Comments Add Comment

भोटिङ मेसिनमाथि एनआरएनको शंका !

३० असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को नवौं विश्व सम्मेलनबाट नयाँ नेतृत्व चुनिँदैछन् । बुधबार नै सकिने भनिएको एनआरएनए नेतृत्वको निर्वाचन विभिन्न लफडाका कारण बिहीबार अबेरसम्म चल्यो । विद्युतीय मतदान गर्ने भनिए पनि अन्ततः ढीलै भए पनि कागजी मतदान प्रक्रिया नै अपनाइयो ।

दुई वर्षअघि एनआरएनएको अधिवेशनमा विद्युतीय मेसिनबाटै मतदान भएको थियो । तर, यसपालि भने एनआरएनएले अन्तिम समयमा आएर विद्युतीय मेसिन प्रयोग गर्न सकेन ।

बुधबार राति अबेर विद्युतीय मेसिनबाटै मतदान शुरु गरिएको थियो । तर, मतदान सुरु हुनासाथ भोटिङ मेसिनमा प्राविधिक समस्या देखिएको भन्दै एनआरएनए निर्वाचन आयोगका आयुक्त शिवप्रसाद रिजालले मतदान विहीबार बिहान १० बजेसम्मका लागि स्थगित भएको सूचना जारी गरे ।

भोटिङ मेसिनको लफडा

एनआरएनएका निर्वाचन आयुक्तका अनुसार मतदानका लागि भन्दै एनआरएनएले ३६ वटा विद्युतीय मेसिन ल्याएको थियो । तर, ३६ मध्ये २ वटाले मात्रै काम गरे

एनआरएनएका निर्वाचन आयुक्तका अनुसार मतदानका लागि भन्दै एनआरएनएले ३६ वटा विद्युतीय मेसिन ल्याएको थियो । तर, ३६ मध्ये २ वटाले मात्रै काम गरे । अधिकांश मेसिनमा समस्या आएको भन्दै मतपत्रबाटै मतदान गर्ने निर्णयमा पुगेको आयोजकको भनाइ छ ।

एनआरएनएका प्रवक्ता भुषण घिमिरे भन्छन्, ‘प्राविधिक समस्या आएपछि हाम्रो केही लागेन ।’

आखिर किन हुन सकेन त विद्युतीय भोटिङ मेसिनको प्रयोग ?

एनआरएनएले रामलक्ष्मण इनोभेसन नामक कम्पनीबाट ३६ वटा भोटिङ मेसिन भाडामा ल्याएको थियो । तर, कम्पनीको कमजोरीका कारणका समस्या उत्पन्न भएको एनआरएनएका नेताहरुले बताएका छन् ।

एनआरएनएका नेताहरुले राम लक्ष्मणका प्राविधिकहरुले ध्यान नदिएका कारण समस्या आएको बताएका छन् । निर्वाचनमा समयको दबाव हुनु स्वाभाविकै भए पनि प्राविधिक विषयमा कम्पनीले बुझाउन नसक्दा समस्या सिर्जना भएको प्रवक्ता घिमिरेले बताए ।

सबै कुरा फाइनल नगरी प्राविधिकहरुले भोटिङ शुरु गरेको प्रवक्ता घिमिरेको दाबी छ । ‘समयको प्रेसर परेको ठीकै हो, निर्वाचनका बेला यसलाई स्वाभाविक मान्नुपर्छ’ उनले भने, ‘वहाँहरुले यो-यो समस्याका कारण आज नहुने भयो भनिदिनुभएको भए हामी पर्खन्थ्यौं ।’

राम लक्ष्मणको तर्क

राजनीतिक दलका अघिवेशन र संघ संस्थाका चुनावमा भोटिङ मेसिन भाडामा लगाएर आयआर्जन गर्दै आइरहेको रामलक्ष्मण इनोभेसन कम्पनीले भने आफ्नो केही पनि कमजोरी नरहेको दाबी गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै कम्पनीले समय अभावका कारण समस्या सिर्जना भएको बताएको छ ।

कम्पनीका प्रविधि अनुसन्धानकर्ता रामप्रसाद रिमाल र लक्ष्मणप्रसाद रिमालले कम्तिमा पनि ८ घण्टा समय चाहिनेमा ३ घण्टामात्रै समय उपलब्ध गराएका कारण समस्या भएको तर्क गरे ।

यो पनि पढ्नुहोस एयरपोर्टदेखि हायातसम्म एनआरएनले देखाएको तमासा

उनीहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मेसिनमा प्राविधिक परीक्षण गरेर तयार पार्नका लागि समय चाहिन्छ भनेर हामीले सम्झौताकै बेला अन्तिम नामावलीको प्रमाणित प्रति न्यूनतम् ८ घण्टाअघि दिनुपर्ने भन्ने प्रष्टै लेखेका थियौं । तर, हामीले ३ घण्टा पनि समय पाएनौं ।’

कम्पनीका अनुसार भोटिङ मेसिनमा नामावली चढाउने, परीक्षण गर्ने र १०० नमूना मतदान गर्ने लगायतका कामहरु गर्नुपर्ने हुन्छ । तर, उम्मेद्वारको नाम र तस्वीर राखी नसक्दै बाहिरको भिड थामिनसक्नु भएको र परीक्षणविनै मतदान शुरु गर्नुपर्ने वाध्यताका कारण समस्या सिर्जना भएको कम्पनीको भनाइ छ ।

‘मेशिनको बट्टामा नटसम्म कस्न भ्याएनाैं, मतदान शुरु गर्दा फोटो र नाममा समस्या देखिएको हो, हामीले विकास गरेर पचासौं निर्वाचन सम्पन्न गरेको भोटिङ मेशिनमा आजसम्म कुनै प्राविधिक खराबी नरहेको समेत हामी सम्पूर्णमा जानकारी गराउन चाहन्छौं ।’

महंगो मेसिन

एनआरएनएले राम-लक्षमणबाट कति रुपैयाँमा ३६ वटा भोटिङ मेसिन प्रयोग गर्ने सम्झौता गरेका थिए भन्ने दुबै पक्षबाट खुलेको छैन । तर, यसअघि मेसिन प्रयोग गर्नेहरुले भने महंगो शुल्क तिर्दै आएका थिए ।

गत ०७१ साल असारमा तत्कालीन नेकपा एमालेको महाधिवशेनका बेला भोटिङ मेसिन विश्वसनीय नहुने भन्दै प्रयोग गर्ने/नगर्नेबारे विवाद भएको थियो । राम लक्ष्मण कम्पनीले ७० वटा भोटिङ मेसिन प्रयोगका लागि एमालेसँग २० लाख मागेको थियो । एमालेको संसदीय दलको चुनावमा दुईवटा मेसिन निःशुल्क प्रयोग गरिएको थियो । महाधिवेशनमा भने एमाले नेताहरु एउटा भोटिङ मेसिनको २५ हजार रुपैयाँ तिर्न सहमत भएका थिए ।

राप्रपा नेपालको महाधिवेशनमा ३० वटा मेसिन प्रयोग गरेवापत सो पार्टीले राम लक्ष्मणलाई ९ लाख रुपैयाँ बुझाएको थियो ।

निर्वाचन आयोग भन्छ – सघाउन तयार थियौं

यसैवीच, कतिपय जिल्लाहरुमा विद्युतीय मतदान गराइसकेको निर्वाचन आयोगले एनआरएनएलाई प्राविधिक सहायतासहित भोटिङ मेसिन प्रयोग गर्न दिने सन्देश दिए पनि आयोजकहरुले सम्पर्क नगरेको आयोगका अधिकारीहरु बताउँछन् ।

‘हामीले भोटिङ मेसिन र प्राविधिक सहायतासमेत दिन्छौं भनेर एाआरएनएको नेतृत्वलाई भनेका थियौं,’ निर्वाचन आयोगको उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘तर उहाँहरु सम्पर्कमै आउनुभएन । आउनुभएको भए निर्वाचन आयोगको विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न सक्नुहुन्थ्यो ।’

यो पनि पढ्नुहोस एनआरएनएको औचित्य सकिएकै हो त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment