Comments Add Comment
उपनिर्वाचनको अंकगणित :

प्रदेशसभाका ३ सीट जोगाउन कम्युनिस्टलाई सकस

१ कात्तिक, काठमाडौं । अगामी मंसिर १४ गते तीनवटा प्रदेश सभा सदस्यका लागि उपनर्विाचन हुँदैछ । चुनाव हुने तीनवटै सीटमा यसअघि कम्युनिष्ट उम्मदेवारले जितेका थिए । र, तीनवटै सीटमा नेपाली कांग्रेस दोस्रो स्थानमा थियो ।

उप चुनाव हुन लागेका तीनवटा प्रदेशसभाका सीटहरु भक्तपुर १ (१), बाग्लुङ २ (२) र दाङ ३ (२) हुन् । भक्तपुर र दाङमा यसअघि तत्कालीन एमालेले जितेको थियो भने बाग्लुङमा राष्ट्रिय जनमोर्चाले जितेको थियो ।

भक्तपुरमा नेकपा, कांग्रेस र नेमकिपाको प्रतिष्ठाको लडाइँ

गत चुनावमा भक्तपुरमा तत्कालीन एमालेका हरिशरण लामिछानेले १२ हजार ७८९ मत ल्याएका थिए भने प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका जीवन खत्रीले ९ हजार ९७७ मत ल्याएका थिए । यस क्षेत्रमा नेमकिपाले ७ हजार मत ल्याएको थियो भने माओवादी केन्द्रका उम्मेदवारले ७८४ मत पाएका थिए ।

भक्तपुरको यो निर्वाचन क्षेत्रमा विवेकशील साझा पार्टीले पनि माओवादी केन्द्रकै हाराहारीमा मत ल्याएको थियो । विवेकशील साझाको मत ७८३ थियो । यसका साथै राप्रपा नेपालले यस क्षेत्रबाट ४८५ मत प्राप्त गरेको थियो ।

आगामी मंसिर १४ मा हुने उपचुनावमा एमालेलाई भक्तपुरको यो क्षेत्र जोगाउनुपर्ने चुनौती छ । यसअघि करिब ३ हजार मतान्तरले चुनाव जितेको क्षेत्र भएता पनि अहिले नेकपा सरकारको लोकप्रियता खस्केको विश्लेषण गरिँदै आएकाले नेकपाले ढुक्क हुने स्थिति छैन । यस क्षेत्रमा यसपालि नेकपा, कांग्रेस र नेमकिपावीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । राप्रपा नेपाल र विवेकशील पार्टीले पनि केही भोट काटेर हारजीतमा तीन दललाई असर पारिदिन सक्छन् ।

आगामी उपनिर्वाचनलाई ओली सरकारको लोकप्रियता जाँच्ने कडी बनाउन खोजिरहेको नेपाली कांग्रेसका लागि भक्तपुरको यो चुनाव जितेर देखाउनुपर्ने चुनौती छ । किनभने यसअघि ऊ त्यहाँको मुख्य प्रतिद्वन्द्वी हो । र, यहाँ एमाले र माओवादीको मत थपिँदा पनि कांग्रेससँग धेरै ठूलो अन्तर देखिने अवस्था छैन । र, वामपन्थी मत काट्ने नेमकिपाले पनि नेकपालाई टक्कर दिने स्थिति छ ।

तीनवटा दलहरुको तीव्र प्रतिस्पर्धा रहेको कुनै पनि निर्वाचनमा तीनवटै दलको जित्ने सम्भावना उत्तिकै रहन्छ । त्यसैले भक्तपुरमा नेकपा, कांग्रेस र नेमकिपा तीनवटै जीतको सम्भावना बोकेका दलहर हुन् ।

विगतको चुनावी गणितलाई मात्रै हेरेर भर नपर्ने हो भने यहाँको चुनावी नतिजा अहिले अनुमान गरेको भन्दा पूरै उल्टो पनि नआउला भन्न सकिन्न । त्यो उल्टो नतिजा भनेको नेकपाले अझ धेरै मतान्तरले जित्ने वा नराम्रोसँग पराजय व्यहोर्ने दुबै सम्भावना हो ।

बाग्लुङमा कांग्रेसलाई अवसर, नेकपालाई चुनौती

बाग्लुङ क्षेत्र नम्बर २ (२) को प्रदेशसभा चुनाव पनि भक्तपुरको भन्दा कम रोचक हुनेवाला छैन । यसअघिको चुनावमा यहाँबाट राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले ११८८४ मत ल्याएर जित हात पारेका थिए । मुख्य प्रतिद्वन्द्वी कांग्रेसका जीतबहादुर शेरचनले ८ हजार ६२४ मत ल्याएका थिए ।

यसपालिको चुनावमा बाग्लुङमा कांग्रेसका लागि अवसर छ भने कम्युनिष्टका लागि चुनौती देखिन्छ । किनभने राष्ट्रिय जनमोर्चाले पाएको उक्त भोट सबै कम्युनिष्टहरुको संयुक्त मत हो ।

यसपालिको चुनावमा नेकपाले राजमोलाई पुनः सघाएन भने राजमोले बेग्लै उम्मेवारी दिने सम्भावना रहन्छ । त्यो अवस्थामा कांग्रेसले जित्ने सम्भावना बढ्छ ।

तर, सबै कम्युनिष्टहरु एक भएर चुनाव लडेको अवस्थामा पनि कांग्रेसभित्र अन्तरघात भएन भने बाग्लुङमा उसले निराश हुनुपर्ने स्थिति देखिँदैन । तर, कम्युनिष्टहरु यसपटक पनि मिलेरै चुनाव लडे भने कम्युनिष्टले पनि निराश हुनुपर्ने स्थिति छैन । यद्यपि सरकारको लोकप्रियता वा अलोकप्रियताले विगतको गणितलाई निर्णायक प्रभाप पारिदिन सक्छ ।

दाङमा सत्तापक्ष र प्रतिपक्षको अग्निपरीक्षा

यसअघि एमालेका उत्तरकुमार ओलीले २३ हजार ९७० मत ल्याएर जितेको दाङ क्षेत्र नम्बर ३ (२) को चुनाव यसपालि सत्तापक्ष र प्रतिपक्ष दुबैका लागि अग्नि परीक्षा हुनेवाला छ । मतान्तरको हिसाबले यहाँ नेकपा र कांग्रेसवीचको फरक धेरै फराकिलो छ । गत चुनावमा एमालेले २३ हजार ९७० मत ल्याउँदा कांग्रेसका बुद्धिराम भण्डारीले १७ हजार ५३५ मत पाएका थिए । एमालेले पाएको यो मत माओवादीको समेत जोडिएको हो ।

दाङका सांसद एवं निवर्तमान सभामुख कृष्णबहादुर महरा यौनजन्य आरोपमा पक्राउ परेको अवस्था भएकाले दाङमा वामपन्थी जनमत घट्ने आँकलन कांग्रेस नेताहरुले गरेका छन् । अर्कोतर्फ त्यति ठूलो मतान्तरमा चुनाव जितेको ठाउँ भएकाले यो सीटलाई नगुम्नेमा नेकपा नेताहरु ढुक्क देखिएका छन् ।

के अहिले केपी ओली नेतृत्वको सरकारप्रति जनविश्वास कम हुने थालेको हो छ ? वा सरकारको लोकप्रियता अरु बढिरहेको छ ? अनि नेपाली कांग्रेसले विगतमा गुमेको जनसमर्थन पुनः आर्जन गर्न थालेको हो ? यसको असली परीक्षा आगामी मंसिर १४ गते दाङ क्षेत्र नम्बर ३ (२) मा हुनेवाला छ ।

यो पनि पढ्नुहोस वडा तहको उपनिर्वाचनमा झिँगालाई मेसिनगन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment