Comments Add Comment

पाँच खेलाडी अमेरिकामा हुने तेक्वान्दो प्रतियोगिताको लागि छनोट

३ कात्तिक, काठमाडौं । तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताबाट पाँच खेलाडी अमेरिकामा सन् २०२० को मेमा हुने अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताका लागि छनोट भएका छन् ।

रत्ननगर, सरित सौरहा, न्यु स्टार, सौरहा, पिठुवा र इच्छाकामना तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा भएको प्रतियोगिताबाट सीतापाइला तेक्वान्दो डोजाङबाट ३ तथा कोटेश्वर र मैत्री तेक्वान्दो डोजाङबाट १–१ गरी ५ खेलाडी छनोट भएका हुन् । त्यसमा पुरुष ३ र महिला २ छन् ।

पुरुषमा सीतापाइलाका सैलेशराज गिरी, कोटेश्वरका रञ्जित साउद र मैत्रीका दिनेश सुनार छनोट भए । महिलामा आयशा तामाङ तथा सुस्मिता मोक्तान छन् । दुवै सीतापाइलाका हुन् । छनोटसंगै पाँचै खेलाडीले समान १–१ लाख नगद पुरस्कार पनि पाए ।

आईओएफटीसी र मैत्री तेक्वान्दो डोजाङको सहयोगमा चितवनको रत्ननगरमा भएको प्रतियोगिताको पुरुषमा कोटेश्वरका विवेक केसी तथा महिलामा सरित सौरहाकी स्नेहा परियार उत्कृष्ट खेलाडी घोषित भए । पुम्सेमा भ्याली डिभिजनकी रोशनी श्रेष्ठ उत्कृष्ट खेलाडी बनिन् । गोविन्द सापकोटा उत्कृष्ट निर्णायक तथा भैरहवाका कोसिश खड्का अनुशासित प्रशिक्षक चुनिए । इच्छा मनकामनाले उत्कृष्ट सहभागिताको पुरस्कार पायो । सबै ६ विधाका उत्कृष्टले समान २५–२५ हजार नगद पुरस्कार हात पारे ।

प्रतियोगितामा विभिन्न ५४ स्पर्धामा ७ सय बढी खेलाडीले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment