Comments Add Comment

यी हुन् विश्वका सबैभन्दा सिर्जनशील प्रविधि कम्पनीहरु : सामसुङको फड्को, एप्पल कमजोर

प्रतिस्पर्धामा अरुभन्दा अगाडि आउन र भीबाट अलग हुनका लागि प्रविधि जगतका कम्पनीहरुले निरन्तर नयाँ अन्वेषण तथा सिर्जनशीलता देखाउनु पर्दछ । अन्वेषण भन्ने कुरा विभिन्न स्वरुपको हुन सक्दछ र यसको एउटा महत्वपूर्ण मानक भनेको कम्पनीहरुले विकाश गर्ने फरक तथा अत्याधुनिक प्रविधि नै हो । यसरी अन्वेषण तथा सिर्जना गर्ने नयाँ प्रविधिका लागि कम्पनीहरुले बौद्धिक अधिकार अर्थात् प्याटेन्ट प्राप्त गर्दछन् । त्यसैले कम्पनीले प्राप्त गर्ने आफ्ना मौलिक सिर्जनाहरुको प्याटेन्टबाटै सो कम्पनी कति सिर्जनशील छ भन्ने देखिन्छ ।

अमेरिकाको बौद्धिक सम्पत्ति दर्ता गर्ने निकायमा एक वर्षको अवधिमा दर्ता भएका प्याटेन्टहरुको आधारमा विश्वका सबैभन्दा सिर्जनशील ५० प्रविधि कम्पनीहरुको सूची सार्वजनिक भएको छ । जसअनुसार अमेरिकी कम्पनी आइबिएम विश्वको सबैभन्दा सिर्जनशील कम्पनी बनेको छ । आइबिएमले सन् २०१८ मा ९ हजार १ सय थान प्याटेन्ट अधिकार आफ्नो नाममा दर्ता गराएको छ ।

दक्षिण कोरिया कम्पनी सामसुङ विश्वको दोश्रो सर्वाधिक सिर्जनशील कम्पनी बनेको छ । सामसुङले यस अवधिमा ५ हजार ८५० थान प्याटेन्ट आफ्नो नाममा लेखाउन सफल भयो ।

त्यस्तै तेश्रो स्थानको क्याननले ३ हजार ५६ थान र चौथो स्थानको इन्टेलले २ हजार ७३५ थान पेटेन्ट दर्ता गराएका छन् ।

पाचौँ स्थानमा एलजी इलेक्ट्रोनिक्स छ, जसले २ हजार ४ सय ७४ थान पेटेन्ट दर्ता गराएको छ । त्यस्तै ताइवान सेमिकन्डक्टर कम्पनी २ हजार ४६५ थान प्याटेन्ट प्राप्त गरी छैटौँ स्थानमा रहेको छ भने अमेरिकी कम्पनी माइक्रोसफ्ट विश्वको सातौँ सर्वाधिक सिर्जनशील कम्पनी बन्ने क्रममाः २ हजार ३ सय ५३ थान पेटेन्ट दर्ता गराएको छ ।

कूल २ हजार ३ सय थान प्याटेन्ट सहित क्वालकोम आठौँ स्थानमा छ ।

सिर्जनशीलताको कसीमा केही पछाडि परेको विश्वको सर्वाधिक मूल्यवान कम्पनी एप्पल चाहीँ नवौँ स्थानमा झरेको छ । एप्पलले यस वर्ष जम्मा २ हजार १६० थान मात्र प्याटेन्ट आफ्नो नाममा दर्ता गराउन सफल भयो । त्यस्तै गाडी निर्माता कम्पनी फोर्ड ग्लोबल टेक्नोलोजीज टप टेनमा पर्न सफल हुँदा कूल २ हजार १२३ थान प्याटेन्ट आफ्नो नाउँमा पार्यो ।

त्यस्तै २ हजार ७० वटा प्याटेन्ट प्राप्त गरी गुगल ११ औँ स्थानमा रहेको छ भने १२ औँ स्थानमा रहेको अमेजनले २ हजार ३५ वटा प्याटेन्ट अधिकार आफ्नो नाममा सुरक्षित गर्न सफल भयो ।

त्यस्तै सिर्जनशील कम्पनीहरुको १३ औँ स्थानमा टोयोटा रहेको छ । जसले १९५९ वटा पेटेन्ट अधिकार आफ्नो नाममा पारेको छ । त्यस्तै सोनी १५ औँ स्थानमा रहँदा चिनिया कम्पनी हुवावे १६ सय ४८ वटा प्याटेन्ट दर्ता सहित सोह्रौँ स्थानमा रहेको छ ।

हुण्डाई १९ औँ, प्यानासोनिक २२ औँ स्थानमा रहँदा हवाईजहाज कम्पनी बोइङ २३ औँ स्थानमा रहेको छ ।

त्यस्तै तोसिबा कम्पनी २६ औँ स्थानमा छ भने होण्डा मोटर्स ३३ औँ स्थानमा रहेको छ । कूल ८ सय ४४ थान प्याटेन्ट दर्ता सहित फिलिप्स कम्पनी ३८ औँ स्थानमा छ भने ओर्याकल ४७ औँ स्थानमा छ । कम्प्युटर निर्माता कम्पनी डेल ६ सय ६८ थान प्याटेन्ट दर्ता सहित ४९ औँ स्थानमा रहेको छ भने सूचिको अन्तिम अर्थात् पचासौँ स्थानमा फुजित्सु कम्पनी छ । यसले ६ सय ५८ थान प्याटेन्ट दर्ता गरेको छ ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment