+
+

वीरगञ्जको मुख्य सडक छठ लगत्तै विस्तार नहुने संकेत

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ६ गते १३:२४

६ कात्तिक, वीरगञ्ज । त्रिभुवन राजपथ अन्तर्गत वीरगञ्जको मुख्य सडक विस्तारको काम  कात्तिक २४ गतेसम्मका लागि टरेको छ । छठ पर्वपछिदेखि सडक विस्तार गर्ने तयारी सडक विभागले गरेपनि सर्वोच्च अदालतका कारण ढिलाई हुने भएको हो ।

लक्ष्मण साह रौनियार समेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारकोविरुद्ध दायर गरेको मुद्धामा सर्वोच्च अदालतका न्यायाधिश कुमार रेग्मीले बहस सुनेर असोज ८ गते अल्पकालिन अन्तरिम आदेश जारी गरेका थिए । अल्पकालिन अन्तरिम आदेशमा अन्तरिम आदेशका लागि दुबै पक्षलाई बोलाएर छलफल गर्नुपर्ने भएकोले कात्तिक ४ गते पेशी तोकिएको थियो । तर कात्तिक ४ गतेको पेशी २४ गतेका लागि सारेको हो ।

वीरगञ्ज बचाउ संघर्ष समितिका सल्लाहाकार राम नारायण कुर्मीले सर्वोच्चले कात्तिक ४ गते दुबै पक्षसँग गर्ने भनिएको छलफल २४ गतेलाई सारेको जानकारी दिए ।

पछिल्लो पटक भदौ ६ गते नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाले त्रिभुवन राजपथ अन्तर्गत गण्डक–घण्टाघर–रक्सौल सडकखण्डमा घर टहरा हटाउने सूचना जारी गरेको थियो ।

त्यसपछि मुख्य सडकमा पर्ने घरका धनी सडक विस्तार गर्दा आफूहरु मर्कामा पर्ने भन्दै अदालत गुहार्न पुगेका थिए । निवेदनमा उनीहरुले घर टहरा लगायतका संरचना तिरो भोगमा रही निर्माण गरेकोले क्षतिपूर्ति निर्धारण नगरी भत्काउन नदिन अन्तरिम आदेशको माग गरेका छन् ।

व्यापारिक मार्ग विस्तार आयोजनाले सडक विस्तारको तयारी गरिरहेको थियो ।

पथलैया–परवानीपुर–गण्डकसम्मको सडकखण्डमा त्रिभुवन राजपथको अधिकार क्षेत्र केन्द्र बिन्दुबाट दायाँ बायाँ २५/२५ मिटर विस्तार भइसकेको छ । वीरगञ्जको मुख्य बजार हुँदै जाने गण्डक–घण्टाघर–रक्सौल सडकखण्ड विस्तार हुन बाँकी छ ।

मुआब्जा नदिइ सडक विस्तार गरेर आफूहरुको बिल्लीबाठ नपार्न वीरगञ्ज मुख्य सडकका घरधनीहरुले आग्रह गर्दै आएका छन्, त्यसमा यहाँका राजनीतिक दल, उद्योग वाणिज्य संघ लगायतले समर्थन जनाउँदै आएका छन् ।

वीरगञ्ज महानगरपालिकाले वैकल्पिक सडक निर्माण भइसकेका कारण १५/१५ मिटर मात्रै फराकिलो गर्न आग्रह गर्दै आएको छ । भने कतिपयले अतिक्रमण गरेर घर टहरा बनाएकोले २५/२५ मिटर नै फराकिलो गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।

हालका प्रतिनिधिसभा सदस्य विमल श्रीवास्तव तत्कालिन वीरगञ्ज उपमहानगरपालिकाको प्रमुख हुँदा ०५८ माघ १० गते बोर्ड बैठक बसेर विल्डअप एरिया घोषणा गर्न सरकारसँग माग गरेका थिए । तर त्यो माग विभिन्न कारणले पुरा हुन सकेन । सडक विभागले पटक पटक सूचना जारी गरेपनि सडक विस्तार गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?