Comments Add Comment

समाजवादी र राजपाबीच एक महिनाभित्र एकता गर्ने तयारी

३० असोज, काठमाडौं । सत्ता साझेदार समाजवादी पार्टी (सपा) र विपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) बीचको पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । एक महिनाभित्र एकता गर्ने तयारी भइहेको राजपा वार्ता समितिका संयोजक राजेन्द्र महतोले जानकारी दिए ।

राजपा अध्यक्ष मण्डलका सदस्यसमेत रहेका संयोजक महतो पार्टी एकीरणका लागि सैद्धान्तिक सहमति भइसकेको र केही प्राविधिक काम मात्रै बाँकी रहेको बताउँछन् । उनी भन्छन्, ‘एक महिनाभित्र एकता घोषणा गर्ने गरी तयारी भइरहेको छ ।’

समाजवादी पार्टीका महासचिव गंगानारायण श्रेष्ठले पनि केही विषयमा निर्णय हुन बाँकी रहे पनि एकता अन्तिम चरणमा पुगेको बताउँछन् । आफ्नो पार्टी पनि सकेसम्म छिटो एकता गर्नुपर्ने पक्षमा रहेको श्रेष्ठको भनाइ छ ।

नाम र चुनाव चिह्नमा लगभग सहमति

दुई पार्टीबीच एउटाको नाम र अर्कोको चुनाव चिह्न राख्ने विषय सहमति नजिक पुगेको वार्ता समितिका एक सदस्यले बताए । उनका अनुसार पार्टीको नाम समाजवादी पार्टी राख्ने र चुनाव चिह्न राजपाले प्रयोग गरेको छातालाई मान्ने सहमति भएको हो ।

तर, राजपाका कतिपय नेताहरू भने एकताको सन्देश पार्टीको नाममै झल्कियोस् भन्ने पक्षमा देखिन्छन् । ‘उहाँहरूले नाममा ‘जनता, एकिकृत वा संयुक्त’ थप्नुपर्नेमा जोड गरिरहनु भएको छ’ सपा वार्ता टोलीका एक सदस्यले भने ।

आगामी कात्तिकमा हुन लागेको उपनिर्वाचनमा सपाले पाँच औंलासहितको हत्केला चुनाव चिह्न पाएको छ । पहिला यो चुनाव चिह्न सद्भावना पार्टीको थियो ।

गजेन्द्रनारायण सिंहको सद्भावना ‘स्कुलिङ’बाट आएकाहरू राजपामा ठूलो संख्यामा छन् । राजपा गठन हुँदाका तीनवटा पार्टीको नाममा सद्भावना जोडिएको थियो ।

पाँच औंलासहितको हत्केला चिह्नमा पनि राजपाको खासै आपत्ती नरहने सपा महासचिव श्रेष्ठको भनाइ छ । ‘नाम र चुनाव चिह्नका विषयमा प्रशस्त छलफल गर्न सकिन्छ’ उनी भन्छन्, ‘तर नाम र चिह्न एकताको बाधक बन्दैन ।’

राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादव पनि जनताको चाहना र तेस्रो वैकल्पिक शक्ति बनाउने अभियान अन्तर्गत एकता हुन लागेकाले ससाना प्राविधिक विषयमा अल्झिन नहुनेमा जोड दिन्छन् । छिट्टै एकता गर्नका लागि दुबै पक्षले केही न केही अडान छोड्नुपर्ने यादवको भनाई छ ।

नेतृत्व व्यवस्थापनको चुनौती

सपामा डा. बाबुराम भट्टराई संघीय परिषद् अध्यक्ष र उपेन्द्र यादव केन्द्रीय समिति अध्यक्ष छन् । ६ सदस्यीय राजपा अध्यक्ष मण्डलमा महन्थ ठाकुर संयोजक छन् ।

एकीकृत पार्टीमा भट्टराई, यादव र ठाकुर तीनै जनालाई अध्यक्ष बनाउने विषयमा वार्ता टोलीबीच अनौपचारिक छलफल चलिरहेको छ । राजपाका नेताहरूले भने यसलाई सपाको प्रस्ताव रुपमा मात्रै लिएका छन् ।

राजपाले अध्यक्ष मण्डलका सबै सदस्य र सपाका दुबै अध्यक्षलाई केन्द्रीय अध्यक्ष बनाउनुपर्ने प्रस्ताव गरेका थिए । यो प्रस्तावलाई सपा वार्ता टोलीले अस्विकार गर्‍यो ।

बहुअध्यक्षमा जाँदा दुबै पार्टीको समान नेतृत्व हुनुपर्ने राजपाको माग छ । राजपा अध्यक्ष मण्डलका एक सदस्य भन्छन्, ‘दुईबाट एक–एक वा दुई–दुई जना अध्यक्ष बनाउनुपर्छ भन्ने हाम्रो माग हो ।’

एउटा वा दुईवटा मात्रै अध्यक्ष बनाउने कुरामा सपाका नेताहरूको असहमति देखिन्छ । एकजना मात्रै अध्यक्ष बनाउँदा भट्टराई वा यादव कसलाई पठाउने भन्नेमा सपाभित्रै मतेक्य देखिँदैन । राजपामा भने एकल नेतृत्वका लागि असहमतिका बावजुद ठाकुरलाई अगाडि सार्न सकिने देखिन्छ ।

नेतृत्वको विभिन्न संरचनाको विषयमा छलफल चलिरहेको राजपा वार्ता टोलीका संयोजक महतो बताउँछन् । उनी भन्छन्, ‘जुन संरचनामा गए पनि नेतृत्व बराबरीको आधारमा हुनुपर्छ ।’

सत्ता साझेदारीको समस्या

वार्ता टोली संयोजक महतो एकताअघि नै सपा सत्ताबाट बाहिरिनुपर्ने बताउँछन् । सत्तामा बसेर वैकल्पिक शक्ति नबन्ने उनको दाबी छ ।

संविधान संशोधन नभएपछि आफूहरूले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको स्मरण गर्दै महतोले भने, ‘हाम्रो लागि मात्रै होइन, दुई बुँदे सहमति कार्यान्वयन नभएपछि त सपा सरकारमा बस्नुको कुनै औचित्य छैन ।’

सपा महासचिव श्रेष्ठ आफ्नो पार्टी भित्रै सरकारमा बस्ने कि फिर्ता हुने भन्ने विषयमा छलफल चलिरहेको बताउँछन् । संविधान संशोधन नहुँदा पनि सरकारमै बसिरहने कि बाहिरिने भन्ने विषय पार्टीमै छलफलमा रहेकाले एकतामा यसले पनि बाधा नपार्ने श्रेष्ठको भनाई छ ।

२८ कार्तिकमा बस्ने संघीय परिषद् र २९–३० कार्तिकमा बस्ने केन्द्रीय समिति बैठकले सरकारमा बस्ने कि नबस्ने भन्ने विषयमा निर्णय गर्ने उनले जानकारी दिए ।

महाधिवेशन प्रभावित पार्ने षडयन्त्र !

गत बैशाखमा बसेको राजपा पदाधिकारी बैठकले कात्तिक अन्तिम साता महाधिवेशन गर्ने निर्णय गर्‍यो । त्यसपछि महन्थ ठाकुरको नेतृत्वमा महाधिवेशन मूल तयारी समिति पनि गठन भयो । राजपाका कतिपय नेताहरू भने पूर्वनिर्धारित महाधिवेशन रोक्ने षडयन्त्र अन्तर्गत पार्टी एकताको कुरा आएको बताउँछन् ।

राजपा वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लाल भने मुद्दामा प्रतिवद्धता र जनाधार नभएकाहरूले पार्टी एकताको हल्ला फैलाइरहेको बताउँछन् । ‘पार्टीभित्र एकीकरण होइन, महाधिवेशनको माग भइरहेको छ’ लाल भन्छन्, ‘महाधिवेशन रोक्ने षडयन्त्र अन्तर्गत एकताको कुरा अघि सारिएको हो ।’

२०७४ बैशाखमा छ वटा मधेसवादी दल मिलेर गठन भएको राजपाको सांगठनिक प्रक्रिया अझै सकिएको छैन । २०७६ बैशाखमा संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकता भएर गठन भएको सपाको पनि तल्लो तहसम्म एकीकरण भइसकेको छैन । पहिलाकै एकताले पूर्णता नपाई एकता गर्दा ‘भुँईको टिप्न खोज्दा खल्तीको पोखियो’ भन्ने उखानजस्तो हुन्छ भन्ने मत दुबै पार्टीमा देखिन्छ ।

राजपा वार्ताटोली संयोजक महतो भने महाधिवेशन वा सांगठनिक कुराले एकीकरणमा कुनै प्रभाव नपार्ने बताउँछन् । उनी भन्छन्, ‘एकीकरण गरेर एकता महाधिवेशन गर्छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment