं र तराई-मधेशबाट मन्थलीबजार प्रवेश गर्ने भैसेसुर र रणजोर खोला किनारको सकडको अवस्था पनि त्यस्तै रहेको उनले बताए । भैसेसुर र रणजोर खोला किनारको सडकमा उड्ने धुलोले स्थानीयको स्वास्थ्यमा समेत नकरात्मक असर पुर्‍याउने गरेको उनले बताए ।

गतवर्ष रणजोर खोला किनारमा सडक कालोपत्रे गर्ने भनी भत्काइएको सडकको काम पूरा नगरी सडक डिभिजन कार्यालयले छाडेको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतको आरोप छ ।

मन्थलीमा रहेको विमानस्थल अहिले सोलु जाने पर्यटकका लागि मुख्य उडान भर्ने स्थल बन्दै गएको छ । काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा चाप कम गर्ने विमानस्थलको रुपमा पनि यसलाई लिइने गरिएको छ । अहिले दैनिक ५० भन्दा बढी उडानबाट सयौं पर्यटकहरु मन्थली हुँदै काठमाडौं र सोलु आउजाउ गर्ने गर्दछन् । तर सदरमुकाम छिर्ने ठाउँ भैसेसुर र मन्थलीबाट विमानस्थल पुग्ने आकाशे र बसपार्क क्षेत्रको सडक बिग्रिँदा पर्यटकहरु सामू लज्जाको विषय बन्न पुगेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment