Comments Add Comment

नेपालमा सहयोग बढाउन विश्व बैंकलाई अर्थमन्त्रीको आग्रह

१ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालबाट चरम गरिबी हटाउन विश्व बैंकले सहायता बढाउनुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको दक्षिणपूर्वी एशिया मतदान समूहको संयुक्त वाषिर्क बैठकमा बोल्दै मन्त्री खतिवडाले यस्तो धारणा व्यक्त गरेका हुन् ।

अमेरिकाको वासिङ्गटन डिसीमा आयोजित बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसमेत सहभागी थिए । अर्थमन्त्री डा. खतिवडाले विश्व बैंकले नेपालमा सहायता परिचालन गर्दा विगतमा लिएका रणनीतिबारे चर्चा गरेका थिए । नेपालको प्राथमिकताअनुसार चरम गरिबी केही वर्ष भित्रमा हटाउने र आम जनताको औषत आयु एसिया प्रशान्त क्षेत्रको औषत आयु बराबर पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे ।

बैंकबाट प्राप्त हुने सहायतालाई उच्चतम प्रतिफल आउने क्षेत्रमा लगानी गर्ने नीति नेपाल सरकारले लिएको अर्थमन्त्रीले जानकारी दिएका छन् । विश्व बैंकका उपाध्यक्ष हार्टविक सेफरलेे नेपालले विगतमा बैंकको सहयोगमा विभिन्न क्षेत्रमा गरेको प्रगतिको चर्चा गर्दै गत वर्ष नेपाल दक्षिण एसियाकै राम्रो प्रगति गर्ने मुलुक भएकोमा प्रसंशा गरे ।

सेफरले नेपालले छोटो सयममा वित्तीय संघियता कार्यान्वयन गर्न सफल भएको बताए । कार्यक्रमको अध्यक्षताको अर्थमन्त्री डा. खतिवडाले गरेका थिए । उनले वित्तीय संघीयताको कार्यान्वयनका सम्बन्धमा स्पष्ट पारे । नेपालमा वित्तीय संघीयताको कार्यान्वयनका विषयमा नेपाल सरकारका सचिव डा. बैकुण्ठ अर्यालले प्रस्तुतीकरण गरेका थिए ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका अर्थमन्त्रीहरुको १४ औं अनौपचारिक वैठकको समेत अर्थमन्त्रीले अध्यक्षता गरेका छन् । उक्त अवसरमा डा. खतिवडाले यस क्षेत्रको आर्थिक बृद्धिका लागि व्यापार सहजीकरण जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment