Comments Add Comment

राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दा म्यानमारका राष्ट्रपति किन चप्पलमा ?

१ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चार दिने राजकीय भ्रमणका क्रममा म्यानमारमा छिन् । नेपालमा चिनीयाँ राष्ट्रपतिलाई स्वागत गरेको एक साताभित्रै उनी म्यानमारका राष्ट्रपतिको पाहुना बन्न पुगेकी हुन् ।

म्यानमारका राष्ट्रपति यु विन मिन्टले २०१८ को अगष्टमा नेपाल भ्रमण गरेका थिए । त्यही भ्रमणका बेला उनले भण्डारीलाई आफ्नो देश आउन निम्तो दिएका थिए । त्यसैले यो एक प्रकारले सद्भावना भ्रमण मात्र हो । चार दिन लामो भए पनि भ्रमणको ठोस एजेन्डा केही छैन । यद्यपि, दुई देशबीच पर्यटन र संस्कृतिमा सहकार्य गर्न एउटा एमओयूमा हस्ताक्षर गरिएको छ ।

यता सामाजिक सञ्जालमा भने भ्रमणको अरु पाटोभन्दा म्यानमारका राष्ट्रपतिको लवाईबारे चर्चा सुरु भएको छ । भण्डारीलाई गार्ड अफ अनर दिँदादेखि द्विपक्षीय वार्तामा मिन्टले लगाएको पोशाक र चप्पललाई नेपालीहरुले अनौठो मानेका छन् । कतिपयले चाहिँ यसलाई म्यानमारका राष्ट्रपतिको अपमानजनक व्यवहारका रुपमा पनि लिएका छन् ।

हालै मात्र चिनीयाँ राष्ट्रपति आउँदा रात्रीभोजमा आउने पाहुनाहरुलाई सरकारले तुना भएको जुत्ता अनिवार्य गरेको थियो । सरकारले अनावश्यक फुटानी देखाएको भनेर आलोचना पनि भयो । उता म्यानमारमा भने राष्ट्रपतिले नै चप्पल लगाएको देखिएपछि नेपालीहरुले चित्त दुखाउनु स्वभाविक हो । तर, यो चित्त दुखाउनुपर्ने कुरा चाहिँ होइन ।

राष्ट्रपति मिन्टले टाउकोमा मुस्लिमले लगाउने जस्तो सेतो टोपी, सेतो कमिज, रातो लुंगी र खुट्टामा फित्तावाला चप्पल लगाएका थिए । हेर्दा अनौपचारिकजस्तो देखिए पनि म्यानमारको राष्ट्रिय पोशाक यही हो । अन्य देशका उच्चतहका पाहुनासँग भेटवार्तामा पनि म्यानमारका उच्चपदस्थहरुले फित्तावाल चप्पल नै लगाएको पाइन्छ ।

म्यानमारमा पुरुष र महिलाका लागि अलग अलग राष्ट्रिय पोशाक छन् । पुरुषहरुले लगाउने माथि लगाउने पोशाकलाई ताइपोन भनिन्छ भने तल लगाउनेलाई लोङ्गी भनिन्छ । लोङ्गी (लुङ्गीजस्तै) सामान्यतया २ मिटर लम्बाइको हुन्छ ।

महिलाहरुको राष्ट्रिय पोशाकलाई थुम्मी भनिन्छ, जसमा माथि कम्मरसम्म आउने चोलोजस्तो लुगा हुन्छ भने तल कुर्कुच्चासम्मै आउने स्कर्ट हुन्छ । अन्य देशमा राष्ट्रिय पोशाक खास सन्दर्भमा मात्र लगाउने गरिन्छ । तर, म्यानमारमा भने त्यहाँका नागरिकले नियमितरुपमै लगाउँछन् । त्यहाँको मौसम अनुकुल र लगाउन–फुकाउन सहज भएकाले प्राय यही पोशाक लगाउने गरिन्छ । त्यसो त विशेष समारोहमा कतिपयले पश्चिमा लुगा र जुत्ता पनि लगाउँछन् ।

म्यानमार दक्षिणपूर्वी एसियामा रहेको राष्ट्र हो, जसलाई बर्मा पनि भन्ने गरिन्छ । दक्षिणपूर्वी एसियामा रहेका देशहरुमध्ये यो आकारमा सबैभन्दा ठूलो छ । यहाँको जनसंख्या पाँच करोड ४० लाख छ । यसको राजधानी नेपिता हो भने सबैभन्दा ठूलो शहर याङगोन (रंगुन) हो । म्यानमार बिमस्टेकको सदस्य राष्ट्र पनि हो । प्राकृतिक ग्यास, खनिज, मणि, तेललगायतमा म्यानमार धनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment