Comments Add Comment

दुनियाकै धनी बेजोसले एक दिनमै गुमाए ७ अर्ब डलर

विश्वका सबैभन्दा धनी व्यक्ति तथा अमेजन कम्पनीका सीईओ जेफ बेजोसका लागि गत बिहीबार खराब दिन रह्यो । उनले एक दिनमै झण्डै ७ अर्ब डलर गुमाए । उनले ७ अर्ब डलर मात्र गुमाएनन् केही क्षणका लागि विश्वको सबैभन्दा धनी व्यक्तिको स्थान पनि गुमाउनु पर्‍याे  ।

फोर्ब्स पत्रिकाका अनुसार अमेजन कम्पनीले आफ्नो तेश्रो त्रैमासिकको आय प्रतिवेदन सार्वजनिक गरे लगत्तै अमेजन कम्पनीको शेयर मूल्यमा तीव्र गिरावट आउँदा बेजोसले एकै दिनमा झण्डै ७ अर्ब डलर गुमाउनु परेको थियो ।

अक्टोबर २४ मा अमेजनको शेयर मूल्यमा ७ प्रतिशतले गिरावट आएसँगै बेजोसले आफ्नो नामको शेयरबाट समेत ६ अर्ब ९० करोड गुमाए । त्यो सँगै बेजोसको कूल सम्पत्ति १ खर्ब ३ अर्ब ९० करोडमा  झर्न पुग्यो ।

बेजोसको सम्पत्तिमा गिरावटसँगै बिहीबार केही समयका लागि माइक्रोसफ्टका संस्थापक बिल गेट्स विश्वको सबैभन्दा धनी व्यक्ति बन्न पुगे । गेट्सको कूल सम्पत्ति १ खर्ब ५ अर्ब ७० करोड रहेको छ । तर, गेट्सको नम्बर वान स्थान धेरै बेर टिकेन । अमेजनको शेयर मूल्यमा सुधारसँगै अन्ततः अहिले बेजोस नै पुनः विश्वको सबैभनदा धनी व्यक्तिको रुपमा एक नम्बरमा उक्लिएका छन् । जेफ बेजोसको सम्पत्ति १ खर्ब ११ अर्ब छ भने बिल गेट्सको १ खर्ब ७ अर्ब पुगेको छ ।

सिएनबिसीको रिपोर्ट अनुसार बेजोसँग अमेजन कम्पनीको ५ करोड ७६ लाख १० हजार ३५९ कित्ता शेयर छ । त्यसैले अमेजनको शेयर मूल्यमा ६.६ प्रतिशतले गिरावट आउँदा बेजोसले ६ अर्ब ९० करोड डलर गुमाउनु परेको थियो ।

स्मरण रहोस् बिल गेट्सलाई पछि पार्दै पहिलो पटक सन् २०१८ मा जेफ बेजोस विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए । त्यसयता उनले आफ्नो कूल सम्पत्तिको १३ अर्ब ९० करोड गुमाइसकेका छन् ।

यसअघि आफ्नी पत्नीसँगको सम्बन्ध विच्छेदसँगै अमेजन कम्पनीको एक चौथाई शेयर बेजोसले पूर्वपत्नीको नाममा हस्तान्तरण गरेका थिए । सम्बन्ध विच्छेदसँगै बेजोसले पत्नीको नाममा शेयर हस्तान्तरण गरेको घटनालाई फोब्र्स पत्रिकाले विश्वकै सबैभन्दा महंगो डिभोर्सको रुपमा चित्रित गरकेो थियो ।

डिभोर्स अगाडि बेजोससँग अमेजन कम्पनीको ७ करोड ८६ लाख कित्ता शेयर थियो । त्यसमध्ये उनले डिभोर्स गरिएकी पत्नीको नाउँमा १ करोड ९७ लाख कित्ता हस्तान्तरण गरेका थिए । एजेनसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment