Comments Add Comment

गुल्मीको रेसुङ्गामा रिसोर्ट बन्ने

३ कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्गामा रिसोर्ट बन्ने भएको छ ।

तम्घासको शिखरमा पर्ने धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गामा रिसोर्ट बनाउन रेसुङ्गा नगरपालिकाले पौवा होटेल प्रालिलाई अनुमति दिएको हो ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी नगरपालिकाको तर्फबाट नगर प्रमुख डिल्लिराज भुसाल र होटल पौवा प्रालिको तर्फबाट प्रबन्ध निर्देशक बिष्णु प्रसाद ज्ञवालीले आइतबार रेसुङ्गामा रिसोर्ट बनाउनेबारे सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

पर्यटकीय क्षेत्र रेसुङ्गामा १० करोडको लागतमा अन्तर्राष्ट्रिय स्तरको रिसोर्ट सञ्चालन हुने भएपछि पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा नगरपालिकाले गरेको छ । ०७६ साल कात्तिकबाट २१०१ असोज मसान्तसम्म २५ वर्षका लागि रिसोर्ट सञ्चालन गर्न दिने सम्झौता भएको नगर प्रमुख भुसालले बताए । पौवा होटल प्रालिलाई विश्वास गरेर यो काम सुम्पेको र यसले समयमै काम सम्पन्न गरी सञ्चालन गर्नमा नगरपालिका विश्वस्त रहेको भुसालले बताए ।

पौवा होटल प्रालिले रेसुङ्गामा नगरपालिका कै स्टिमेट तथा डिजाइनमा हाल भइरहेको संरचनामा समेत तीन तलाको भवन निर्माण गर्ने सहमति भएको भुसालले बताए । सम्झौतासँगै प्रालिले रेसुङ्गा पोखरी क्षेत्र नजिकै करिब ३० रोपनी क्षेत्रफलको जग्गा उपभोग गर्न पाउने भएको छ ।

पौवा होटल प्रालिका प्रवन्ध निर्देशक ज्ञवालीले सम्झौतासँगै आफ्नो जन्मथलो गुल्मीको पर्यटन विकासमा केही गर्ने अवसर मिलेको प्रतिक्रिया दिए ।

रेसुङ्गाको शिखरको रुपमा रहेको यो स्थान धार्मिक र सांस्कृतिक रुपले महत्वपूर्ण मानिन्छ । धागीथुम, रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरु यसै संरक्षित वनक्षेत्र भित्र पर्दछन् । यहाँ बिभिन्न अवसरहरुमा पराम्परागत मेलाहरु पनि लाग्ने गर्दछन् ।

रेसुङ्गा संरक्षित वनको उच्च स्थानमा धौलागिरीदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत नौ जिल्लाका रमणीय स्थलहरु हेर्न सकिने भ्यू टावर रहेको छ । रेसुङ्गा नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा रेसुङ्गा नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

यसले गुल्मी जिल्लाका अन्य स्थानिय तहले पनि यस्तै कामको लागी प्रेरणा लिन सक्ने कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment